• ८ पुस २०८१, सोमबार

श्रममन्त्री श्रेष्ठ र मलेसियाका गृहमन्त्री जैनुदिनबीच भेटवार्ता

नेपाली सुरक्षागार्डको तलब तीन हजार रिंगेट बनाउन प्रस्ताव

blog

श्रममन्त्री श्रेष्ठ र मलेसियाका गृहमन्त्री जैनुदिनबीच भेटवार्ता हुँदै

काठमाडौं, वैशाख १७ गते  । मलेसियाको भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनुहुन्छ । आज मन्त्री श्रेष्ठले मलेसियाका गृहमन्त्री हमजाह वीन जैनुदिनसँग द्विपक्षीय भेटवार्ता गर्नुभएकाे छ ।

पुत्रजयास्थीत गृहमन्त्रालयमा भएको भेटवार्तामा उहाँहरुबीच नेपाल– मलेसिया सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको छ । मन्त्री श्रेष्ठले मलेसियामा रहेका नेपाली सुरक्षागार्डसहित अन्य श्रमिकको सेवा सुविधा र अधिकारको बिषयमा गृहमन्त्री जैनुदिनसँग छलफल भएको बताउनुभयो ।

श्रेष्ठले नेपाली सुरक्षागार्डको मासिक तलब तीन हजार मलेसियन रिंगेट हुनुपर्ने प्रस्ताव गर्नुभएको छ । नेपाली कामदार मेहनेती र इमान्दार हुने चर्चा गर्नुहुँदै गृहमन्त्री जैनुदिनले गोर्खा गार्ड्सका रूपमा मलेसियामा नेपालीहरूको राम्रो प्रभाव रहेको बताउनुभएको थियो ।

नेपाली युवालाई सीपयुक्त बनाएर थप रोजगारीका अवसरहरू प्रदान गर्ने, शुन्य लागतको सिद्धान्तलाई प्रभावकारी बनाउने, स्वास्थ्य, सामाजिक सुरक्षा, चौबिसै घण्टा प्रभावकारी हुने वीमा सुविधाको व्यवस्थाबारे पनि उहाँहरुबीच छलफल भएको थियो ।

नेपालमा सुरक्षा गार्ड सम्बन्धी तालिमको व्यवस्था गरी सीपयुक्त बनाउनेबारे समेत उहाँहरुबीच छलफल भयो । नेपालबाट सुरक्षागार्डमा जानेहरूमा पूर्वसेना वा पूर्वप्रहरीका साथै आधारभूत तालिम लिएका युवा छन् ।

पूर्वगोर्खा ब्रिटिश सैनिकको प्रभावका कारण मलेसियामा गोर्खा गार्ड्सका रूपमा नेपालीप्रति उच्च सद्भाव रहेकोले समयानुकुल तालिम दिएर व्यावसायिक विकास गर्नेतर्फ ध्यान दिनुपर्ने भेटवार्तामा सहभागि मन्त्रालयका सचिव एकनारायण अर्यालले बताउनुभयो ।

भेटवार्तामा कार्यवाहक राजदूत मोतीबहादुर श्रीस पनि सहभागी हुनुहुन्थ्यो । यसअघि मन्त्री श्रेष्ठले मलेसियाका समकक्षी सेरी एम सराभननसँग गर्नुभएको द्विपक्षीय बैठकमा श्रम सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्ने सहमति भएको थियो ।

साथै, नेपाल र मलेसियाबीच संयुक्त कार्यदलको तेस्रो बैठक छिट्टै  काठमाडौंमा गर्ने सहमति भएको छ । मन्त्री श्रेष्ठको नेतृत्वमा भएको उच्चस्तरीय टोलीले मलेसियास्थित सामाजिक सुरक्षा संस्था (सोस्को) भ्रमण गरेको थियो ।