• १६ भदौ २०८१, आइतबार

विश्वभरि मनाइने ओलम्पिक डे

blog

फ्रान्स सरकारले विश्व सभ्यताको शारीरिक एवं सांस्कृतिक पक्षमाथि विस्तृत अध्ययन गरेर एक प्रतिवेदन पेस गर्न फ्रान्सका उद्योगपति,  खेलकुदप्रेमी, भद्र व्यक्ति पियरे डी कुबर्टिन (सन् १८६३–१९३७) लाई मनोनयन गरेको थियो । सन् १८८९ मा पियरे डी कुबर्टिनको अध्ययन प्रतिवेदनले खेलकुद–राष्ट्र–खेलकुदको गरिमालाई धेरै महत्व दियो । 

त्यसपछि उनले पेरिसको सरबोनेमा आधुनिक शैलीमा प्राचीन ओलम्पिकलाई पुनर्जीवित गर्नु पर्छ भन्दै सन् १८९२ नोभेम्बर २५ मा एक ‘लेक्चर’ दिए । उनका कुरामा उपस्थित सबैले ताली बजाएर समर्थन गरे ।

सबैको प्रशंसा पाएपछि उनले सन् १८९३ मा सरबोनेको साइन्स हलमा एक अन्तर्राष्ट्रिय कन्फ्रेन्स सन् १८९४ को जुन १६–२३ सम्म आयोजना गरे । जसमा १३ राष्ट्रको सहभागिता भयो भने अन्य २१ राष्ट्रले सन्देश पठाएर आफ्नो समर्थन जनाए ! कन्फ्रेन्सको अन्तिम दिन अर्थात् जुन २३ मा एक घोषणापत्र सर्वसम्मत पारित भयो । उक्त घोषणापत्र यस प्रकारको थियो : "Sport competition should be held every fourth year on the lines of the Greek Olympic Games and every nation should be invited to participate."


उक्त घोषणापत्र सन् १८९४ जुन २३ मा पारित भएको हुँदा उक्त दिनलाई उत्सवका रूपमा मनाउन ‘ओलम्पिक डे’ आयोजना गरिन्छ ।  यस घोषणापत्रको आधारमा कुबर्टिनले पहिलो ओलम्पिक खेल सन् १९०० मा पेरिसमा आयोजना गर्ने प्रस्ताव गरेका थिए तर सभाले ग्रिसलाई पहिलो ओलम्पिक खेल आयोजना गर्न दिने प्रस्ताव पास गरेको थियो ।

त्यसको लगत्तै १२ राष्ट्रले मिलेर अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी गठन गरेका थिए । त्यसपछि प्रत्येक चार चार वर्षमा आयोजना गरिने ओलम्पिक खेलमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सर्वाधिकार भयो । अहिलेसम्म पनि ओलम्पिक खेल अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले नै आयोजक शहरसँग समन्वय गरेर आयोजना गर्ने गरेको छ ।

अतः सन् १८९६ पहिलो आधुनिक ओलम्पिक खेल ग्रिसको राजधानी एथेन्समा अप्रिल ६ देखि १५ सम्म आयोजना भयो । एथेन्सवासीले पुनः जन्मिएको आधुनिक ओलम्पिक खेललाई ठूलो हर्षोल्लासका साथ हेरेका थिए । पेरिस कन्फ्रेन्समा उपस्थित ३४ राष्ट्रले समर्थन गरेको भए पनि १३ राष्ट्रले मात्र आफ्नो टिम एथेन्स पठाए । 

लाम्चो आकारको ट्र्याकमा अमेरिकी खेलाडीको बोलवाला भयो । १२ ट्र्याक एन्ड फिल्ड इभेन्ट्समध्ये नौमा स्वर्ण पदक अमेरिकाले जित्यो । अन्तिम दिनमा आयोजना भएको म्याराथन दौडमा ग्रिसका हुलाकी धावक स्यारिडोन लुइसले २१ जना प्रतिद्वन्द्वीलाई उछिनेर स्वर्ण पदक जितेका थिए ।

पहिलो ओलम्पिक खेल राम्रोसँग सफल भएको हुँदा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले ओलम्पिक दिवसलाई विश्वव्यापी बनाउने कुरा उठाएको थियो । अहिले विश्वभरि नै ‘ओलम्पिक डे’ मनाइन्छ । 

ओलम्पिक अभियानको उद्देश्य to contribute to building a peaceful and better world by educating youth through sport practiced without discrimination of any kind and in the olympic spirit  हो । जसका लागि आपसी समझदारी, दरिलो साथ, एकता र स्वच्छ खेल आवश्यक हुन्छ । 

अतः सबै राष्ट्रिय ओलम्पिक कमिटीले ओलम्पिक अभियानका उद्देश्य सफल बनाउन युवालाई शिक्षा, कला, संस्कृतिलगायत अन्य गतिविधि आयोजना गर्न प्रेरित गरौँ भन्छन् अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाख । 

नेपालले पनि भर्खरै ‘ओलम्पिक डे’ सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम आयोजना गरी मनायो । नेपाल ओलम्पिक कमिटी अन्तर्गत स्पोर्ट्स फर अल कमिसनले प्रत्येक वर्ष विशेष कार्यक्रम आयोजना गरी यो दिवस मनाउने गरेको छ । जसमा दौड, खेलकुद, कला, साहित्यिक, सांस्कृतिक कार्यक्रम समावेश गरिन्छ ।  

Author

रमेश खनाल