• १२ साउन २०८१, शनिबार

गाजा सहरस्थित राष्ट्रसङ्घीय निकायको भवनमा इजरायली आक्रमण

blog

गाजा, असार २६ गते । चिकित्सा स्रोत र सेनाका अनुसार इजरायली सेनाले बुधबार गाजामा थप घातक आक्रमण गरेको छ । ‘आक्रमण संयुक्त राष्ट्रसङ्घीय निकाय भवन भित्र सञ्चालनमा रहेको हमास लडाकुहरूको केन्द्रलाई लक्षित गरी’ भएको इजरायली सेनाले जानकारी गराएको छ । सेनाले मङ्गलबारको आक्रमणको थप समीक्षा गरिरहेको पनि बताएको छ ।

आक्रमणमा दक्षिणी खान युनिस क्षेत्र नजिकैको विद्यालयमा कम्तीमा २९ जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । विद्यालय भवनमा विगत चार दिनमा यो चौथो आक्रमण हो ।

बुधबार बिहान मध्य सहर नुसिरातको एउटा घरमा भएको बम विस्फोटमा चार जनाको मृत्यु हुनुका साथै एक जना गम्भीर घाइते भएको अस्पताल स्रोतले जनाएको छ ।

यसैगरी खान युनूस नजिकैको बानी सुहैलाको घरमा भएको अर्को आक्रमणमा दुई जनाको मृत्यु भएको र छ जना घाइते भएको अस्पताल स्रोतले जनाएको छ ।

इजरायलले युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा दसौँ हजार मानिसहरूलाई खाली गर्ने आदेश जारी गरेपछि गाजा सहर र दक्षिणी गाजामा हवाई तथा स्थल आक्रमणहरू बढाएको छ ।

अक्टोबर ७ मा हमासको आक्रमणपछि जारी युद्धविरामबारे इजरायली अधिकारीले बुधबार कतारमा वार्ता सुरु गरेपछि सैन्य आक्रमण बढेको हो ।

इजरायली सेनाले गाजामा एक रातको आक्रमणले प्यालेस्टिनीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय (युएनआरडब्लुए) को मुख्यालय भित्रबाट सञ्चालित हमास र इस्लामिक जिहादलाई लक्षित गरेको बताएको छ ।

संयुक्त राष्ट्रसङ्घीय निकायको अक्टोबरदेखि भवनमाथि नियन्त्रण छैन । इजरायली सेनाले फेब्रुअरीमा मुख्यालयमुनि हमासको एउटा सुरङ फेला पारेको बताएको थियो ।

सेनाले आतङ्कवादी लकाकुहरूले युएनआरडब्लुएको मुख्यालयभित्र काम गरिरहेको र यसलाई मध्य गाजा पट्टीमा आईडीएफ (इजरायली रक्षा बल) का सैनिकहरूमाथि आक्रमण गर्न आधारको रूपमा प्रयोग गरिरहेको दाबी गरेको छ ।

युएनआरडब्लुएले आक्रमणको तत्काल कुनै टिप्पणी नगरेता पनि यसको सुविधाहरू हमास र यसका सहयोगीहरूले प्रयोग गरिरहेको दाबीलाई प्रमाणित गर्ने कुनै तथ्य नभएको उल्लेख गरेको छ ।

इजरायली तथ्याङ्कअनुसार अक्टोबर ७ मा भएको आक्रमणमा एक हजार २०० जनाको मृत्यु भएको थियो भने मारिनेमा अधिकांश सर्वसाधारण थिए भने हमासलगायतका अतिवादी प्यालेष्टिनी समूहका लडाकुले दुई सय ५१ जनालाई बन्धक बनाएका थिए ।

हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जारी गरेको तथ्याङ्कअनुसार बदलामा इजरायली सैन्य आक्रमणले गाजामा कम्तीमा ३८ हजार २४३ जनाको ज्यान लिएको र अधिकांश नागरिक रहेको जनाएको छ । रासस/एएफपी