• २० असार २०८१, बिहिबार

केन्यामा कर वृद्धि विरोधी प्रदर्शनमा ३९ को मृत्यु, ३६१ घाइते

blog

नैरोबी, असार १८ गते । कर वृद्धि सम्बन्धी नयाँ विधेयक को विरोधमा केन्यामा हालै भएको सरकार विरोधी प्रदर्शनमा कम्तीमा ३९ जनाको ज्यान गएको अल जजिराले जनाएको छ । केन्या राष्ट्रिय मानव अधिकार आयोग (केएनसीएचआर) ले सोमबार मृतकको सङ्ख्या घोषणा गरेको हो ।

केएनसीएचआर रेकर्डले “देशव्यापी विरोध प्रदर्शनको सम्बन्धमा“ ३९ जनाको मृत्यु र ३६१ जना घाइते भएको सङ्केत गरेको छ । यो तथ्याङ्कले जुन १८ देखि जुलाई १ सम्मको अवधिलाई समेटेको आयोगको विज्ञप्तिले जनाएको छ ।

अधिकांश युवा प्रदर्शनकारीहरूको नेतृत्वमा आयोजित शान्तिपूर्ण कर–विरोधी र्‍याली गत हप्ता संसद्ले विवादास्पद कानुन पारित गरेपछि घातक हिंसाको स्तब्धकारी दृश्यमा परिणत भएको थियो ।

राष्ट्रपति विलियम रुटोले आइतबार टेलिभिजन अन्तर्वार्तामा विरोध प्रदर्शनमा १९ जनाको मृत्यु भएको बताउनुभएको थियो । उहाँले उक्त घटनामा आफ्नो कुनै संलग्नता नभएको र मृत्युबारे अनुसन्धान गर्ने वाचा गर्नुभयो ।

“केएनसीएचआरले प्रदर्शनकारी, चिकित्सा कर्मी, वकिल, पत्रकारहरूको चर्च, चिकित्सा आपत्कालीन केन्द्र र एम्बुलेन्स जस्ता सुरक्षित स्थानहरूमा गरिएको अनावश्यक हिंसा र बल प्रयोगको कडा निन्दा गर्दछ’’, आयोगले जनाएको छ ।

“प्रदर्शनकारीहरू विरुद्ध अत्यधिक र असमान बल प्रयोग गरिएको थियो भन्ने हाम्रो धारणा छ’’, यसले बतायो ।  आयोगले संसद् र अन्य सरकारी भवनमा केही प्रदर्शनकारीहरूले प्रदर्शन गरेको हिंसात्मक र स्तब्ध पार्ने अराजकताका कार्यको पनि कडा निन्दा गरेको छ ।

राष्ट्रपति रूटोले कर वृद्धिसम्बन्धी विधेयकमा कानुनमा हस्ताक्षर नगर्ने घोषणा गरेतापनि मङ्गलबारदेखि कार्यकर्ताहरूले नयाँ विरोध प्रदर्शनको आह्वान गरेका छन् । प्रदर्शनकारीहरूले सामाजिक सञ्जालमार्फत राष्ट्रपति रुटोको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन् । रासस/एएनआई