• १२ साउन २०८१, शनिबार

काश्मीरमा भएको गोली हानाहानमा आठ जनाको मृत्यु

blog

नयाँदिल्ली, असार २३ गते । भारत प्रशासित काश्मीरमा भएको गोली हानाहानको दुईवटा छुट्टै घटनामा दुई जना सैनिक र छ जना सन्दिग्ध आतङ्कवादी मारिएको प्रहरीले आइतबार जनाएको छ । 

काश्मीरका प्रहरी महानिरीक्षक विधिकुमार बिर्दीले विवादित क्षेत्रका अधिकारीहरूले कुलगाम जिल्लाका गाउँहरूमा ‘दुई छुट्टाछुट्टै सुरक्षा कारबाही’ गरिएको बताउनुभयो ।

बिर्दीले सुरक्षा बलका दुई सदस्य मारिएका र मोडेरग्राम र फ्रिसल चिन्निगाम गाउँहरूमा झडप जारी रहेको बताउनुभयो ।  “हामीले मोडेरग्रामबाट दुई आतङ्ककारी र फ्रिसल चिन्निगामबाट अन्य चार आतङ्ककारीको शव बरामद गरेका छौँ,” बिर्दीले भन्नुभयो ।

विवादित क्षेत्रमा आक्रमणको यो पछिल्लो घटना हो । भारत र पाकिस्तान दुवैले मुस्लिम बहुल काश्मीरलाई पूर्ण रूपमा आफ्नो क्षेत्र दाबी गर्छन् र यसको नियन्त्रणका लागि तीन वटा युद्ध लडेका छन् ।

विद्रोही समूहले यस क्षेत्रको स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै सन् १९८९ देखि विद्रोह गर्दै आएका छन् । द्वन्द्वले दशौँ हजार नागरिक, सैनिक र विद्रोहीहरूको ज्यान लिएको छ । रासस/एएफपी