• १९ असोज २०८१, शनिबार

जोखिमपूर्ण बन्दै दाउन्नेको सडक

blog

बर्दघाट नगरपालिका –४ मा पर्ने दाउन्ने खुर्सानी खोलाको सडकमा रात्रीबस । तस्विरः बोमलाल गिरी

बोमलाल गिरी

नवलपुर, असोज १९ गते । दसैँ–तिहारको मुखैमा पटक–पटक सडक भासिएपछि पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट–बुटवल सडक खण्ड निकै अनिश्चित र कष्टकर बनिरहेको छ । 

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका –४ मा पर्ने दाउन्ने खुर्सानी खोलाको सडक चार दिनअघि भासिएको थियो । एक दिन एक रात पूर्ण रूपमा सवारी आवागमन बन्द गरेर मर्मत गरिएको सडक शुक्रबार रातिदेखि पुनः भासिएर अवरुद्ध बनेको हो । 

हिजो रातिदेखि २० फिट लम्बाई र पाँच फिट गहिराइमा सडक भासिएर अवरुद्ध भएको सडक रातभरी मर्मत गरेर बिहानदेखि एकतर्फी सञ्चालन गरिए पनि सडक अनिश्चित बनेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक रेशम बोहोराले बताउनुभयो ।

‘जहाँ भासिन्छ त्यही मर्मत गरेर एकतर्फी सञ्चालन गरिएको छ, तर सडक भासिनेक्रम नरोकिएकाले पूर्ण रूपमा सञ्चालनमा ल्याउन समस्या भइरहेको छ’, प्रहरी नायव उपरीक्षक बोहोराले भन्नुभयो, ‘एकैछिन खुल्छ, फेरि उतिबेलै भासिएर पूर्ण रूपमा अवरुद्ध हुन्छ ।’ 

माटोको बेस भएकाले सडकको बेस बलियो नभएको उहाँको भनाइ छ । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले निरन्तर सडक भासिइरहँदा पनि डाइभर्सन गर्ने ठाउँ नभएकाले समस्या भएको बताउनुभयो । सडकको अनुगमनका लागि घटनास्थलमै रहनु भएका प्रजिअ श्रेष्ठले भन्नुभयो, ‘अहिले बाटो एकतर्फी सञ्चालन भएको छ, तर डाइभर्सन गर्ने ठाउँ पनि छैन, जतिबेला जे पनि हुन सक्छ ।’ 

उहाँले यो बाटोका कारण धेरै यात्रुले दुःख पाएको बताउँदै भन्नुभयो, ‘बाटोको अवस्था ठिक छैन, दुःख कष्ट सहन सक्नेले यात्रा गर्दा हुन्छ, सहन नसक्नेले यात्रा नगर्दा नै ठिक हुन्छ ।’ 


प्रहरी नायव उपरीक्षक बोहोराले पनि दसैँ तिहारमा यात्रुको चाप बढी हुने भएकाले पनि थप समस्या पर्ने गरेको बताउनुभयो । ‘चाडपर्वको मुखैमा यात्रा नगर्नुस् भन्न पनि गाह्रो छ, बोहोराले भन्नुभयो, ‘सडकको हालत हेर्दा सुखले यात्रा गर्न सकिने अवस्था छैन ।’

भासिएको सडक मर्मतका लागि सडक विभाग र चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन प्रालिको टोली खटिइरहेको छ । असोज ११ र १२ गते परेको निरन्तरको वर्षापछि असोज १४ गते यही सडक भासिए पनि होङ्सी सिमेन्टमा जाने एकसय ३२ केभी प्रसारण लाइनको टावर भत्किदा नेपाल विद्युत प्राधिकरणलाई ठुलो क्षति पुगेको थियो ।