• २६ चैत २०८२, बिहिबार

निर्माण थालेको १२ वर्षपछि सभा हल पुनर्निर्माण सुरु

blog

निर्माण थालेको १२ वर्षपछि पुनर्निर्माण सुरु भएको सभा हल। तस्बिर : बाबुराम शर्मा

बाबुराम शर्मा
दोलखा, चैत २६ गते ।
एक दशकभन्दा अघि निर्माण सुरु भएको सभा हल अब सम्पन्न हुने आशा पलाएको छ। वि.सं. २०७० सालमा उपयोग तथा आयआर्जनसमेत हुने उद्देश्यले दोलखाको सदरमुकाम चरीकोटस्थित भीमेश्वर नगरपालिका–३ मा निर्माण सुरु गरिएको सभा हल यसपालि बजेट विनियोजन भई ठेक्कामा गएपछि पुनः काम सुरु हुन लागेको हो। यससँगै निर्माण सम्पन्न हुने अपेक्षा गरिएको छ।

सघन सहरी तथा भवन निर्माण आयोजना, मन्थलीका साइड इन्चार्ज असिस्टेन्ट सबइन्जिनियर रामशरण न्यौपानेका अनुसार यसपालि तीन करोड रुपियाँ बजेटमा सभा हलको छाना, पर्खाल, रेट्रोफिटलगायतका काम सुरु हुन लागेको छ। निर्माण सम्पन्न गर्न अझै चार करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ। आगामी वर्षको बजेटमा समेटिए काम पूरा हुने उहाँले बताउनुभयो।

सभा हल ७३३.३५ वर्गमिटर क्षेत्रफलमा चारतले संरचनासहित निर्माण गरिएको छ। पाँच सय क्षमताको यो हल ठेकेदारको लापरबाहीका कारण दुई वर्षमै सम्पन्न हुनुपर्ने भए पनि लामो समय अधुरै रह्यो। निर्माणमा ढिलाइ भएपछि ठेकेदारविरुद्ध अख्तियारमा मुद्दा परेपछि काम अगाडि बढ्न सकेको थिएन। गत वर्ष मात्र मुद्दा टुङ्गिएको हो। साइड इन्चार्ज न्यौपानेले काम सम्पन्न भएको पत्र आएपछि बजेट परेको जानकारी दिनुभयो।

सघन सहरी तथा भवन निर्माण आयोजना, मन्थलीका अनुसार पहिलो चरणमा भवन संरचना निर्माणको मात्र ठेक्का भएको थियो। यसको २०७० साल माघ २० गते श्री रौताहा ओमबुद्ध सुन्दरी माई जेभीसँग निर्माण सम्झौता भएको थियो। दुई करोड ५४ लाख २३ हजार रुपियाँ लागत अनुमान गरिएको भवन एक करोड ६९ लाख २६ हजार रुपियाँमा सम्झौता भई निर्माण अघि बढाइएको थियो। आयआर्जनका लागि सडकपट्टि सटर निर्माण गर्ने व्यवस्था पनि सम्झौतामा समेटिएको छ।

सम्झौताअनुसार २०७३ साल माघ मसान्तभित्र भवन सम्पन्न गर्नुपर्ने थियो। तर भूकम्पलगायतका कारणले २०७६ साल फागुन ३० गतेसम्म म्याद थप गरिएको थियो। त्यसपछि कोरोना महामारीका कारण पनि काम सम्पन्न हुन सकेन। संरचनासम्बन्धी काम भने गत असार मसान्तमा सम्पन्न भएको थियो।

दोलखा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष रामेश्वर मानन्धरका अनुसार विसं २०६९ सालतिर सदरमुकाममा अत्यन्त आवश्यक सभा हल निर्माण गर्ने सोच बनाइएको थियो। सहरी विकास तथा भवन विभागको ५० प्रतिशत तथा तत्कालीन जिविस, नगरपालिका र दोलखा उद्योग वाणिज्य सङ्घको ५० प्रतिशत साझेदारीमा सभा हल बनाउने सहमति भएको थियो। पछि अन्य निकायबाट बजेट सुनिश्चित नभएपछि भवन विभागले एकल रूपमा निर्माण सुरु गरेको हो। अहिले पनि सदरमुकाममा सभा हलको टड्कारो आवश्यकता यथावत रहेको स्थानीयको भनाइ छ।