गुणबहादुर रोका
सुलीकोट, असार २४ गते । गोरखाको भीमसेन थापा गाउँपालिकाले सामूहिक दुर्घटना बिमा कार्यक्रम सञ्चालनमा ल्याएको छ । पालिकाको चालु आर्थिक वर्ष २०८०-२०८१ मा पालिका भित्रका सम्पूर्ण नागरीहरूको सामूहिक दुर्घटना बिमा कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
नेपालमा हरेक १० वर्षमा जनसङ्ख्याको जनगणना गरी तथ्याङ्क निकाल्ने गरेको छ । सोही अनुसार २०७८ को जनगणनाको तथ्याङ्क अनुसार भीमसेन थापा गाउँपालिकामा जम्मा १६ हजार ९ सय ८६ जनसङ्ख्या रहेको छ ।
कुनै पनि कारणले दुर्घटना भई उपचारको अभावमा मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यका साथ गाउँपालिकाभित्र रहेका सबै नागरिकहरूको सामूहिक दुर्घटना बिमा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले दुर्घटना बिमा कार्यक्रम अन्तर्गत प्रति व्यक्ति प्रिमियम रु ७१ रुपियाँ राष्ट्रिय कम्पनी लिमिटेडलाई भीमसेन थापा गाउँपालिकाले भुक्तानी गर्दै आएको उहाँले बताउनुभयो ।
भीमसेन थापा गाउँपालिकाले आफ्नै मापदण्ड बनाएर गाउँपालिकाभित्र स्थायी बसोबास गरिरहेका नागरीहरूलाई मात्र ५० हजार बिमाङ्कन बराबरको बिमा सुविधा प्रदान गर्दै आएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका भित्रका नागरिकहरू दुर्घटनामा परेमा १० हजार बराबरको रकम ब्यार्होने छ भने दुर्घटना भई मृत्यु भएमा मृतकको परिवारले रु ५० हजार रुपैयाँ नगद प्राप्त गर्ने प्रमुख प्रशासकीय अधिकृत अधिकारीकारीले बताउनुभयो ।
दुर्घटनामा घाइते भएकाहरूलाई सम्बन्धित अस्पतालको बिलसँगै सिफारिसको आधारमा गाउँपालिकाले राष्ट्रिय कम्पनी लिमिटेडलाई पठाउँछ र सोही आधारमा पालिकाको नाममा रकम आएपछि पालिकाले सम्बन्धित व्यक्तिलाई भुक्तानी गर्दै आएको गाउँपालिकाले जनाएको छ । यस कार्यक्रमबाट १८ जनाले लाभ लिएका छन् ।
यस कार्यक्रमले भीमसेन थापा गाउँपालिका बासिन्दाहरूलाई निकै राहत मिलेको भीमसेन थापा गाउँपालिका-४ का स्थानीय कृष्ण कुमार श्रेष्ठको भनाइ छ ।