• २३ असार २०८१, आइतबार

गाजाको ९० प्रतिशत जनसङ्ख्या विस्थापित : राष्ट्रसङ्घीय अधिकारी

blog

न्युयोर्क, असार २० गते । संयुक्त राष्ट्रसङ्घका अधिकारीले नौ महिनादेखि जारी इजरायली आक्रमण सुरु भएदेखि गाजा पट्टीको ९० जनसङ्ख्या कम्तीमा एक पटक विस्थापित भएको पुष्टि गरेका छन् ।

कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा मानवीय मामिला समन्वयका लागि राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए) का प्रमुख एन्ड्रिया डे डोमेनिकोले गाजामा जनसङ्ख्या २१ लाख रहेको अनुमान गरिएको पत्रकार सम्मेलनमा बताउनुभयो । 

यस समयमा, गाजा पट्टीमा प्रत्येक दसमध्ये नौ जना कम्तीमा एक पटक आन्तरिकरूपमा विस्थापित भएको उहाँले बताउनुभएको छ ।

उहाँले सन् २०२३ अक्टोबरदेखि ३७ हजारले ज्यान गुमाएको जानकारी दिनुभयो । उहाँका अनुसार ११ लाख नागरिकले गाजा पट्टी छाडेको र उत्तरी गाजामा अझै पनि तीन लाखदेखि तीन लाख ५० हजार मानिस दक्षिणमा सर्न नसक्ने अवस्थामा रहेको उहाँले बताउनुभएको छ ।

राष्ट्रसङ्घका अधिकारीले गाजा पट्टीको दक्षिणमा रहेको खान युनुस खाली गर्ने इजरायली कब्जामा रहेका क्षेत्रहरू खाली गर्ने आदेशपछि विगत दुई दिनमा विस्थापित भएका व्यक्तिहरूलाई विस्थापितको सङ्ख्यामा जोडिनु आवश्यक नभएको बताएका छन् । उनीहरूमध्ये प्रायः सबै विस्थापितको गणनामा परिसकेका छन् ।

मध्यपूर्वका लागि प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य निकाय (युएनआरडब्लुए) ले करिब दुई लाख ५० हजार प्यालेस्टिनी खान युनुसबाट फेरि भाग्न बाध्य हुने अनुमान गरेको छ । रासस/क्युएनए