• १२ साउन २०८१, शनिबार

मुलुकलाई निकास दिन कांग्रेस–एमाले सहकार्यलाई साथ दिने निर्णय : सांसद खान

blog

जनमत पार्टीका सांसद अब्दुल खान

काठमाडौँ, असार २८ गते । जनमत पार्टीका सांसद अब्दुल खान वर्तमान सरकारले मुलुकलाई निकास दिन नसक्ने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन नसकिने निर्णय गर्नुपरेको बताउनुभएको छ ।

सांसद खानले वर्तमान सरकारले मुलुकलाई निकास दिनेगरी शल्यक्रिया गर्न नसक्ने भएकाले दुई ठुला दलको सहकार्य गरेर अघि बढ्ने निर्णयको पक्षमा उभिनुपरेको स्पष्ट पार्नुभयो ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले राख्नुभएको विश्वासको मतको विपक्षमा बोल्नुहुँदै उहाँले दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले)लाई मिलेर अघि बढ्न पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले केही समयअघि नै गर्नुभएको अपिल आजको दिनमा आएर मिलेकाले पनि आफूहरुले नयाँ सत्ता समीकरणलाई स्वागत गरेको बताउनुभयो ।

सांसद खानले भन्नुभयो, ‘‘उपकरण छैन भने डाक्टर केही गर्न सक्दैन । त्यसकारण यो सरकारले केही गरेको छैन भन्ने होइन । प्राथमिक उपचार गरेको छ । अब चाहिएको छ शल्यक्रिया गर्न । देशको आवश्यकता शल्यक्रिया गर्नसक्ने खालको डाक्टर हो । यसको निम्ति हाम्रो पार्टीको राष्ट्रिय अध्यक्ष माननीय डाक्टर सिके राउतजीले यही रोष्टमबाट तीन, चार महिना अगाडि भन्नुभएको थियो–ठूला दलहरु मिल्नुस्, यदि देशको उन्नति हुन्छ, समृद्धि आउँछ भने भनेर भन्नुभएको थियो । देशमा रोजगारी आउँछ भने तपाईहरु मिल्नुस् । मिलेर देशलाई निकास दिनुस् । वास्तवमा आज त्यही समय आएकाले हुनाले हाम्रो पार्टीको निर्णय हाम्रो पार्टीले गरेको निर्णय सम्माननीय प्रधानमन्त्रीज्यूले राख्नुभएको प्रस्तावको विपक्षमा मत दिने म घोषणा गर्दछु ।’’

सांसद खानले नेपाली जनताले चाहे अनुसारको काम वर्तमान सरकारले गर्न नसकेको पनि बताउनुभयो ।