• २३ असार २०८१, आइतबार

साङ्घाई गठबन्धन ‘निष्पक्ष बहुध्रुवीय विश्व व्यवस्थाको एक प्रमुख स्तम्भ’ : रुसी राष्ट्रपति

blog

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन

अस्ताना (कजाखस्तान) असार २० गते । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बुधबार द्विपक्षीय भेटवार्ता भएको छ । उहाँले बुधबार नै टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग पनि भेटवार्ता गर्नुभएको छ ।

रुसी नेता पुटिनले चिनियाँ राष्ट्रपतिसीसँगको छलफलमा साङ्घाई गठबन्धनले ‘निष्पक्ष बहुध्रुवीय विश्व व्यवस्थाको एक प्रमुख स्तम्भ’का रूपमा आफ्नो भूमिकालाई मजबुत बनाइरहेको बताउनुभएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी चिनफिङ बिहीबार मध्य एसियामा हुने क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुनुहुने छ ।

साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) गठबन्धनको आयोजनामा हुने क्षेत्रीय सम्मेलनमा नेताद्वय पुटिन र सीबिच नियमित भेट हुने गरेको छ र यसको पछिल्लो सत्र कजाकिस्तानको राजधानी अस्तानामा भइरहेको छ।

सम्मेलनमा टर्कीएका राष्ट्रपति एर्दोगान पनि सहभागी हुनुहुनेछ । उहाँको देश समूहसँग ‘वार्ता साझेदार’ हो भने अन्य मुलुकमा मध्य एसियाली पूर्व सोभियत राज्यहरू, भारत, चीन, रुस र इरान पूर्ण सदस्य रहेका छन् ।

चीन, भारत, इरान, रुस, कजाखस्तान, किर्गिस्तान, उज्बेकिस्तान, पाकिस्तान र ताजिकिस्तान यसका नौ पूर्ण सदस्य राष्ट्र हुन् । पश्चिमा प्रतिबन्धित इरान पूर्ण सदस्यका रूपमा सामेल भएको एक वर्षपछि युक्रेनमा रुसको युद्धलाई समर्थन गरेको कारण बहिष्कृत भएको बेलारुस बिहीबार १० औँ पूर्ण सदस्य बन्नेछ ।

रुस र चीन दुवैले विश्व मञ्चमा अमेरिकी नेतृत्वको ‘आधिपत्य’ को विरोध गर्दै आएका छन् ।

मस्कोलाई समर्थन गरेको भन्दै पश्चिमा मुलुकबाट आलोचना खेपिरहेका सीले बुधबार पुटिनलाई आफ्नो ‘पुरानो मित्र’लाई फेरि भेट्न पाउँदा खुसी लागेको बताउनुभएको थियो ।

टर्कीएका राष्ट्रपति एर्दोगानले बुधबार पुटिनलाई टर्कीमा निमन्त्रणा गर्दै युक्रेनमा ‘दुवै पक्षलाई सन्तुष्ट पार्न सक्ने निष्पक्ष शान्ति’ का लागि आह्वान गर्नुभएको थियो । उहाँले युद्धरत देशहरूबिच मध्यस्थता गर्ने प्रयास गर्नुभएको छ ।

सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने सहभागी हुनुभएको छैन ।

एससीओको स्थापना सन् २००१ मा भएको थियो तर पछिल्ला वर्षहरूमा यो निकै चर्चामा आएको छ । सङ्गठनले सुरक्षा र अर्थतन्त्रमा ध्यान केन्द्रित गर्दै अमेरिका नेतृत्वको पश्चिमी गठबन्धनसँग प्रतिस्पर्धामा सहयोगका लागि एक प्लेटफर्म हुन अभिप्रेरित गरेको छ ।

बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले कजाखस्तानका सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा गठबन्धनले ‘वैकल्पिक अन्तर्राष्ट्रिय मञ्च, शक्तिका विभिन्न केन्द्र छन् भन्ने कुरा विश्वसामु प्रदर्शन गरेको’ भन्दै सङ्गठनको प्रशंसा गर्नुभएको छ ।

यो गठबन्धनले विश्वको ४० प्रतिशत जनसङ्ख्या र कूल गार्हस्थ्य उत्पादनको करिब ३० प्रतिशत प्रतिनिधित्व गर्ने दाबी गरेको छ तर यो पनि विवादरहित समूह भने बन्न सकेको छैन । यसका कतिपय सदस्यबिच भूगोल र राजनीतिक दृष्टिकोणका कारण आपसी मनमुटाब रहेको देखिन्छ ।

रुस र चीन पश्चिमी प्रभुत्वविरुद्ध एकजुट भएपनि मध्य एसियामा उनीहरू आर्थिक प्रतिस्पर्धी हुन् । यो क्षेत्र तेल र ग्यासमा धनी छ र एसिया र युरोपबिचको महत्त्वपूर्ण यातायात मार्ग पनि हो । चीन र भारत पनि साझा सीमा भएका दुई छिमेकी राष्ट्र हुनुको अलावा आर्थिक विकासको हिसाबबाट विश्वका प्रमुख प्रतिस्पर्धी अर्थतन्त्र हुन् । यी दुई मुलुकबिच बेला बेला सीमा क्षेत्रको विषयलाई लिएर सम्बन्धमा उतारचढाव देखिने गर्छ । रासस/एएफपी