• १२ साउन २०८१, शनिबार

पक्षमा ६३ मत, विपक्षमा १९४ मत

प्रचण्डलाई प्राप्त भएन विश्वासको मत : गुम्यो प्रधानमन्त्री पद

blog

विश्वासको मतको प्रस्ताव पेश गर्न रोष्टमतर्फ जानुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः केशब गुरुङ

काठमाडौँ, असार २८ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वास गुमाउनुभएको छ। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वास गुमाउनुभएको हो।  शुक्रबार प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रधानमन्त्री प्रचण्डले राख्नुभएको प्रस्ताव अस्वीकृत भएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो। 

बैठकमा विश्वासको मतको पक्षमा ६३ र विपक्षमा १९४ मत परेको हो। सदनमा उपस्थित २५८ सदस्यमध्ये एक जना प्रतिनिधि सभाका सदस्य भने तटस्थ बस्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम विश्वासको मतको प्रस्ताव राख्नुभएको थियो।

असार १७ गते कांग्रेस–एमालेबिच सत्ता साझेदारीको सहमति भएपछि प्रधानमन्त्री पाँचौँ पटक विश्वासको मतको प्रस्ताव राख्नुभएको हो।  प्रधानमन्त्रीलाई आफ्नो दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) ले साथ दिए पनि त्यो पर्याप्त भएन । दुई ठुला दल कांग्रेस, एमालेले विपक्षमा मत दिँदा प्रधानमन्त्रीले सदनको बहुमत १३८ सङ्ख्या पुर्‍याउन नसक्नुभएको हो । 


सभाका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बिच सत्ता साझेदारी गर्ने सहमति भएसँगै सरकारमा सहभागी दल एमालेले समर्थन फिर्ता लिएको थियो । एमालेको समर्थन फिर्तापछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुभएको हो। 

नियुक्त भएको डेढ वर्षको अवधिमा प्रधानमन्त्री प्रचण्डले पाँचौँ पटक विश्वासको मत लिनुभएको हो। यसअघि चार पटकसम्म प्रधानमन्त्रीले सदनमा विश्वासको मत पाउनुभएको थियो । एमालेको समर्थन फिर्तापछि असार २१ गते संसदमा पत्राचार गर्दै प्रधानमन्त्रीले विश्वासको मतको कार्यसूची अगाडि बढाइदिन आग्रह गर्नुभएको हो। 

सङ्घीय संरचनामा दोस्रो पटक भएको निर्वाचनपछि प्रचण्ड २०७९ पुस ११ गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो। 

प्रारम्भमा उहाँ एमालेसँग गठबन्धन गरेर प्रधानमन्त्री हुनुभएको थियो । पहिलो पटक प्रधानमन्त्रीले सदनमा करिब शतप्रतिशत मत पाउनुभएको थियो । २०७९ पुस २६ मा प्रतिनिधि सभामा विश्वासको मत लिँदा उहाँले २६८ मत पाउनुभएको थियो । उपस्थितमध्ये दुई सांसदले मात्र विपक्षमा मतदान गरेका थिए । कांग्रेस, एमालेलगायतका सबै दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका थिए । 



राष्ट्रपति निर्वाचनका बेला नै एमाले र माओवादी केन्द्रको गठबन्धन तोडिएपछि प्रधानमन्त्रीले दोस्रो पटक २०७९ चैत ६ मा विश्वासको मत लिनुपरेको थियो । उहाँले दोस्रो पटक १७२ मत पाउनुभएको थियो।

एक वर्षको सत्ता सहयात्रापछि कांग्रेससँगको गठबन्धन तोडेर प्रचण्डले पुनः एमालेसँग सहकार्य गर्नुभएको थियो । गठबन्धनमा विग्रह आएसँगै प्रधानमन्त्रीले तेस्रो पटक २०८० फागुन ३० मा विश्वासको मत लिनुभएको थियो। 

तेस्रो पटक उहाँले १५७  मत पाउनुभएको थियो । यस्तै सरकारमा सहभागी भएको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएपछि एक पक्षले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले २०८१ जेठ ७ गते चौथो पटक विश्वासको मत लिनुभएको थियो । चौथो पटक उहाँले १५७ मत पाउनुभएको थियो।  

प्रतिनिधि सभाको अर्को बैठक आगामी असार ३० गते आइतबार अपरान्ह ३ बजेका लागि बोलाइएको छ। 

यो पनि पढ्नुहोस

देश र जनताको समस्या समाधान हुनुपर्छ : सांसद सुवाल

विश्वास र अविश्वासको प्रक्रियाबाट राजनीति अघि बढ्यो

नयाँ सरकार संविधान नमिची बनाउनु होलाः प्रधानमन्त्री

काँग्रेस र एमाले मिल्दा प्रतिगमनको डर छ : प्रधानमन्त्री

आर्थिक सङ्कट डिलबाट बाहिर आएको छ : प्रधानमन्त्री