• १२ साउन २०८१, शनिबार

विश्वास र अविश्वासको प्रक्रियाबाट राजनीति अघि बढ्यो

blog

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोककुमार राई प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गर्नुभएको विश्वासको मतको बारेमा बोल्नुहुँदै ।

काठमाडौँ, असार २८ गते । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोककुमार राईले विश्वास र अविश्वासको प्रक्रियाबाट राजनीति अघि बढिरहेको बताउनुभएको छ ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गर्नुभएको विश्वासको मतको बारेमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले छिटोछिटो विश्वास अविश्वासमा परिणत हुने र अविश्वास विश्वासमा परिणत भइरहेको बताउनुभयो । उहाँले विश्वास र अविश्वासको प्रक्रियाबाट शासन व्यवस्था र सरकार गुज्रिरहेको जानकारी दिनुभयो ।

यसबाट कोही पनि निराश हुनुनपर्ने बताउनुहुँदै उहाँले पख्लास् र चाख्लास् काे विषयवस्तु बनाउन नहुने जिकिर गर्नुभयो  ।

अध्यक्ष राईले भन्नुभयो, ‘‘विश्वास अविश्वासमा परिणत हुन्छ, अविश्वास विश्वासमा परिणत हुन्छ र त्यो छिटोछिटो हुने गरेको छ । त्यसो भएको हुनाले यो विश्वास र अविश्वासको प्रक्रियाबाट हाम्रो शासन व्यवस्था र सरकार गुज्रिरहेको छ । यसबाट कोही पनि निराश हुनुपर्दैन । यसलाई पख्लास् र चाख्लास् काे विषयवस्तु पनि बनाउन मिल्दैन । यो स्वाभाविक संसदीय प्रक्रिया हो । यसलाई स्वभाविक रुपमा नै हामीले ग्रहण गरौँ । आत्मसात् गरौँ । अभ्यास पनि गर्दै आएका छौँ ।’’

अध्यक्ष राईले जनता समाजवादी पार्टीले दुई ठुला दलहरु मिलेर जाने कुरालाई समर्थन गरेको बताउनुभयो ।