शालिग्राम नेपाल
चितवन, वैशाख २२ गते । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार चितवनको भरतपुरमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नुहुँदै छ ।
एकै चरणमा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको प्रचारप्रसारका लागि बुधबारदेखि आठ जिल्लामा काँग्रेसले चुनावी सभाको आयोजना गरेको हो ।
वैशाख २१ देखि २७ गतेसम्म देशका विभिन्न जिल्लामा हुने चुनावी सभालाई प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
बिहीबार चितवको भरतपुरमा हुने सभालाई सभापति देउवा, नेता पौडेल र सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले सम्बोधन गर्नुहुँदै छ । चुनावी सभा भरतपुरको केन्द्रीय बसपार्कको खुला मैदानमा हुँदैछ । सभालाई सम्बोधन गर्नका लागि प्रधानमन्त्री देउवा बुधबार साँझ नै चितवन आउनुभएको छ ।
यसैगरी, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरुले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको काँग्रेस चितवनका उपसभापति राजिव न्यौपानेले जानकारी दिनुभयो ।
त्यस्तै, वैशाख २३ गते शुक्रबार काठमाडौंमा हुने चुनावी सभालाई पनि उहाँहरुले सम्बोधन गर्नुहुनेछ । यसैगरी, वैशाख २४ गते शनिबार रुपन्देहीको बुटवल, तनहुँको दमौली, धनुषाको जनकपुरमा चुनावी सभा हुनेछन् ।
त्यस्तै, वैशाख २५ गते आइतबार कास्कीको पोखरा, दाङको तुलसीपुर र २६ सोमबार कैलालीको धनगढीमा तथा २७ गते मङ्गलबार डडेल्धुरामा चुनावी सभा हुनेछन् ।