• १९ असोज २०८१, शनिबार

बाँकेको डुडुवा १ का सय परिवारलाई सुरक्षित स्थानमा सारियो

blog

राप्ती नदीको बाढी । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असार २२ गते। अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढी बाँकेका गाउँ बस्तीमा पस्न थालेपछि जोखिम क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको छ। 

राप्ती नदीको पानीले खतराको बिन्दु पार गरेर धेरै माथि बग्न थालेपछि बाँकेको डुडुवा १ का गाउँ डुबानमा पर्ने निश्चित भएकोले राप्ती नदी तटीय क्षेत्रका तीन गाउँबाट सय परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेले जनाएको छ। 

राप्ती नदीमा ठुलो बाढी आउने देखिएपछि हरेक वर्ष डुबानमा पर्ने गरेका डुडुवा १ कृषि चौफेरी, बार्डर चौफेरी र पाँझा गाउँका जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो। तीन गाउँका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो। 

उता, कृषि चौफेरीका स्थानीय राम यादवले राप्तीको बाढी गाउँमा आउन थालेको जनाउँदै सबै स्थानीय सुरक्षित स्थानतर्फ आउन थालेको बताउनुभयो। गाउँका सबै स्थानीयलाई नजिकैको आश्रयस्थलमा पुर्‍याउने काम गरिएको र बाँकी रहेकालाई पनि ल्याउने काम भइरहेको बताउनुभयो। 

यसैबिच नदीको बाढीले गर्दा कुसुममा रहेका गाउँ डुब्न थालेका छन्। राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ अन्तर्गत गर्ने कुसुमस्थित बाघखोर गाउँमा बाढी पसेपछि सो गाउँको धेरै घर डुबानमा परेको स्थानीयले जनाएका छन्। 

बाढी गाउँमा पस्दा स्थानीय खुमलाल रावत, शालिकराम भण्डारी, राजकुमार रावत, गर्भे बिक, रमेश भण्डारी, धर्मबहादुर ओली, चोपा ओली, रोवर ओलीका घर डुबानमा परेका छन्। 

बाँकेको कुसुमस्थित बाढी मापन केन्द्रमा शनिबार अपराह्न ५ बजेको रेकर्ड अनुसार राप्ती नदीमा पानीको सतह ७ मिटर ९५ सेन्टिमिटर पुगेको छ। 

पानीको सतहले खतराको बिन्दु पार गरेकोले अब ५ घण्टामा बाढी राप्तीसोनारी, डुडुवा र नरैनापुरका गाउँमा पुग्ने र त्यहाँ धेरै गाउँ डुबानमा पर्ने निश्चित छ। 

यसैबिच बाढी र डुबानको त्रासमा रहेका तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनुभयो। 

उहाँले राप्तीमा पानीको सतह क्रमिक रूपले बढिरहेकोले सम्भावित जोखिममा परेकालाई सुरक्षित स्थानमा सार्नु बाहेक अर्को विकल्प नरहेको बताउनुभयो। 

राप्तीको तल्लो तटीय क्षेत्र राप्ती सोनारीको फत्तेपुर, खल्ला झगडिया, नरैनापुरको गङ्गापुर, मटेहिया तथा डुडुवा गाउँपालिकाको कम्दी, बेतहनी, बनकट्टी, होलिया, चौफेरी, पाँझा लगायतका गाउँहरूमा बाढी पस्ने भएकोले सो क्षेत्रका स्थानीय अति नै त्रासमा देखिएका छन्।