• १६ भदौ २०८१, आइतबार

दरखास्त नै पर्दैन विज्ञापनमा

blog

काठमाडौँ, साउन १६ गते । आर्थिक वर्ष २०७९/८० मा लोक सेवा आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल स्वास्थ्य मेडिसियन नेफ्रोलोजी, मेडिसिन कार्डियोलोजी, मेडिसियन पल्मोलोजी प्रमुख कन्सल्टेन्ट न्युरो सर्जन, आयुर्वेदतर्फको कौमारभृत्यलागयतका पदमा कुनै पनि दरखास्त नै परेनन् । आन्तरिक र समावेशी गरी ४६ वटा ती पदमा दरखास्त नपरेका हुन् । 

त्यसअघि आर्थिक वर्ष २०७८/७९ मा नेपाल इन्जिनियरिङ सेवाको माइनिङ इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, इन्जिनियरिङ मेट्रोलोजी पदमा गरी ४३ पदमा पनि दरखास्त परेका थिएनन् । 

त्योभन्दा पनि अघिल्लो आव २०७७/७८ मा स्वास्थ्य सेवाका कन्सल्टेन्ट प्लास्टिक सर्जन, कन्सल्टेन्ट हेमाटोलोजिस्ट सर्जनलगायत ७७ पदमा पनि दरखास्त नपरेको लोक सेवा आयोगले जनाएको छ । लोक सेवाको वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार आयोगले हरेक वर्ष सार्वजनिक गर्ने विभिन्न प्राविधिक सेवाका पदमा कुनै पनि दरखास्त पर्दैनन् । आयोगले सार्वजनिक गर्ने विज्ञापनसँग सम्बन्धित विषयका दक्ष जनशक्ति बजारमा नहुने र भइहाले पनि अध्ययनलगत्तै ती जनशक्ति बिदेसिने भएकाले धेरै प्राविधिक सेवाका पदमा दरखास्त नपरेको अनुमान आयोगको छ । 

लोक सेवा आयोगका प्रवक्ता गीताकुमारी होमेगाईले दरखास्त नपर्नेमा नेपाल इन्जिनियरिङ र स्वास्थ्य सेवाका प्राविधिक पद सबैभन्दा धेरै रहेको बताउनुभयो ।  होमेगाईले भन्नुभयो, “दरखास्त नपर्नुमा कतिपय आन्तरिक प्रतियोगिताका पदमा शैक्षिक योग्यता र कार्य अनुभव नहुनु, आयोगले गर्ने कतिपय विज्ञापनको पाठ्यक्रम नै नहुनु, केही पद सामावेशी समूहका हुने तर त्यस समूहमा दक्ष जनशक्ति नहुने नभएकाले दरखास्त नपरेका हुन् ।” 

निजामती सेवाका प्राविधिक सेवामा आयोगबाट सिफारिस भएपछि सेवा अवधिमा पर्याप्त रूपमा योग्यता अनुसारको सेवा सुविधा नहुने भएकाले कतिपय प्राविधिक पदमा दरखास्त नपरेको पनि उहाँले बताउनुभयो । आर्थिक वर्ष २०७६/७७ मा निजामती सेवाको टाइपिस्ट पदका १३ वटा विज्ञापनमा र अन्य सेवाका १५ वटा गरी कुल २८ वटा विज्ञापनका विभिन्न पदमा र आर्थिक वर्ष २०७५/७६ मा प्रकाशित निजामती सेवातर्फका १७४ स्थानीय तहका ५९६ विज्ञापनमध्ये टाइपिस्ट पदका ११ वटा र न्याय र कानुन समूहको उपसचिव दलित समूहको पदमा दरखास्त नपरेको लोक सेवा आयोगले जनाएको छ । 

प्रवक्ता होमेगाईका अनुसार दरखास्त नपर्ने पदमा खरिदार र नायब सुब्बादेखि सहसचिव वा सो सरहका छन् । दरखास्त नपर्ने पदमा जल विज्ञान सहायक, नायब मौसम विज्ञान सहायक र आन्तरिक बढुवातर्फको टाइपिस्ट पदमा कुनै पनि दरखास्त नपरेको आयोगको प्रतिवेदनमा उल्लेख छ । आयोगले हरेक वर्ष गर्ने विज्ञापनमा अन्य विभिन्न पदमा भने एउटा पदका लागि करिब एक हजारको सङ्ख्यामा दरखास्त पर्ने गरेका छन् । 

लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले दरखास्त नपर्नुमा कपितय प्राविधिक विषयमा नेपालमा पढाइ नै नहुने र बजारमा उक्त पदसँग सम्बन्धित जनशक्ति नभएकाले ती पदमा दरखास्त नपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “ती पद आवश्यक हो भने सरकारले सम्बन्धित विषयको पठनपाठन गराएर बजारमा उक्त जनशक्ति उत्पादन गर्नु पर्छ अनि मात्र लोक सेवा आयोगले गर्ने विज्ञापनमा दरखास्त पर्छन्, सरकारलाई आवश्यक जनशक्तिको पूर्ति हुन्छ ।” 

उहाँका अनुसार उक्त पदमा आउने प्राविधिक जनशक्तिको सेवा सुविधाको माग ठुलो हुन्छ । उक्त सेवा सुविधा सरकारले पूर्ति गर्न नसक्ने, ती पदको दरबन्दी सरकारी सेवाका सीमित कार्यालयमा मात्र हुन्छन् । त्यस्ता पदमा दक्ष जनशक्ति बजारमा उत्पादन भइसक्दा लोक सेवाको प्रतियोगितामा परीक्षा दिने उमेर नै गइसक्ने भएकाले आयोगले गर्ने विज्ञापनमा दरखास्त नपरेको मैनालीले स्पष्ट पार्नुभयो । प्राविधिक पदमा आयोगले बढीमा ४५ वर्ष उमेरसम्म प्रतियोगितामा सहभागी हुन पाउने व्यवस्था गरे पनि सो उमेरलाई बढाउँदा राम्रो हुने उहाँले सरकारलाई सुझाव दिनुभयो ।