• १३ पुस २०८१, शनिबार

मधुपर्क अर्को पाठशाला

blog

संयोग म गोरखापत्रमा आइपुगेँ । प्रजातन्त्र पुनस्र्थापनापछि पहिलो निर्वाचित सरकारको पालामा म गोरखापत्र संस्थाको सेवामा प्रवेश पाएको हुँ । संयोग भनूँ कि 

भाग्य ? यी दुवै शब्द मेरो बुझाइमा उस्तै उस्तै हुन् कि भन्ने लाग्छन् । फरक, भाग्य, अज्ञात भरोसामा र संयोग चाहिँ समयसँगको योग वा मिलन हो कि भन्ठान्छु म । 

काठमाडौँ छोडेर गाउँ फर्किनुलाई त्यति बेला मैले राजधानीसँग जोडिएर सजाएको बाँकी इच्छाको मृत्यु बोध गरेको हुँ । तनहुँको गाउँ नरङ्गा, सदरमुकाम दमौली र काठमाडौँ गर्दै झन्डै डेढ वर्षको पेन्डुलम समय बिताएँ । यही बेलाको एक वर्ष दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा मास्टर भएँ । 

काठमाडौँ फर्केर केही गर्ने अधुरो धोको बेला बेला ब्युँझन्थ्यो । खास गरी रातमा लोलाएका आँखामा गोधुली उज्यालो देखिन्थ्यो । यस्तै हुने रहेछ तरङ्ग, कल्पनाको तरङ्ग । जसले कहिले काहीँ दङ्ग पार्छ । काठमाडौँमा छु र पनि उमेरले बुझ्दै गएँ मान्छेको धोको पनि भ-याङ चढे जस्तै तर नसकिने सिँढी रहेछ ।   

फर्किएर हेर्न खोज्छु, जीवन रङ्गीन देखिन्छ र दुनियाँ सङ्गीन पनि रहेछ । उकाली ओरालीमा निथ्रुक्क पसिना लतपतिएको जीवनको स्थायी सत्ता चाहिँ समय चढ्ने हो, उमेर उक्लिने हो । जो हुनु स्थायी छ, त्यो हुन्छ नै । यही समयको संयोगलाई धेरैले भाग्य भनी मलाई बुझाउन खोजे । मैले चाहिँ भाग्यलाई संयोग भनिदिँदा भाग्य भन्ने बुझाइलाई पनि न्याय हुन्छ कि भन्ठानेको छु । 

संयोगमा सुख बोध पनि छ र दुःख पनि । नरङ्गा र काठमाडौँबिचमा झुन्डिएको पेन्डुलम समय पनि र फर्किएको काठमाडौँ पनि संयोग थियो । यसलाई कसैले भाग्यमै बुझे पनि मेरो कुनै विरोध छैन । गोरखापत्रले बा, आमालाई समेत काठमाडौँ ल्याउने हाम्रो धोको पनि पूरा गरिदियो ।

दुई दशकभन्दा लामो अवधि अर्थात् २१ वर्ष जागिरे पत्रकारको समय गोरखापत्र (गोप) दैनिकमा बिताएँ । यहीबिच नेपाल प्रेस युनियनको विभिन्न तहमा पदासीन हुँदै अध्यक्ष बनाइएँ । नेपाली काँग्रेसको केन्द्रीय प्रचार विभागमा १५ वर्ष सदस्य भएँ । काम गर्दै गर्दा आएको फोनको आवाज पछ्याउँदै जाँदा सञ्चार राज्यमन्त्रीको सूचना तथा सञ्चार मन्त्रालयमा सल्लाहकार बनाइएँ । गणतन्त्र स्थापनाको पहिलो सञ्चारमन्त्री दिलेन्द्रप्रसाद बडुले मलाई त्यो तारतम्य दिनुभयो । 

यिनै २१ वर्षमा गोरखापत्र संस्थानको साहित्यिक प्रकाशन मधुपर्क मासिकमा पु¥याइएँ । विशिष्ट श्रेणीको सल्लाहकारबाट फर्किएको म गोरखापत्रमा नायव कार्यकारी सम्पादक (नाकास) मा आएँ । सोही मन्त्रालय अन्तर्गतको सल्लाहकार हुँदा गोरखपत्र संस्थानका केही पात्रको नाजायज अपेक्षा पूरा नगरिदिएको झोकमा मसँग प्रतिशोध साँध्ने समय ढुकेर बसेका जस्तो लाग्यो । 

त्यति बेला ओर्लिएर म गोरखापत्रमा फर्किने सोचमा थिइनँ । तर पुरुषोत्तम बस्नेत दाइको संयोजनमा नेता सुशील कोइरालासँग सल्लाह गरेँ । सरकार फेरिएको थियो । उहाँले अगाडिको कठिनाइ र सम्भावनाहीन समय बोध गराउनुभयो र तितो पिएर पनि त्यहीँ फर्कन भन्नुभयो । आगामी दिनमा प्रजातन्त्र र पार्टीलाई सङ्कट आउन सक्ने सम्भावना व्यक्त गर्दै तपाईंहरू जस्ता पत्रकारले व्यक्तिगत रूपमा घाटा सहेर पनि पार्टी हितमा समर्पित हुनपर्ने बेला आएको छ, बुझ्नु होला भन्नुभयो । उहाँको आशय र आकाङ्क्षालाई शिरोपर गरेर म फर्किएँ गोरखापत्रमा । 

गोरखापत्र दैनिकबाट काजमा मन्त्रालय लगिएको थिएँ तर मलाई मधुपर्कमा सारियो । मूलधारको पत्रकारिताबाट मासिक प्रकाशनमा लैजानुलाई गोरखापत्रभित्र ‘कर्नर पारिएको’ बुझिन्थ्यो तर मैले यसलाई ‘कर्नर पारिएको’ नभएर नयाँ अनुभवको अवसर बुझेँ । केवल मधुपर्कसँग मेरो अनुभव थिएन । त्यसो त सुरुमै अनुभव कहाँ, कसलाई हुन्छ र ? काम गर्दै जाँदा हुने न हो अनुभव भनिने सङ्ग्रह । तर पनि मधुपर्कको साहित्यिक गुरुत्व मेरा लागि कता कता भारी लागेको हो । गर्दै, सिक्दै जाँदा मधु जस्तै लाग्यो मधुपर्क । साहित्यिक मासिक मधुपर्क मेरो कलम यात्राको अर्को पाठशाला भयो । 

त्यो समयमा मेरा श्रद्धेय अग्रजहरू, प्रेरणादायी दाइहरू र माया गर्ने साथीहरू प्रशस्तै हुनुहुन्थ्यो । हामी पत्रकार हाकिम कारिन्दाभन्दा बढी दाइभाइमा सम्बोधित हुन्थ्यौँ । पत्रकारबिच अपनत्व सम्बोधित थियो । भिन्न भिन्न प्रकाशन । समग्रमा गोरखापत्र र मधुपर्कलाई संस्थागत रूपमा मूल्याङ्कन गर्ने हो भने यिनले दिने सुवअसर मैले पाएँ । व्यक्तिगत प्रवृत्ति र प्रकृतिका बारेमा केही भन्न आवश्यक छैन ।   

मधुपर्कका काम गर्दाका रसिला, मायालु, अग्रज प्रेरकहरू सबैको नाम लेख्न यहाँ असमर्थ छु । धेरै दाइहरू हुनुहुन्छ र त्यस्तै सहकर्मी साथीहरू पनि । ककसको नाम लेखुँ ? कसैको लेखुँ र कसैको छोडुँ ? यसो गर्दा समन्याय हुँदैन । चामलमा बियाँ जस्ता नगण्य छुद्र प्रवृत्ति पात्र कोट्याऊँ तब सहिष्णुता रहँदैन । अनुभवले भन्छ, भनुँ ? सहयोगी साथीहरूको आशीर्वाद मैले धेरै थापेँ, धेरै पाएँ । गोरखापत्र र मधुपर्कका मेरा दिन रमाइला रहे ।           

मधुपर्कको कार्यकाल धेरै साहित्यकारलाई चिन्ने मौका बन्यो । साहित्यिक लेखनसँग नजिकिन सकेँ । त्यसो त मेरो बा, हजुरबा दुवै साहित्यको सौखिन र लेखक पनि । घरेलु सुषुप्त प्रभाव मधुपर्कमा जुर्मुराएर झस्क्यो, ब्युँझियो । अनि लेख्न थालेँ ‘शून्य सर्ग’ नाममा स्तम्भ । त्यति बेला मधुपर्कका सम्पादक श्रीओम श्रेष्ठले लेख्न प्रेरित गर्नुभयो । हुन त यसअघि पनि मधुपर्कमा मेरा रचना छापिएका थिए, स्तम्भ होइन । मधुपर्कमा पुगेपछि थाह भयो– यसलाई मुलुकका साहित्यकारले कति स्नेह गर्छन् । उहाँहरूकै स्नेहमा मधुपर्क बाँचेको छ । अरू बाँच्ने छ ।   

मधुपर्क प्रवेश गर्दा लरबराएको मेरो शैली शिल्पले अब बाटो समातेको थियो । साहित्यको गहराइको अलिकति भने पनि अंश बुझेँ । मेरो लागि त्यसको अगम्य गहिरो पनि थाहा पाएँ । म प्रफुल्ल थिएँ, समयले आल्हादित पनि भएँ । साहित्य पत्रकारिता कि, पत्रकारिता साहित्य ? भन्ने प्रश्न गर्न जान्ने भएँ । 

म समसामयिक पत्रकारिताको विद्यार्थी हुँ । साप्ताहिक पत्रिकाहरूबाट मैले प्रशिक्षण लिएँ । देशभक्ति, वार्तालाप, नेपालपुकार, राजधानी र स्वप्रकाशनको– नयाँ क्षितिज साप्तहिकहरू नै म गोरखापत्रमा आउने यात्राका आधारभूत सिप हुन् । प्राइमरी स्कुलको गाउँले मास्टरीदेखि काठमाडौँको कन्या हाइस्कुल लैनचौरको शिक्षक भएपछि मैले ती साप्ताहिकमा काम गरेँ । 

रमाइलै रमाइलोको बिचमा एउटा तीतो सत्य लेख्नै पर्ने लाग्यो । अहिले कस्तो छ थाहा छैन । लाग्छ समयसँगै त्यहाँ धेरै सुधार भएको छ । गोरखापत्र संस्थान प्रकाशन गृह हो तर तत्कालीन केही बडाकारिन्दा यहाँ प्रशासन गृह जस्तो व्यवहार गर्थे । पत्रकारिताको मर्म, धर्मबारे ती अज्ञानी थिए । सरकारी सञ्चार माध्यम भन्न रुचाउने र गौरव गर्ने तर राज्यको माध्यम भन्नु पर्दा खुम्चिएको बुझ्ने अबुझ पनि भेटिए । 

गोरखापत्र, मधुपर्क द राइजिङ नेपाललगायतका प्रकाशनले नेपाली समाज, भाषा, साहित्य र संस्कृतिको कुना काप्चामा प्रकाश पारेका छन् । यो त्यो समयको अतुलनीय देन हो तर सरकार जसको बन्यो त्यसकै समर्थन गर्ने/गराउने परम्पराको अनुभव गोरखापत्रसँग छ । मानव अधिकार र  मौलिक स्वतन्त्रताको आवाज उठाउँदा उठाउँदै स्वयं गोरखापत्रलाई कति स्वतन्त्र बनाइयो भन्ने समीक्षा राष्ट्रियस्तरमै गर्नु पर्छ ।

मधुपर्कमा काम गरेर पनि एउटा पटक्कै नबुझेको अबुझ साहित्य छ मसँग । त्यो हो–मानिसहरू साहित्यलाई कसोरी बुझ्छन् ? यही बुझ्न सकिनँ मैले । आँखा चिम्लिएर गरिने वाचनको बुझाइ मैले भनेको होइन । वाहा वाहा र थप्पडीको गडगडाहटमा समाज कति मुखरित छ ? साहित्यका रसिकहरूको बुझाइ बुझ्न खोजेको पनि छैन । तर आममान्छेले साहित्यलाई लिन्छ कसोरी ? यही निक्र्यौल गर्न सकिएन । अर्को, सम्भ्रान्त हँुदैमा वा पढेको बन्दैमा साहित्य बुझिन्छ र ? साहित्यको सामाजिक योग के हो ? केही होइन भनौँ भने लक्ष्मीप्रसाद पढिँदै छन्, सेक्सपियर देखिँदै छन् । साहित्यको दुनियाँ निकै घना लाग्छ । मधुपर्कले यही, यस्तै सिकायो मलाई । भिन्न दुनियाँको गहिरो गर्त हेर भन्यो । 

केहीको खुच्चिउँ आफ्ना लागि पुष्टकारी हुने रहेछ । यो पनि त संयोग नै हो । मेरा लागि मधुपर्क यस्तै रह्यो । जिन्दगीको अर्को पाठशाला पाएँ । पछि फेरि सारिएँ गोरखापत्रमा । २०७० सालको फागुन ७ गतेबाट राजीनामा स्वीकृत होस् भन्ने बेहोराको पत्र गोप संस्थानको प्रशासनमा बुझाएँ र एउटा ठुला पाठशालाबाट औपचारिक रूपमा बाहिर निस्केँ । भावनात्मक रूपमा अहिले पनि मधुपर्क र गोरखापत्रसँग टाँसिएको अनुभव गर्छु ।  प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले राससको कार्यकारी अध्यक्षमा नियुक्ति दियो । मसँग गोरखापत्रको पत्रकारिता र मधुपर्कको साहित्यको केही सँगलो–सामल थियो । फर्किएर हेर्छु पत्रकारिताको तातेतातेमा चार दशक हिँडिएछ । पुग, नपुग मधुपर्कमार्फत् दुई वर्ष जति साहित्य–पत्रकारिता पढेँ । गुरु हो मधुपर्क मासिक, यसमा छापिने शब्दशिल्प । लाग्छ शब्दशिल्प नै साहित्यमा उपल्लो प्रस्तुति हो ।