• १ साउन २०८१, मङ्गलबार

सिसेक्पा तङ्नाममा शुभकामना आदानप्रदान

blog

सिसेक्पा तङ्नाममा मौलिक पहिरनमा सजिएर सहभागी लिम्बू समुदायका नागरिक।

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन १ गते। साउने सङ्क्रान्तिलाई किराँत लिम्बू समुदायले ‘सिसेक्पा तङ्नाम’ भन्ने गर्दछन्। सिसेक्पा तङ्नाम अर्थात् साउने सङ्क्रान्तिलाई किराँत लिम्बू समुदायले आफ्नो मौलिक पर्वका रूपमा मनाउने गरिएको पाइएको छ। मौलिक पर्वका रूपमा मनाउँदै आएका ताप्लेजुङसहित पूर्वका किराँत लिम्बू समुदायले साउन १ गते मङ्गलबार अर्थात् सङ्क्रान्ति पर्व (सिसेक्पा तङ्नाम) भव्य रूपमा मनाएका छन्।

लिम्बू समुदायले सिसेक्पा तङ्नाम शुभकामना आदान–प्रदानसहितका कार्यक्रम गरी मनाएका छन्। ताप्लेजुङमा लिम्बू समुदायले मौलिक संस्कृति प्रस्तुतिसहित शुभकामना आदानप्रदान गरेर सिसेक्पा तङ्नाम मनाएका छन्। जिल्लास्थित किराँत याक्थुङ चुम्लुङ र याक्थुङ कलाकार मञ्चले संयुक्त कार्यक्रमको आयोजना गरी सिसेक्पा तङ्नाम भव्य रूपमा मनाएका हुन्।

किरात याक्थुङ चुम्लुङकी जिल्ला अध्यक्ष इन्दिरा मेन्याङ्बोले सिसेक्पा तङ्नामको अवसरमा शुभकामना आदानप्रदानसहित सांस्कृतिक कार्यक्रम गरेर तङ्नाम मनाएको बताउनुभयो। लिम्बू समुदायका अगुवा, स्थानीय तहका जनप्रतिनिधि लगायतको सहभागितामा शुभकामना आदानप्रदानसहितको कार्यक्रम सम्पन्न गरिएको मेन्याङ्बोले बताउनुभयो। उहाँका अनुसार कार्यक्रममा लिम्बू जातिको मौलिक संस्कृतिअन्तर्गत याःलाङ (धान नाच) र केःलाङ (च्याब्रुङ नाच) प्रस्तुत गरिएको थियो।

यता साँझपछि किराँत लिम्बू समुदायले आफ्नो इष्टदेवको सम्मानमा नयाँ पाकेका फलफूल चढाउने गर्दछन्। सङ्क्रान्तिका दिन बिहानदेखि विशेष खानपानसँगै दिउँसो शुभकामना सहितका औपचारिक कार्यक्रम र साँझ अन्न, फलफूल र कुरिल्लोको पातहरू सङ्कलन गरेर डोरीले बाँधेर ढोकामा झुन्ड्याउने गरिन्छ। हरियो बाबियोको डोरी बनाई अन्न, फलफूल र अन्य पातहरू लहरै सिउरेर घरको मूल ढोकामाथि झुन्ड्याउने परम्परा रहिआएको कियाचुकी जिल्ला अध्यक्ष मान्याङबोले जानकारी दिनुभयो।

बेलुकीको खाना खाई सकेपछि छरछिमेक सबैले एकसाथ बन्दुक पड्काउने, थाल, झ्याम्टा, ढोल बजाउने, नाङ्लो ठटाउने लगायतका गतिविधि गरी सिसेक्पा तङ्नामको समापन गर्ने गरिएको पनि कियाचु अध्यक्ष मेन्याङ्बाले बताउनुभयो। उहाँका अनुसार घर वा समाजमा भएको खराब तत्त्वको अन्त्य हुने परम्परा अनुसार किराँत लिम्बू समुदायले सिसेक्पा तङ्नाम एक विशेष महत्वका साथ मनाउने गर्दछन्।