• १२ साउन २०८१, शनिबार

सार्कका महासचिव सरवरको भुटान भ्रमण

blog

भुटानका नरेश जिग्मे खेसर नाम्गेल वाङचुकसँग शिष्टाचार भेट गर्नुहुँदै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव गोलाम सरवार ।

काठमाडौँ, असार २३ गते । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव राजदूत गुलाम सरवारको भुटान भ्रमण सम्पन्न भएको छ ।

भ्रमणका क्रममा सार्क महासचिव सरवारले भुटानका नरेश जिग्मे खसेर नाम्गेल वाङचुकसँग शिष्टाचार भेट गर्नुभएको छ । साथै उहाँले उच्च पदस्थ व्यक्तिहरुसँग अन्तरक्रिया समेत गर्नुभएको  सार्क सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

भेटमा राजदूत सरवरले सार्कका चलिरहेका गतिविधि र त्यसको आगामी कार्यदिशाबारे भुटानी राजालाई अवगत गराउनुभएको थियो । सार्कको नयाँ महासचिवमा राजदूत सरवरको भूमिकाको प्रशंसा गर्नुहुँदै भुटानी राजाले सार्क प्रक्रियामा पूर्ण सहयोग गर्ने आश्वासन दिनुभयो । 

त्यस अवसरमा उहाँहरुबिच सार्क क्षेत्रका जनताको बृहत्तर समृद्धिका लागि गरिएको परिकल्पनालाई साकार बनाउन र उद्देश्य प्राप्तिका दिशामा सार्कलाई अघि बढाउने बारेमा विचार आदानप्रदान गर्नुभएको सचिवालयले जनाएको छ ।

यही असार १८ देखि २२ गतेसम्म गर्नुभएको भुटान भ्रमणका क्रममा महासचिव सरवारले सार्क विकास कोष (एसडिएफ) को सचिवालयको अवलोकन गरी सार्कका आठ वटै सदस्य राष्ट्रमा एसडिएफका आयोजनामा आधारित गतिविधिका बारेमा पनि छलफल गर्नुभएको सचिवालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।