• २६ चैत २०८२, बिहिबार

सामाजिक विकृति हटाउने योजना

blog

महेशकुमार दास  

जलेश्वर, चैत २६ गते । प्रतिनिधि सभा सदस्य निनुकुमारी कर्णले समाजमा देखिने विकृतिलाई हटाउन प्रयास गर्ने बताउनुभएको छ । मधेशमा अहिले युवामा लागुऔषधको प्रयोग विकृतिको रूप लिइसकेकाले यस समस्यालाई रोक्न हरसम्भव प्रयास गर्ने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “मधेशमा अहिले सानै उमेरका स्कुले बालबालिका लागुऔषध दुव्र्यसनमा लागेको देखेर मन दुख्ने गरेको छ । साना साना बालबालिका लागुऔषध सेवन गरेको देख्दा मन दुख्ने गरेकाले दुव्र्यसनविरुद्ध संसद्मा बुलन्द आवाज उठाउने छु र यसको अन्त्यका लागि जनचेतनामूलक कार्यक्रम र युवालाई राम्रो कामका लागि प्रोत्साहन गर्ने सोच रहेको छ ।” 

सामाजिक सञ्जालको दुरुपयोगबाट हुने बालविवाह र त्यसले निम्त्याउने समस्या न्यूनीकरण गर्न सधैँ तत्परताका साथ लाग्ने उहाँले सुनाउनुभयो । स्कुल पढ्दै गरेका बालबालिकाले सामाजिक सञ्जालको दुरुपयोग गरेर सानैमा विवाह गर्ने जस्ता समस्या तराई मधेशमा देखिएको भन्दै प्रतिनिधि सभा सदस्य कर्णले भन्नुभयो, “यसबारेमा मैले बोल्नुपर्ने हुन्छ । काम गरेर समस्या न्यूनीकरणतर्फ लाग्न आवाज उठाउने छु ।” 

प्रतिनिधि सभा सदस्य कर्णले धेरै काम गर्ने योजना र एजेन्डा रहेको सुनाउँदै अबका दिनमा महिला शारीरिक र मानसिक रूपमा बलियो हुनुपर्नेमा जोड दिनुभयो । प्राप्त अवसरको सही सदुपयोग गर्नुपर्ने वातावरण निर्माण गर्न पनि आफ्नो भूमिका रहने उहाँले बताउनुभयो । 

सुशासनको प्रत्याभूति, भ्रष्टाचार नियन्त्रण र सङ्घीयताको रक्षाका लागि आफू सधैँ सडक र सदन दुवैमा लड्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । राज्यका हरेक संरचनामा मधेशका दलित, जनजाति र महिलाको जनसङ्ख्याका आधारमा अर्थपूर्ण सहभागिता हुनुपर्ने र अबका दिनमा त्यस्ता विषयलाई सदनमा उठाउने आफ्नो योजना रहेको उहाँले थप्नुभयो ।  

हामीले सबै समुदायका महिलालाई राजनीतिमा प्राथमिकता दिनु पर्छ । मधेशी महिलाको सहभागिता न्यून देख्दा पनि निकै नरमाइलो लागेकाले अबका दिनमा समान सहभागिता हुनुपर्ने विषयमा आवाज उठाउने उहाँको भनाइ छ भयो । 

कर्णको राजनीतिक पृष्ठभूमि धेरै पुरानो रहेको छ । उहाँ महेन्द्रनारायण निधिको नातिनी र विमलेन्द्र निधिको भान्जी भएकाले सानै उमेरदेखि राजनीतिक वातावरणमा हुर्किनुभएको हो । उहाँले राजनीतिप्रति विद्यार्थीकालदेखि नै चासो राख्ने गर्नुहुन्थ्यो । 

प्रतिनिधि सभा सदस्य कर्णको राजनीति २०४६ सालको जनआन्दोलनबाट नै सुरु भएको हो । विद्यार्थी जीवनदेखि राजनीतिमा चासो राख्ने निनु नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) धनुषाको जिल्ला सदस्य, त्रिचन्द्र कलेजको एकाइ सदस्य र तराई विद्यार्थी मञ्चको महासचिव भएर काम गरिसक्नुभएको छ । विद्यार्थी जीवनकालमा जनकपुर अञ्चल सम्पर्क समितिमा कोषाध्यक्षसमेत रहनुभएका  निनु २०७८ सालयता नेपाल महिला सङ्घको केन्द्रीय सदस्यसमेत रहनुभएको हो ।  

२०३० सालमा जन्मिएकी निनुले जनकपुरको सरस्वती माध्यमिक विद्यालयबाट स्कुल तहको अध्ययन पूरा गर्नुभएको छ भने स्नातक त्रिचन्द्र क्याम्पसबाट र स्नातकोत्तर जनकपुरबाट गर्नुभएको छ । उहाँसँग सामाजिक सङ्घ संस्थामा काम गरेको अनुभवसमेत छ । महेन्द्रनारायण निधि प्रतिष्ठानको सहसचिव र कर्ण कायस्थ महिला समाजको महासचिव भएर काम गरेर संस्थागत अनुभवसमेत बटुल्नुभएको छ । साथै स्कुल पढ्दादेखि नै स्काउटमा आबद्ध भएर काम गरेको उहाँले सुनाउनुभयो । 

निनुको मनमा राजनीतिप्रतिको रुचि भए पनि आफ्नो खुट्टामा उभिनु पर्छ भन्ने सोचका साथ उहाँ एक दशक शिक्षण पेसामा आबद्ध हुनुभयो । बुढानीलकण्ठ माध्यमिक विद्यालयमा लामो समय शिक्षक भएर काम गरेको अनुभव पनि उहाँसँग छ । आफ्नो शिक्षण पेसालाई बिट मारेर राजनीतिमा होमिएका कर्ण अहिले नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य हुनुभएको छ । २०४६ सालको जनआन्दोलनदेखि निरन्तर सङ्घर्ष गर्दै आएकी निनुकुमारी कर्ण फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसको मधेश महिला क्लस्टरबाट समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।