• १९ असोज २०८१, शनिबार

धान बालीमा सेतो पुतलीको प्रकोप

blog

सेतो पुतलीको प्रकोपले पहेंलो भएको धानबाली । तस्विरः इमानसिं राना

इमानसिं राना

रामपुर (पाल्पा), असोज १९ गते । पाल्पामा धान बालीमा सेतो पुतलीको प्रकोप देखिएको छ । सेतो पुतलीका कारण धानको पात पहेँलो हुने र सुक्ने समस्या देखिएको हो ।

जिल्लाको अन्य स्थानमा आंशिक समस्या देखिए पनि रामपुर नगरपालिकामा प्रकोप देखिएको हो । मुख्य खाद्यान्न बाली धानमा प्रकोप देखिएपछि किसानहरू चिन्तित भएका छन् । प्रकोप देखिएपछि उत्पादन घट्ने होकि चिन्ता थपिएको कृषकहरूले बताएका छन् ।

धान पसाउने समयमा पंहेलो हुने र सुक्ने समस्या देखिएकाले उत्पादन घट्ने चिन्ता बढेको रामपुर–८ का कृषक देवीलाल अधिकारीले बताउनुभयो । विजयपुर कृषि सहकारी संस्था रामपुर –६, का अध्यक्ष ओमप्रकाश रेग्मीले बीउ उत्पादनका लागि लगाइएको धानमध्ये सावित्री जातको धानमा समस्या देखिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘कृषकसँग समन्वय गरी सहकारीले विजयपुर र प्याकलुक क्षेत्रको ८ हेक्टरमा सावित्री र सातविसे क्षेत्रको ७ हेक्टरमा हर्दिनाथ –६ बीउका लागि लगाएका थियौँ । हर्दिनाथभन्दा सावित्री जातको धानमा समस्या देखिएको छ ।’ ७ मेट्रिक टन बढी बीउ उत्पादन गर्ने लक्ष्य  लिएकोमा प्रकोप देखिएपछि उत्पादन घट्ने अवस्था आएको बताउनुभयो ।

रामपुर क्षेत्रमा तीन वर्षयता केही स्थानमा समस्या देखिन थाले पनि यस वर्ष ठुलो क्षेत्रमा समस्या देखिएको कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले बताउनुभयो । सावित्री र हाइब्रिड जातका धानमा धेरै प्रकोप देखिएको उहाँले बताउनुभयो । नगरको एक हजार सातसय हेक्टर बढीमा धानखेती लगाइएकोमा  ६ सय हेक्टरभन्दा बढीमा सेतो पुतलीको प्रकोप देखिएको जानकारी दिनुभयो । 

भदौको सुरुवातदेखि वडा नं. ४, ५, ६ र ७ मा प्रकोप बढी देखिएको उहाँले बताउनुभयो । प्रकोप देखिन थालेपछि नगरपालिकाले व्यवस्थापनका लागि अभियान नै चलाएको थियो । धान खेतमा पुगेर किसानलाई प्रशिक्षण र व्यवस्थापन विधिसँगै उपचारका लागि औषधी पनि प्रदान गरिएको शाखा प्रमुख गैरेले बताउनुभयो । “सुरुमा समस्या देखिनसाथ उपचार गरिएको धानमा प्रकोपको समस्या निराकरण भएको छ । धेरै समस्या देखिएका स्थानमा पनि क्रमिक सुधार हुँदै गएको छ” उहाँले भन्नुभयो ।

कृषि ज्ञान केन्द्र पाल्पाका निमित्त प्रमुख सन्तोषकुमार चौधरीले जिल्लाको अन्य क्षेत्रको तुलनामा रामपुर क्षेत्रमा बढी प्रकोप देखिएपछि निर्देशनालयलाई जानकारी गराएर आवश्यक राय लिई स्थानीय तहमा समन्वय गरी उपचार गरिएको बताउनुभयो । रामपुरसँगै जिल्लाको माथागढी, तिनाउलगायत अन्य स्थानमा प्रकोप देखिएको र उपचार पश्चात् क्रमिक रूपमा सुधार भएको बताउनुभयो ।