• १९ असोज २०८१, शनिबार

मन्थली–काठमाडौँ जोड्ने छोटो बाटो खुलाउने तयारी

blog

रामेछापको खाँडादेवी गाउँपालिका –३ सित्खा पुल ।

नवराज श्रेष्ठ

रामेछाप, असोज १९ गते । रामेछाप सदरमुकामबाट काठमाडौँ जाने अर्को छोटो वैकल्पिक मन्थली–सित्खा–तीमाल–भकुण्डेबेसी–काठमाडौँ सडक खुलाउने तयारी भइरहेको छ । 

जिल्ला सदरमुकाम मन्थलीबाट खाँडादेवी गाउँपालिकाको–३ सित्खाबजार निस्केर मध्यपहाडी लोकमार्ग हुँदै काभ्रेको तिमाल गाउँपालिकाको तिमालडाँडा हुँदै भकुण्डेबेसी निस्कने सडक खोल्ने तयारी गरिएको हो । 

यो बाटो रामेछापको सित्खा बजारबाट लुभुघाट हुँदै मध्यपहाडी लोकमार्गमार्फत रामेछापको सुनापति गाउँपालिका र काभ्रेको सिमानामा पर्ने सिन्धुरेटार पक्की पुल पार गरी तीमाल डाँडा हुँदै भकुण्डेबेसी निस्कन्छ । 

यो सडक खुलेमा मन्थली–चरिकोट–खाडीचौर पुष्पलाल सडकमार्फत लामो दूरी पार गरी काठमाडौँ आवत–जावत गरिरहेका रामेछापवासीलाई ठुलो राहत पुग्नेछ । यो सडक खुलेपछि मन्थलीबाट काभ्रेको भकुण्डेबेसी निस्कन ७०–७५ किलोमिटर सडक पार गर्नुपर्ने रामेछापको खाँडादेवी गाउँपालिका –३ भिरपानीका वडा सदस्य राजेश कार्कीले बताउनुभयो । 

यो सडक आइतबारदेखि खुलाउने गरी काम भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्थली–सित्खा–तीमाल–भकुण्डेबेसी–काठमाडौँ सडक खुलाउने काम भइरहेको छ । अहिले मध्यपहाडी लोकमार्गमा खसेको पहिरो पन्छाउने काम जारी छ । दुई ठाउँमा ठुलो पहिरो खसेकोमा अब एक ठाउँको मात्र पहिरो पन्छाउन बाँकी छ । भोलिदेखि यो बाटो खुलाउने लागिपरेका छौँ ।”

उहाँका अनुसार यो बाटो खुलेपछि मन्थलीबाट सित्खा ३४ किलोमिटर, सित्खाबाट लुभुघाट–८ किलोमिटर, लुभुघाटबाट सिन्धुरेटार ५ किलोमिटर, सिन्धुरेटारबाट काभ्रेको तीमालडाँडा १२ किलोमिटर र तिमालडाँडाबाट भकुण्डेबेसीबजार १४ किलोमिटर गरी मन्थलीबाट ७३ किलोमिटर सडक पार गरेपछि काभ्रेको भकुण्डेबेसी बजार पुगिनेछ ।  

रामेछापको मन्थलीलाई राष्ट्रिय राजमार्ग बिपी राजमार्गसँग जोड्ने खुर्काेटको पुल सुनकोशीले बगाएपछि अहिले रामेछापवासी –११ घण्टाको लामो काठमाडौँ–खाडीचौर–चरिकोट–मन्थली पुष्पलाल सडकमार्फत काठमाडौँ आवत–जावत गरिरहेका छन् ।