• १२ साउन २०८१, शनिबार

फ्रान्समा अन्तिम चरणको निर्वाचनका लागि आइतबार मतदान

blog

फ्रान्समा आइतबार दोस्रो चरणको निर्वाचनका लागि भएको मतदान ।

पेरिस, असार २३ गते । फ्रान्समा आइतबार दोस्रो चरणको निर्वाचनका लागि मतदान भएको छ । निर्वाचनले संसदमा अति दक्षिणपन्थी शक्तिलाई प्रमुख शक्तिका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।

राष्ट्रपति इमानुएल म्याक्रोँले युरोपेली संसद्को गत जुनमा भएको मतदानमा आफ्नो शक्ति पराजित भएपछि तीन वर्ष अगावै मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको थियो ।

अति दक्षिणपन्थी नेतृ मारिन ले पेनको नेशनल र्‍याली (आरएन) जुन ३० को पहिलो चरणमा शीर्ष स्थानमा रहेको र आइतबारको प्रतिस्पर्धामा यो उपलब्धि दोहोर्‍याउने क्रममा छ ।

पेरिसमा ओलम्पिक आयोजना हुनुभन्दा केही हप्ताअघि मात्रै आरएन पार्टीका २८ वर्षीय नेता जोर्डन बर्डेलालाई प्रधानमन्त्री नियुक्त गर्न म्याक्रोँलाई बाध्य पार्ने गरी आरएनलाई पूर्ण बहुमत प्राप्त हुन सक्दैन ।

विशाल युरोपेली एकता र आप्रवासन विरोधी दस्तासहितको त्रिशङ्कु संसद्ले फ्रान्सको अन्तर्राष्ट्रिय प्रतिष्ठालाई कमजोर पार्न सक्छ र युक्रेनमा रुसको आक्रमणको सामना गरिरहेको पश्चिमी एकतालाई खतरामा पार्न सक्छ ।

गत हप्ता आरएनलाई पूर्ण बहुमत प्राप्त हुनबाट रोक्ने प्रयासका लागि केन्द्र र वामपन्थी उम्मेदवारहरूबिच २०० भन्दा बढी रणनीतिक मतदान सम्झौताहरू भएका थिए ।

सन् २००२ को राष्ट्रपतीय चुनावमा मरिन ले पेनका पिता ज्याँ मेरीले ज्याक शिराकको सामना गर्दा पहिलो पटक आह्वान गरिएको ‘रिपब्लिकन फ्रन्ट’ को पुनरागमनको रूपमा यसलाई हेरिएको छ ।

यी सम्झौतापछि जनमत सर्वेक्षणले ५७७ सदस्यीय राष्ट्रिय सभामा पूर्ण बहुमतका लागि आवश्यक पर्ने २८९ सिटमध्ये आरएन निकै कम हुने अनुमान गरेका छन् ।

‘विनाशकारी’

यस्तो परिणामले म्याक्रोँलाई सम्भवतः आरएनविरुद्ध व्यापक गठबन्धन निर्माण गर्न र ग्याब्रियल अट्टललाई कार्यवाहक आधारमा प्रधानमन्त्रीको रूपमा राख्न अनुमति दिन सक्छ ।

तर जुलाई २६ देखि ओलम्पिक आयोजना गर्ने तयारीमा रहेको फ्रान्समा यसले लामो समयसम्म अस्तव्यस्त बनेको राजनीतिलाई सही दिशा दिने कामको सुरुवात पनि गर्न सक्छ ।

“आज खतरा चरम दक्षिणपन्थीहरूको बाहुल्यता रहेको बहुमत हो र यो विनाशकारी हुनेछ,” अट्टलले शुक्रबार फ्रान्सेली टेलिभिजनलाई दिएको चुनावपूर्वको पछिल्लो अन्तर्वार्तामा भन्नुभयो ।

आरएनले संसदमा आफ्नो उपस्थिति दोब्बर बनाउने र उहाँको मध्यमार्गी सांसदहरूको सङ्ख्या आधा हुने यो अवस्थामा म्याक्रोँले किन चुनावको घोषणा गर्नुभयो भन्नेमा अधिकांश फ्रान्सेली समुदाय आश्चर्यचकित रहेको छ ।

आफ्नो नाटकीय हाउभाउका लागि चिनिने राष्ट्रपतिले फ्रान्सेली राजनीतिको ‘स्पष्टीकरण’ कार्यान्वयन गर्न चाहेको देखिन्छ । अन्ततः अति दक्षिणपन्थी, मध्य र वामपन्थीका तीन स्पष्ट शिविरहरू छोड्नेछन् भन्नेमा उहाँ आशावादी देखिनुहुन्छ ।

दुई सङ्गठनले शुक्रबार सार्वजनिक गरेको अन्तिम जनमत सर्वेक्षणले आरएनले १७० देखि २१० सिट, न्यु पपुलर फ्रन्ट (एनएफपी) को व्यापक वामपन्थी गठबन्धनले १४५ देखि १८५ र म्याक्रोँको मध्यमार्गी समूहले ११८ देखि १५० सिट जित्ने अनुमान गरेको छ । रासस/एएफपी