आदिकवि भानुभक्त आचार्यलाई सम्झने मौसम प्रत्येक वर्ष मनसुनसँगै आउने गरेको छ । भानुलाई यो मौसममा मात्रै सम्झने भनेको यो एकप्रकारको कर्मकाण्डी व्यवहार नै हो । तै तै यत्ति भए पनि धर्म निर्वाह भएकै छ । भानुका सिर्जनागत आयामहरूको चर्चाभन्दा आजको यस लेखको विषय अलिक फरक छ । यस लेखमा भानुको जन्मस्थल तनहुँको चुँदीरम्घामा हालसम्म भएगरेका सांस्कृतिक र भौतिक विकासका सन्दर्भहरूलाई केही हदसम्म देखाउने प्रयास गरिएको छ ।
भानुले आफ्नो परिचय दिँदा ‘पहाड्को अति बेस देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण् थिया, खुब् उच्चाकुल आर्यवंशी हुन गै सत्कर्ममा मन् दिया, विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया, उन्को नाति म भानुभक्त भनि हुँ यो जानी चिन्हीलिया’ भनेर उल्लेख गरेकाले पनि आदिकवि भानुभक्त आचार्यसहित तनहुँ, चुँदीरम्घावासी कौण्डिन्यगोत्री आचार्यहरूले श्रीकृष्ण आचार्यलाई नै मूलपुरुष मानिआएका छन् । हुन त श्रीकृष्णभन्दा ११ औँ पुस्ता अघिदेखि एकसरो पुर्खाको नाम नभेटिएको होइन तर यस माथिल्लो पुस्तामा वंशवृक्षमा लहलहाउने तलमाथिका पुस्तौनी हाँगाबिँगा पाइएको छैन । तसर्थ जहिलेदेखि वंश विस्तारको आधिकारिक अभिलेख भेटियो तहिलेदेखि वंशावली अद्यावधिक राख्ने काम भयो । वर्तमानमा यस पङ्क्तिकारको अध्यक्षतामा ‘श्रीकृष्ण आचार्य गुठी’ नामक संस्था स्थापना भएको छ । यही गुठी नै आदिकवि भानुभक्त आचार्यको पनि कुलपूजा गुठी हो । चुँदीबेँसीको पुरानोडिही नामक समथल पाखोसँगै जोडिएको साउनेखोल्सीपारि पूर्वतर्फको करिब तीन रोपनीको बुट्यान क्षेत्र नै सदियौँदेखि कुलपूजा हुँदै आएको स्थान हो तर विडम्बनाको कुरा यो भयो कि सो परिसरको सम्पूर्ण जग्गा कुनै व्यक्तिको नाममा दर्ता भइसकेको रहेछ । हालै मात्र १४ आना जग्गा निजबाट खरिद गरी गुठीका नाममा दर्ता गरिएको छ ।
यहाँका आचार्य वंशमा कुलदेवताको पूजास्थल वन, कन्दरामा बनाउने र भौतिक रूपमा मन्दिरको आकार नबनाई खुला रूपमा राख्ने प्रचलन छ । कुलदेवतासँगै वनदेवीको पनि पूजा गर्ने परम्परा छ । यस्तो प्रचलन प्रायः सबैतिर भएको बुझिन्छ । वनेली क्षेत्र भएकाले त्यहाँको रखबारी गर्ने हेतुले वनदेवीलाई पनि खुसी राख्नुपर्ने विश्वास रहिआएको छ । रामायणमा एउटा प्रसङ्ग पनि छ । सीताजीकै आग्रहमा सुनौलो मृगलाई समात्न जब रामचन्द्र मृगको पछि लागे; अलिक टाढा पुगेपछि मृगको रूप धारण गरेको मारिच नामक राक्षसले ‘हे भाइ, म मरेंँ’ भनेर करायो । यो आवाज सुनेपछि सीताजीले ‘दाजुलाई आपत् परेका बेला तिमी तुरुन्त सहयोग गर्न जाऊ’ भनेर दुर्वाच्यसहित लक्ष्मणलाई खटाइन् । लक्ष्मणले यसलाई नाघेर बाहिर ननिस्कनू भनी सीताका निम्ति कोरेको रेखा नै लोकमा ‘लक्ष्मणरेखा’ नामले प्रसिद्ध रह्यो । लक्ष्मणले भाउजूको रक्षार्थ वनदेवीलाई खटाएको प्रसङ्ग भानुले यसरी लेखेका छन्– ‘धिक् चण्डी ! येति भनि खुब्सित छट्पटाया, वन्देवीलाई रखबारी तहीँ खटाया (भानुभक्तको रामायण, अरण्यकाण्ड, श्लोक ७९)’ । यस अर्थमा कुलदेवताको पूजासँगै वन, कन्दरा क्षेत्रको उपभोग गरेबापत वनदेवी वा उनका सेनामेनालाई खुसी पार्न बलि दिनुपर्ने प्रथा विकसित भएको हुन सक्छ ।
भानुसहित आचार्य बन्धुहरूले अपनाउँदै आएको कुलपूजा परम्पराको ऐतिहासिक पृष्ठभूमि यस्तो पाइन्छ । भारतको कान्यकुब्ज (कन्नौज, उत्तर प्रदेश) का क्षत्रीयवंशी राजाको राज्यशक्तिलाई टर्कीबाट आएका गैरहिन्दु शासकले तहसनहस पारी कब्जा गर्न थालेपछि कौण्डिन्यगोत्री कुलीन ब्राह्मण दुई भाइहरू सच्चिदानन्द (आचार्य) र सदानन्द (न्यौपाने) तत्स्थानमा आफ्नो सुरक्षा हुन नसक्ने ठानी पश्चिम नेपालको सीमा भएर करिब छ सय वर्षअघि नेपालको जुम्ला क्षेत्रमा प्रवेश गरेको अनुमान गरिन्छ । उनीहरूले मानसरोवरबाट शिला ल्याई कुलपूजा गर्न थालेको भन्ने पनि भनाइ छ । जुम्लाका राज्य–शासकद्वारा आचार्य पदवी पाएका सच्चिदानन्दका सन्तान आजभन्दा करिब ४५० वर्षअघि लमजुङ हुँदै तनहुँको चुँदीरम्घामा आई बसेका सूर्योपाध्याय नै श्रीकृष्ण आचार्य वंशका प्रथम ज्ञात पुर्खाका रूपमा देखिन्छन् । आफ्नो धर्म, संस्कृति र कुलपरम्पराको संरक्षण, संवर्धन तथा विस्तार गर्ने ध्येयले सुरक्षित स्थान खोज्दै आएका यी पुर्खाले त्यस समयदेखि नै कुनै न कुनै रूपमा कुलदेवताको पूजा गर्दै आएको विश्वास गर्न सकिन्छ । मष्टपूजा परम्पराको प्राधान्य सुदूरपश्चिमतर्फ रहेको र भानुका पुर्खा पनि त्यतैबाट आएकाले यस वंशका सन्ततिले मान्ने कुलदेवताका रूपमा ‘मष्टबराह’ नै कुल धरोहरका रूपमा प्राप्त भएको मान्नु पर्छ ।
पछिल्लो समयमा आएर विसं १९९१ मा गरिएको कुलपूजाबारेका लिखत÷लेखोटहरू रमानाथ आचार्य (मार्फत महेश आचार्य), रामभक्त आचार्य तथा तीर्थराज आचार्य (मार्फत दिव्यचन्द्र आचार्य) र विश्वराज आचार्य (साउनेपारि, मार्फत काशीराज आचार्य) का घरबाट भेटिएका छन् । अज्ञात समयदेखि नै प्रत्येक १२ वर्षमा कुलपूजा हुँदै आएको वास्तविकतालाई पूजा भएका अभिलिखित वर्षहरू विसं १९९१, २००३, २०१५, २०२७, २०३९, २०५१, २०६३ र २०७५ ले नै पुष्टि गर्छन् । उपर्युक्त वर्षहरूमा कुलपूजा भएको तथ्यका जानकार त हाल जीवित कतिपय संस्थापक, ज्येष्ठ बन्धु र सञ्चालकहरू नै छन् । यसै कुलमा राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्म भएको र उनको कुलपूजा स्थल पनि एउटै भएकाले यहाँको कुलपूजा आफैँमा एक गौरवशाली पर्व हुन पुगेको छ ।
सुदूर विगतमा स्थानीय आचार्य विद्वान्प/ण्डितहरूले शास्त्रीय निर्देशन र प्रचलनका आधारमा केही टिपोटसमेत गरी कुलपूजा चलाउँदै आएकामा यही परम्परालाई संस्थागत स्वरूप दिन संस्थापनापत्र (विधान) लाई मुलुकी देवानी संहिता, २०७४ (भाग ४, परिच्छेद ६) अनुरूप श्रीकृष्ण आचार्य गुठीका नाममा २०८० सालमा मालपोत कार्यालय, दमौली, तनहुँमा दर्ता गरियो । श्रीकृष्ण आचार्य र आदिकविका सन्तानसहितका आचार्य बन्धुहरूले गरिआएको पारम्परिक कुलपूजा सहज रूपमा सम्पन्न गर्नका निम्ति हालसम्म प्राप्त कुलपूजा विधिहरू र प्रयोगमा ल्याइएका प्रचलन तथा अभ्याससमेतलाई आत्मसात् गरी पटक पटक गुठीको बैठक बसी निर्णय गरेका आधारमा वर्तमान तथा भावी पुस्ताले बढी व्यवस्थित, सहभागितामूलक र सरल रूपमा पूजन कार्य सम्पन्न गर्न सकून् भन्ने अभिप्रायले श्रीकृष्ण आचार्य गुठी कुलपूजा निर्देशिका पनि जारी गरिएको छ ।
श्रीकृष्ण आचार्य गुठीले १२ वर्षको अन्तरालमा कुलपूजा सम्पन्न गर्दै आइरहेकामा बन्धुबान्धवहरूको पारिवारिक सङ्ख्या बढ्दै गएकाले एकआपसमा चिनापर्ची पातलो हुँदै गएको अवस्थामा बन्धुत्व–सम्बन्ध थप विस्तार गर्नु परेको र पारम्परिक चाडपर्वसँग नयाँ पुस्तालाई बढी परिचित बनाई कुलको सांस्कृतिक पक्षसँग सामयिक अन्तर्घुलन अभिवृद्धि गर्नु जरुरी भएका कारण बहुसङ्ख्यक मतका आधारमा अबदेखि छ वर्षको अवधिमा कुलपूजा गर्ने निर्णय भएको छ । कुलपूजा अवधिलाई औचित्यपूर्ण हिसाबले जति चाँडो ल्याइन्छ त्यति नै पूजाप्रतिको लगाव, आस्था, संस्कृति संरक्षण र श्रुतिस्मृतिको पुनर्ताजगी हुँदै जाने हुँदा यस निर्णयले मूलतः चुँदीरम्घा, चितवन र काठमाडौँ तथा विदेशमा समेत छरिएर रहेका श्रीकृष्ण वंशमूलका बन्धुहरूको मनोकाङ्क्षालाई प्रतिविम्बित गरेको स्पष्ट अनुभव हुन्छ । यसरी छबर्से अवधिको निर्णय गर्दा चुँदीरम्घा र नेपालका विभिन्न स्थानमा बसोबास गर्ने अन्य थरगोत्रका वंशले गर्ने गरेको कुलापूजाको अभ्यास तथा परम्परालाई समेत आधार मानिएको थियो ।
श्रीकृष्ण आचार्यका छ भाइ छोराको परिचय भानुभक्तका जीवनी लेखक कविराज पंं नरनाथ आचार्यले यसरी दिएका छन्– “जेठाको शुभनाम् धनञ्जय थियो श्रीकाशिनाथ् माहिला, साहिँला हुन पद्मनाभ तुलिसीराम्जी थिया काहिँला, गङ्गादत्तजि ठाहिँला अति ठुला ज्योतीषि व्याकर्णि हुन्, कान्छा इन्द्रविलास खूब रकमी कम्ती रहन्थ्या र कुन् ?” यीमध्ये जेठाका छोरा भानुभक्त हुन् । भानुभक्तका ठाहिँलाबा गङ्गादत्तका भागमा परेको करिब १५ रोपनी क्षेत्रफल रहेको पुरानोडिही नामक जग्गामा अहिले आदिकवि भानुभक्त आचार्य जन्मस्थल विकास समितिले भानुपार्क निर्माण गरेको छ । साहित्यिक पर्यटकको आवागमन बढ्न थालेको यस क्षेत्रमा आगन्तुकहरू घुम्ने ट्र्याक, चौतारी, विश्राम टहरा, बालबालिका खेल्ने ठाउँ, अवलोकन कुञ्ज आदि निर्माण गर्नुका साथै वृक्षरोपण गरिएको छ । मुख्यतः यसै पार्कको लगत्तै पूर्वतर्फ भानुको कुलपूजा स्थल रहेकाले सो स्थानमा पुग्ने गोरेटो बनाउन, पूजाका बखत भक्तहरूको जमघट व्यवस्थित गर्न र आगन्तुकलाई पूजास्थल अवलोकन गराउन समितिले उचित व्यवस्थापन गर्ने गरेको छ । गत वर्ष कवि साहित्यकारद्वय विधान आचार्य र प्रभा भट्टराईको सम्पादकत्वमा आदिकविको रामायण पनि समितिले प्रकाशित गरेको छ । २०५२ सालदेखि केन्द्रीय सरकारमातहतमा रहेको यो समिति सङ्घीयताको प्रादुर्भाव भएदेखि नै कहिले प्रदेश र कहिले स्थानीय सरकारको चपेटामा परी घरको न घाटको अवस्थामा रहेको छ । आगामी वर्षदेखि भानु नगरपालिका अन्तर्गत रहेर काम गर्न कानुनी प्रव्रिmया सुरु भएको छ । यसैबिच पश्चिमाञ्चल विकास मञ्चद्वारा रम्घा गामबेँसीको बिचमा पर्ने धर्मशाला क्षेत्रमा निर्माण गर्ने भनिएको भानुघर ‘शिखर कटेरी’ पनि साहित्यप्रेमीका लागि बर्सौंदेखिको सपना बनेको छ ।
प्राडा जयराज आचार्यको अध्यक्षतामा गठन भएको भानु साहित्य उद्यान नामक गैरसरकारी संस्थामार्फत विजयराज भट्टराई, काशीराज आचार्य, व्रतराज आचार्य, विधान आचार्य, कर्णबहादुर रानाभाट आदिबाट भएको वैचारिक योगदानका फलस्वरूप गत वर्षदेखि नेपाल सरकारको करोडौँको लगानीमा रम्घा डाँडोमा भानु नगरपालिका अन्तर्गत भानु साहित्य उद्यान (पार्क) निर्माण गर्ने बृहत् आयोजना सञ्चालनको कार्य प्रारम्भ भइसकेको छ । सो आयोजनाले करिब १५० रोपनी जग्गा अधिग्रहण गरिसकेको र थप अरू पनि जग्गा लिने लक्ष्य राखेको छ । नगरप्रमुख आनन्दराज त्रिपाठी र सम्बन्धित वडाध्यक्ष अर्जुनबहादुर बोहराको सक्रियतामा यस परियोजनाले भानुको विशाल सालिक, स्रष्टाहरूको मूर्ति वाटिका, सप्तधाम, रामायण मन्दिर, स्रष्टा कुञ्ज, भ्रमणमार्ग आदि निर्माण गर्ने दीर्घकालीन लक्ष्य राख्दै गुरुयोजना निर्माणका लागि परामर्शदाताहरूबाट बोलपत्र आह्वान गरिसकेको छ । चुँदीरम्घा डाँडोमा निर्माणाधीन यस व्यापक आयोजना, चुँदीबेँसीमा सञ्चालित भानु जन्मस्थल समितिका कार्यव्रmम र श्रीकृष्ण आचार्य गुठीसँग आबद्ध व्यक्तिहरू एवं स्थानीय समुदायको विशेष पहलमा भानु जन्मस्थलको साहित्यिक, सांस्कृतिक र पार्यटकीय विकास हुन लागेको सन्दर्भ सबै साहित्यप्रेमी र पर्यटकका लागि खुसीको खबर हो ।