• २४ असार २०८१, सोमबार

संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा विश्वव्यापी एकताको आह्वान

blog

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस

अस्ताना (कजाखस्तान), असार २१ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रसङ्घको महत्त्वपूर्ण साझेदारका रूपमा साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को भूमिकालाई जोड दिँदै कठिन विश्वव्यापी परिस्थितिका बिच विश्वव्यापी एकताका लागि आग्रह गर्नुभएको छ ।

राजधानी अस्तानामा आयोजित एससीओ शिखर सम्मेलनलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले विश्वव्यापी चुनौतिको समाधानका लागि व्यक्तिगत प्रयास भन्दा सामुहिक ऐक्यबद्धताको आवश्यकतामा जोड दिनुभयो ।

“यी विश्वव्यापी चुनौतीलाई कुनै पनि राष्ट्रको एकल पहलमा समाधान गर्न सकिँदैन,” उहाँले उग्र युद्ध, भूराजनीतिक विभाजन र दण्डहीनताको समस्यातिर औंल्याउँदै भन्नुभयो ।

महासचिवले विश्वव्यापी रूपमा दिगो विकास र मानव अधिकारको उपभोगका लागि शान्तिको वकालत गर्दै संयुक्त राष्ट्रसङ्घको बहुपक्षवादको केन्द्रीय भूमिकालाई उल्लेख गर्नुभयो ।

उहाँले गाजा, युक्रेन र अफगानिस्तान जस्ता द्वन्द्व क्षेत्रमा तत्काल मानवीय युद्धविराम र समावेशी शासनका लागि आग्रह गर्नुभयो ।

जलवायु सङ्कटलाई सम्बोधन गर्दै गुटेर्रेसले महत्त्वाकाङ्क्षी उत्सर्जन कटौती र जलवायु न्यायको आवश्यकतामा जोड दिँदै भन्नुभयो, “जलवायु परिस्थिति बिग्रिँदैछ, यसले पानी र खाद्य सुरक्षालाई खतरा पुर्याइरहेको छ र राजनीतिक अस्थिरतालाई बढावा दिइरहेको छ ।”

उहाँले विकसित देशहरूलाई जलवायु कार्यलाई समर्थन गर्न नवीन वित्तीय संयन्त्रहरू अवलम्बन गर्न आग्रह गर्नुभएको छ ।

प्राविधिक क्षेत्रको अनियमित प्रयोगविरुद्ध चेतावनी दिँदै गुटेर्रेसले दिगो विकासका लागि आर्टिफसियल इन्टेलिजेन्स (एआई) को सम्भावनालाई प्रकाश पार्नुभयो ।

उहाँले एआईसम्बन्धी नीतिहरूलाई आकार दिन समावेशी विश्वव्यापी सहभागिताको आवश्यकतामा जोड दिनुभएको हो । 

विश्वव्यापी शासन संस्थाहरू पुरानो र समकालीन चुनौतीहरूलाई सम्बोधन गर्न अपर्याप्त भएको भन्दै महासचिव गुटेर्रेसले यसको सुधार आवश्यक रहेको बताउनुभयो । उहाँले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई सुधारको प्रस्ताव राख्दै आजको विश्वको वास्तविकतालाई प्रतिबिम्बित गर्ने नयाँ विश्वव्यापी एजेन्डा तयार गर्न वकालत गर्नुभएको छ ।

गुटेरेसले आशावादी हुँदै आगामी सेप्टेम्बरमा हुने ‘फ्युचर’ शिखर सम्मेलनमा विश्व एकताको आह्वान गर्नुभएको छ । “विश्व एकसाथ अगाडि बढ्नका लागि यो एउटा महत्त्वपूर्ण क्षण हो, उहाँले अन्तर्राष्ट्रिय सुधार र सहयोगको सन्दर्भमा महत्त्वपूर्ण छलफलका लागि विश्व नेताहरूलाई न्युयोर्कमा आमन्त्रित गर्दै बताउनुभयो । रासस/एएनआई