• ७ मंसिर २०८१, शुक्रबार

चितुवासँग जम्काभेट

blog

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा १२ वर्षदेखि मानव र चितुवाबिच द्वन्द्व चलिरहेको छ । यस द्वन्द्वमा बैतडीको तल्लो स्वराड क्षेत्रमा तीन वटा पालिका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका प्रभावित छन् । चितुवाले मेलौली नगरपालिका–९, विशालपुर गाउँमा मात्रै छ बालकको ज्यान लियो । चितुवाले चिथोेरेका घाउ लिएर पनि कतिपयले जीवन बिताइरहेका छन् । 

१२/१३ वर्षमा चितुवाले मानव बस्तीमै पसेर २८ जनाको ज्यान लियो । ज्यान जानेमा अधिकांश ससाना बालबालिका छन् । काख रित्तिएका आमा चितुवाको कुरा गर्नासाथ बर्रर्र आँसु झार्छन् । चितुवाको आक्रमणमा परी १८ जना घाइते पनि भएका छन् । बदलामा मानिसले चितुवा मार्न पासो थापे । पासोमा परेर २६ वटा चितुवा मरे तर चितुवा अहिले पनि मानव बस्तीवरिपरि घुमिरहेको पाइन्छ । मान्छे र चितुवा एकअर्काको शत्रु जस्तै बनेको बेला राष्ट्रिय प्रकृति संरक्षण कोषले यी गाउँमा सहअस्तित्व कार्यक्रम सञ्चालन गरेपछि चितुवा लखेट्नेहरू अहिले भने चितुवा संरक्षण गर्ने अभियानमा जुटेका छन् ।

केही वर्षअघि चितुवा देख्नासाथ लखेट्ने अभियानमा लागेका मेलौली नगरपालिका–९, विशालपुरका शङ्करदत्त भट्ट अहिले चितुवा र मानवबिच सहअस्तित्व बढाउने समूहका अध्यक्ष बन्नुभएको छ । आँगनमा खेल्दै गरेको उहाँको छोरालाई चितुवाले झम्टेर सिकार बनाएको थियो । उहाँ अहिले चितुवा बचाउनु पर्छ भन्दै हिँड्नुभएको छ ।

विशालपुर गाउँकी गुनडी लोहारकी छ वर्षीय छोरी चितुवाको आहारा बनिन् । विशालपुर गाउँमा लगातार छ जना बालबालिकालाई चितुवाले सिकार बनाएपछि चितुवा लखेट्न सिङ्गो गाउँ एकजुट भएर लाग्यो । जिल्ला प्रशासन कार्यालयले चितुवा नियन्त्रण गर्न सशस्त्र प्रहरीको टोली नै परिचालन गरेको थियो । स्थानीय बासिन्दाले चितुवाविरुद्ध आन्दोलन नै चर्काएपछि चितवन राष्ट्रिय निकुञ्जका वनविज्ञले विसं २०७७ फागुनमा नरभक्षी चितुवालाई काठको खोरमा थुनेर डाँडो कटाएका थिए तर विशालपुर गाउँमा अहिले पनि चितुवा घुमिरहेको देख्न सकिन्छ ।

विज्ञद्वारा अध्ययन सुरु

मानव र वन्यजन्तुबिचको द्वन्द्वले उग्र रूप लिएपछि अहिले बैतडीमा राष्ट्रिय प्रकृति संरक्षण कोषले मानव र वन्यजन्तुबिच सहअस्तित्व कायम गर्ने कार्यक्रम सुरु गरेको छ । ५० वटा स्वचालित क्यामरा जडान गरेर चितुवाको गतिविधि अध्ययन भइरहेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा बाघ संरक्षण कार्यव्रmम अन्तर्गत बैतडीमा चितुवाको अध्ययन थालेको हो । पहाडी र उच्च पहाडी क्षेत्रका लागि ठुला मांसाहारी वन्यजन्तु संरक्षण रणनीति तर्जुमा गर्ने कार्य पनि अगाडि बढेको छ । चितुवा संरक्षण गर्न डिभिजन वन कार्यालय बैतडीमा सरोकारवाला निकायसँग रणनीतिक छलफल आयोजना गरी सहअस्तित्व अभियान सुरु भएको छ ।

सचेतना र सहयोग

अध्ययन टोलीले वन्यजन्तुको अनुगमन गरेर वन्यजन्तुका बासस्थान र जैविक मार्गहरूको पहिचान गरी नक्साङ्कन गरेको छ । सुदूरपश्चिम प्रदेशमा बाघ, चितुवा र अन्य वन्यजन्तु संरक्षणका लागि रणनीति तर्जुमा गरेर सीमापार संरक्षण अन्तक्रिया, संरक्षित क्षेत्रहरूको व्यवस्थापन, वैकल्पिक जीविकोपार्जन, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि वस्तुभाउको सुरक्षित गोठ/खोर निर्माण, वन्यजन्तु उद्धार केन्द्र, उपकरण र जनशक्ति परिचालन, मानव वन्यजन्तु सहअस्तित्व विकासका लागि संरक्षण शिक्षा जस्ता क्रियाकलाप सुरु भएका छन् ।

मानव र चितुवाको द्वन्द्व घटाउन मेलौली नगरपालिका–९, विशालपुर गाउँका बासिन्दालाई चितुवा मान्छेको शत्रु होइन भन्ने बुझाउन थालिएको छ । चितुवाबाट जोगिन मानिसले आफ्ना आनीबानी परिवर्तन गर्ने विषयमा तालिम दिनुका साथै ३६ परिवारलाई वैकल्पिक जीविकोपार्जनका लागि ३२ लाख रुपियाँ सहयोग प्रदान गरिएको छ । चितुवा प्रभावित बस्ती छनोट गरी बाख्रापालनका लागि खोर निर्माण, अदुवा/बेसार खेती र कृषि उपज सङ्कलन केन्द्रका लागि समुदायले सहयोग प्राप्त गरेका हुन् ।

चितुवा प्रभावित बस्तीका दुई वटा सामुदायिक वनका समूहलाई आय आर्जन गर्न १८ लाख रुपियाँ उपलब्ध गराइएको छ । उक्त रकम छ प्रतिशत ब्याजदरमा समुदायले जीविकोपार्जनका लागि ऋण पाउने छन् । चितुवा र मानवबिच सहअस्तित्व कायम गर्न स्थानीय मेलौली सामुदायिक सिकाइ केन्द्र र विशालपुर सामुदायिक सिकाइ केन्द्रका पदाधिकारी यो अभियानमा लागेका छन् ।

पचास वटा क्यामरा जडान

चितुवा प्रभावित बैतडीको तल्लो स्वराड क्षेत्रका तीन वटा पालिका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा ५० वटा स्वचालित क्यामरा जडान गरेर अनुसन्धान सुरु भएको छ । अध्ययन टोलीले १५ दिनसम्म चितुवा र वन्यजन्तुको गतिविधि रेकर्ड गरेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटाका अनुसार क्यामरामा रेकर्ड भएका चितुवाका गतिविधिको अध्ययन गर्नुका साथै समुदायसँग यस विषयमा छलफल भइरहेको छ । 

बैतडीमा चितुवा र मानवबिचको द्वन्द्व न्यूनीकरण गरेर एकअर्काबिच सहअस्तित्व कायम गर्न ‘पाइलट प्रोजेक्ट’ सुरु गरिएको छ । चितुवा मान्छेको शत्रु होइन तर किन मान्छेको सिकार गरिरहेको छ ? भन्ने विषयमा राष्ट्रिय प्रकृति संरक्षण कोषले गहिरो अध्ययन थालेको छ । अध्ययन प्रतिवेदनको नतिजा अनुसार चितुवा संरक्षणको थप रणनीति बन्ने छ । चितुवा प्रभावित बस्तीका लागि यो खुसीको कुरा हो ।

चितुवाको आहारा चोरी

प्रारम्भिक अध्ययन अनुसार चितुवाको आहाराका रूपमा रहेका रतुवा, घोरल, खरायो, बँदेलको चोरीसिकारी हुने गरेको छ । चितुवा जोगाउन मुख्य चुनौतीमा मानव वन्यजन्तु द्वन्द्व, चितुवाको बासस्थान खण्डीकरण र वन विनाश, वन्यजन्तुको चोरीसिकारी र गैरकानुनी व्यापार जस्ता समस्या पनि छन् । बैतडीको तल्लो स्वराड क्षेत्रका चितुवा प्रभावित ठाउँमा वन विनाशसमेत बढेको छ ।


सल्लेरी वनमा आगलागी

चितुवा प्रभावित बैतडीको तल्लो स्वराड क्षेत्रस्थित सल्लेरी वनको ९० प्रतिशत भागमा बर्सेनि भीषण आगलागी हुने गरेको छ । यहाँका अघिकांश वनमा सल्लाका रुख छन् । गर्मीयाम सुरु भएसँगै सल्ली पिरोल (सल्लाका मसिना पात) झर्न सुरु हुनेबित्तिकै आगलागी हुने गरेको छ । सल्लाको रुखले पानी सञ्चित नगर्दा यहाँको भूगोल सुक्खा बनेको छ । त्यसमाथि आगलागी हुँदा हरियाली वन उजाड बन्दै गएको छ । आगलागीका कारण कटुस, काफल, सिलङ्गो, उत्तिस जस्ता पानी सञ्चित गर्ने वनस्पति हराउँदै गएका छन् ।

सल्लाको रुखका कारण शिवनाथ गाउँपालिका सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ । यहाँ नाम मात्रैको वन छ । सल्लाका रुख हटाएर बाह्रै महिना हरियाली हुने लालीगुराँस, काफल र सिलङ्गो रोपेर नयाँ वन बनाउने योजनामा रहेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले जानकारी दिनुभयो । सल्लाको वनमा जङ्गली जनावरका लागि आहारा नहुँदा वनमा चितुवा मात्रै बाँकी रहेपछि मानिसलाई आहारा बनाइरहेको मेलौली नगरपालिका–९ का वडाध्यक्ष लोकराज भट्टको भनाइ छ । उहाँले यो वर्ष वनमा हरियाली बढाउन एक हजार काफलका बोट रोप्ने योजना रहेको सुनाउनुभयो । वनमा चराचुुरुङ्गी, जङ्गली जनावर, पानीका मुहान केही नभएपछि मानव जीवनमा समेत असर पुगेको अनुभव समुदायले गर्न थालेको छ ।

मान्छे र चितुवा सँगसँगै

विज्ञ टोलीले चितुवाको अध्ययन गर्न जडान गरेको स्वचालित क्यामराले साँझबिहानको समय मानिस र चितुवा एउटै समय र स्थानमा हिँडिरहेको कैद गरेको छ । मेलौली नगरपालिका–५ मा जडान भएका स्वचालित क्यामरामा चितुवा निकै गुप्त ढङ्गले हिँडिरहेको देखिएको छ । चितुवा एक्लै बस्न मन पराउने, लजालु र गुप्त स्वभाव भएर पनि मानव बस्तीवरिपरि सहज ढङ्गको सिकारको खोजीमा हुने गरेको अध्ययनकर्ताको भनाइ छ । झट्ट हेर्दा सल्लाको वन देखिन्छ तर वनमा चितुवाको आहारा छैन । फाट्टफुट्ट देखिने जङ्गली खरायो र बँदेलको पनि मानिसले सिकार गर्ने गरेको पाइएको छ । आहाराकै कमीले चितुवाले मानिसको सिकार गरिरहेको धारणा सामाजिक अगुवाको पनि छ । स्थानीय सामुदायिक वनले हरियाली बढाएर पारिस्थितिक प्रणाली जोगाउन सके मानिस पनि चितुवाबाट जोगिने सामाजिक अगुवा चिन्तामणि भट्टको धारणा छ । 

भरुवा बन्दुक चुनौती

बैतडीका १० वटा स्थानीय तहका विभिन्न गाउँमा एक हजार चार सय वटा दर्तावाला हतियार (भरुवा बन्दुक) रहेका भए पनि तीन सय हतियार मात्रै नवीकरण भएको जिल्ला प्रशासन कार्यालय बैतडीको तथ्याङ्क छ । चितुवाको अध्ययन गर्न जडान गरिएका स्वचालित क्यामरामा मानिसहरू भरुवा बन्दुक बोकेर सिकार गरिरहेको दृश्य पनि देखिएको छ।

अवैध हतियार नियन्त्रण गर्छौं 

भीमकान्त शर्मा

प्रमुख जिल्ला अधिकारी, बैतडी 

चितुवाले बैतडीमा मानवीय क्षति धेरै गरेको छ । चितुवा र मानवबिचको द्वन्द्व घटाउन अवैध चोरी सिकारमा प्रयोग हुने भरुवा बन्दुक नियन्त्रण गर्ने तयारी गरेका छौँ । नवीकरण नभएका हतियारको खोजी गर्दै छौँ । चितुवाको आहारा मानिसले सिकार गर्न थालेपछि यसले पनि द्वन्द्व बढाएको विभिन्न अध्ययनले देखाएको छ । चितुवा मान्छेको शत्रु होइन भन्ने कुरा भनिए पनि मानवीय व्यवहारका कारण मानव र चितुवाबिच हिंसात्मक द्वन्द्व भइरहेको छ । द्वन्द्व न्यूनीकरण गर्न समुदायमा सचेतना जरुरी देखिएको छ । पारिस्थितिक प्रणाली जोगाउन सके मात्रै चितुवा र मान्छे दुवै बाँच्न सक्ने वातावरण तयार हुन्छ । वन विनाश गर्नु भएन । सामुदायिक वनका पदाधिकारी यो विषयमा चनाखो बन्न जरुरी छ । राज्यले वनको सुरक्षा र विकासका लागि समुदायलाई हस्तान्तरण गरेपछि जिम्मेवारी वहन गर्नु पर्छ ।  

आनीबानी परिवर्तन गर्नु पर्छ 

लक्ष्मीराज जोशी 

प्रमुख, राष्ट्रिय प्रकृति संरक्षण कोष, शुक्लाफाँटा, कञ्चनपुर

चितुवा र मानवबिचको द्वन्द्व घटाउन मानिसले आनीबानी परिवर्तन गर्न जरुरी छ । मानिसले आफ्नो आनीबानी मात्रै परिवर्तन गर्न सके चितुवाको आव्रmमणबाट ९० प्रतिशत जोगिन सकिन्छ । वनमा जाँदा समूह बनाएर जाने, बालबालिकालाई एक्लै गोठालो नपठाउने, वनमा एक्लै घाँस काट्न जाँदा निहुरेका बेला चितुवाले सिकार÷आहारा झम्टिने भएकाले समूह बनाएर घाँस÷दाउरा काट्न जाने गर्नु पर्छ । यस्तै घरको झ्याल÷ढोका बलियो बनाउने, झ्यालमा सकेसम्म डन्डी वा जाली प्रयोग गर्ने, बाख्राको गोठ सुरक्षित बनाउने गर्नु पर्छ । साँझबिहान बालबालिकालाई एक्लै नछाड्ने, घरमा उज्यालोको व्यवस्था गर्ने; बाघ, चितुवालगायतका वन्यजन्तुको सम्भावित आव्रmमणबाट बच्न जङ्गल वा जङ्गलको बाटो जाँदा सतर्क भएर समूहमा मात्र जाने गर्नु पर्छ । 

बाघ, चितुवाको पाइला, चिह्न र गतिविधिबारे सचेत रहने; जङ्गल किनारमा बस्ने मानिस साँझबिहानको समयमा सकेसम्म घरबाहिर ननिस्कने र निस्कनै परे सतर्क भएर निस्कने, चितुवाले प्रायः सानो उमेरका केटाकेटीलाई आव्रmमण गर्ने भएकाले विशेष ख्याल गर्ने; बाघ, चितुवा देखिहाले नआत्तिने, नजिस्क्याउने र समूहबाट तितरबितर नभई जनावरदेखि टाढा रहने गर्नु पर्छ । 


कर्मचारी नहुँदा समस्या 

दिलीपकुमार यादव

प्रमुख, डिभिजन वन कार्यालय, बैतडी  

जिल्लाका १० वटा स्थानीय तहका वन क्षेत्र हेर्ने जिम्मेवारी पाएका पाँच वटा सबडिभिजन वन कार्यालयमा बर्सौंदेखि वन अधिकृत छैनन् । चितुवा प्रभावित तल्लो स्वराड क्षेत्रको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका वन क्षेत्र हेर्ने जिम्मेवारी पाएको मेलौली सबडिभिजन वन कार्यालय बर्सौंदेखि अधिकृतविहीन छ । रेन्जरको भरमा कार्यालय चलाउनुपर्ने बाध्यता छ । चोरीसिकारी, वन विनाश तथा आगलागी नियन्त्रण गर्नु चुनौती बनेको छ । सिगास गाउँपालिकाको गाँजरी, दशरथचन्द नगरपालिकाको मालिका, पुर्चौडी नगरपालिकाको हाट र डिलासैनी गाउँपालिकाको गोकुलेश्वर सबडिभिजन वन कार्यालयमा वन अधिकृतको दरबन्दी भए पनि खाली रहेको छ ।