• १९ असोज २०८१, शनिबार

पहिरोले दुई घर पुरिए, तीन जोखिममा

blog

पाल्पाको पहिरो। तस्बिर : रेखीराम राना

रेखीराम राना

तानसेन, असार २२ गते। अविरल वर्षाले पाल्पामा दुई घर पहिरोले पुरिएका छन् भने तीन घर पहिरोको जोखिममा छन्। शुक्रबार बेलुकीदेखि परेको वर्षाले जिल्लाको बगनासकाली–६, यम्घास्थित टारीमा दुई घर पहिरोले पुरिएको प्रहरीले जनाएको छ।  

यम्घा टारीका उषा सुनार र रेशम सुनारको घर माथिबाट आएको पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो। पहिरोले घर पुरिँदा घरभित्रका सामान, लत्ताकपडा, अन्नपात सबै नष्ट भएको छ। 

यस्तै रिब्दीकोट–३, स्थित सूर्यप्रसाद नेपालको घरमाथिबाट खसेको पहिरोले घर जोखिममा परेको छ। यस्तै तानसेन-१४ अर्गलीमा मीनबहादुर कुवरको घरछेउबाट पहिरो जाँदा घर जोखिममा परेको प्रहरीले जनाएको छ। 

यस्तै अर्गलीकै मिलन थापाको घरआँगनबाट पहिरो खस्दा पहिराको जोखिममा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रनाउ श्रेष्ठले जानकारी दिनुभयो। यस्तै पहिरोले रामपुरमा पनि एक परिवारको गोठ पुरिँदा चार वटा पशुचौपायाको मृत्यु भएको छ।