• १९ असोज २०८१, शनिबार

तारकेश्वर सिटी हस्पिटल सञ्चालनमा

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन । तस्बिर : गोरखापत्र

काठमाडौं, असोज १९ गते । काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका वडा नं. ४ सानो पुलमा रहेको ‘तारकेश्वर सिटी हस्पिटल’ शनिबारबाट सञ्चालनमा आएको छ । 

२४ घण्टा नै चिकित्सा सेवा दिने उद्देश्यले आधुनिक सेवा सुविधासहित स्थापना भएको अस्पतालमा शल्यक्रिया कक्षसमेतको सुविधा छ । हाल १५ शय्या रहेको अस्पतालले नाफामूलकभन्दा सेवामूलक ढङ्गले सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । 

तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले एक समारोहबिच अस्पतालको उद्घाटन गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘अस्पताल उद्घाटन मात्र होइन चुस्त, दुरुस्तरुपमा कालान्तरसम्म व्यवस्थापन होस र  समयमै बिरामीले उपचार पाऊन् । आधुनिक युगका भगवान भनेर डाक्टरलाई भनिन्छ, चिकित्सकको असल व्यवहारले बिरामीको आधा रोग निको हुन्छ ।’’

उहाँले तारकेश्वर नगरपालिकाले आफ्नै अस्पताल निर्माण गर्ने तयारी गरिरहेको जानकारी दिँदै यस अस्पतालमा सरसफाइदेखि औषधिको व्यवस्थापनमा राम्रो ध्यान दिन सञ्चालकहरुसँग आग्रह गर्नुभयो । 

नगरपालिकाका उपप्रमुख सिर्जना बुर्लाकोटीले ठूला अस्पतालले पत्ता लगाउन नसकेको आफ्नो रोगको पहिचान यस अस्पतालका चिकित्सकले आयोजना गरेको स्वास्थ्य शिविरमा लागेको सुनाउनु भयो । 

उहाँले भन्नुभयो, ‘‘मैले ग्रान्डी इन्टरनेसल हस्पिटलदेखि अन्य अस्पतालमा पनि जचाएँ, हरेकले भिन्न भिन्न सुझाव र औषधि सिफारिस गरे, अन्त्यमा यही अस्पतालका चिकित्सकको टोलीले तारकेश्वरमै आयोजना गरेको शिविरमा मलाई जबर्जस्ती परीक्षण गर्न लगाइयाे नभन्दै रोगको पहिचान पनि भयो र हेम्स हस्पिटलमा शल्यक्रिया गरेर २१ दिनपछि आज म यहाँ आएकी छु ।’’

राम्रो डाक्टरको हातमा बिरामी पर्‍यो भने बिरामी बाँच्न सक्छ भन्दै उहाँले दुर्घटनामा परेका मानिसको तत्काल उपचार होस र यहाँका नागरिकले राम्रो सेवा सुविधा पाऊन भन्नुभयो । 

अस्पतालका अध्यक्ष डा. ऋषिकुमार कार्कीले बिगत १५ वर्षदेखि विभिन्न १६–१७ वटा अस्पतालमा काम गरेको अनुभव सुनाउँदै नजिकको अस्पतालमा समयमै उपचार पायो भने ९० प्रतिशत बिरामी बाँच्छन् भन्नुभयो । 

डा. कार्कीले चक्रपथ क्षेत्रमा रहेका अस्पतालमा पाउने सुविधा यही अस्पतालले दिन्छ, महँगो पनि पर्दैन र पैसाको अभावले उपचार नहुने अवस्था पनि नआउने दाबी गर्नुभयो । 


प्राइभेट हस्पिटल एसोएिसनका अध्यक्ष डा. पदम खड्काले यस्ता अस्पतालसँग सहकार्य गर्न नगरपालिकासँग आग्रह गर्दै चिकित्सा क्षेत्र नाफा कमाउने व्यवसाय नभई सेवामूलक साझा सम्पत्ति हो, यसलाई सबैले संरक्षण गर्नुपर्छ भन्नुभयो । 

वडा नं. ४ का अध्यक्ष नरेन्द्रदास श्रेष्ठले आफ्नै वडामा २४ घण्टा नै सेवा दिने गरी अस्पताल सञ्चालनमा आएकोमा खुसी प्रकट गर्नुभयो । 

अस्पतालका सल्लाहकार धनलाल महर्जनले ज्येष्ठ नागरिक, अशक्तले पहिलो प्राथमिकता पाउने तथा गरिब, निमुखा सबैले सेवा लिन सक्ने जानकारी दिँदै असाह्य बिरामीलाई आफ्नो व्यक्तिगततर्फबाट पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

अस्पतालको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अस्पतालका सञ्चालक विवेककुमार धितालले निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य परीक्षणमा विशेष छुट दिएर स्थानीयबासीको सेवा गर्ने अठोट लिएको सुनाउनु भयो । सञ्चालक श्यामकृष्ण फुयालले अस्पतालले दिने सेवा सुविधाका बारेमा चर्चा गर्नुभएको थियो ।