• ४ जेठ २०८१, शुक्रबार

नारी जागरणका तिखा आवाज

blog

छविरमण सिलवाल

नेपाली साहित्यमा डा.बेन्जु शर्मा स्थापित तथा विशिष्ट नाम हो । मूर्धन्य नाटककार भीमनिधि तिवारीकी सुपुत्री शर्मा साहित्यका सबै विधामा कलम चलाउनुका साथै, एकाङ्की नाटक लेखन, निर्देशन तथा अभिनयमा पनि निकै दख्खल राख्ने स्रष्टा हुनुहुन्छ । 

नाटक विधामा कलम चलाउने स्रष्टाहरू धेरै छैनन् । केही वर्षयता भने नेपाली नाटकको क्रेज बेस्सरी उकालो लागेको छ । तैपनि नाटक लेखनमा भने खडेरी नै परेको अनुमान लगाउन सकिन्छ । यस्तै समयमा प्रकाशन भएको डा.बेन्जु शर्माको नाट्य कृति ‘केवल एउटा कोठा’ ले उत्साहजनक उपस्थिति जनाएको पक्कै छ । हाल जेजति भइरहेका छन्, तिनले नाट्य विधालाई जेनतेन टेको लगाएको अवश्य  छ । अझ यस क्षेत्रमा महिला सर्जकको उपस्थिति भने न्यून नै रहेको छ । अहिले युवाको रोजाइमा भने नाटक पर्ने गरेको छ ।

 समाजका हरेक पक्ष नाटकमार्फत प्रस्तुति भइरहेका छन् । नाटक सिकाउने तथा मञ्चन गर्नका लागि मञ्चको कमी छैन आजकल, बस् चाहना हुनुप¥यो । आठवटा एकाङ्की नाटकको सङ्ग्रह हो ‘केवल एउटा कोठा’ । नेपाली साहित्यलाई सरकारले अनुत्पादक क्षेत्रको रूपमा हेर्छ । यसमा साहित्यकारले व्यक्तिगत रूपमा सरकारले गर्न नसेकेका कार्यहरू पनि गरिरहेका छन् । व्यक्तिगत रूपमा साहित्यिक सङ्घसंस्थाले गरेका कार्यहरू स्तुत्य छन् । अझ नाट्य विधामा भन्ने हो भने लगानी उठाउन हम्मेहम्मे पर्छ प्रकाशकलाई । यस्तो चुनौतीपूर्ण कार्यलाई पनि सहज रूपमा स्वीकार गरेर यस्ता पुस्तकहरू प्रकाशनमा आउनु पनि एउटा चुनौतीको पहाड चढ्नुजस्तै हो । यस्तै चुनौतीको पहाड चढ्नुभएको छ– डा.बेन्जु शर्माले । हुन त उहाँका यी नाटकहरू नयाँ भने होइनन्, फुटकर रूपमा रहेका नाटकलाई सङ्ग्रहित  गरिएको हो । नाटक पढ्दाभन्दा अभिनयमा अझै जीवन्त हुन्छ । उहाँका यी नाटकहरू प्रसारणमा पनि आइसकेका छन् । साहित्यका विविध विधामा उहाँको गर्विलो उपस्थिति, नाट्य विधामा विशिष्ट भएर देखिएको छ । 

केवल एउटा कोठा(२०५३), अपाङ्ग(२०५०), सपनाभित्रको छाया(२०३१), उपवन(२०३०–३१), विशृङ्खला (२०२५), सत्य घटना(२०२२), विवाह(२०२०) र दश रुपियाँको नोट(२०१९) गरी आठ शीर्षकका यी नाटकहरूका समय सन्दर्भ पुराना भए पनि जनमानसका समस्या जस्ताको तस्तै रहेका छन् । यस कृतिमा सङ्ग्रहित नाटकहरू विसं २०१९ देखि २०५३ को समयमा लेखिएका छन् । यस अवधिमा नेपालमा धेरै राजनीतिक परिवर्तन भए । राजतन्त्रदेखि प्रजातन्त्रसम्म पुग्दा पनि सामान्य जनताका समस्या सम्बोधन हुन नसक्नु एउटा दुर्भाग्य नै हो । महिलाले भोग्नुपरेका दुःख अहिले पनि परिवर्तन हुन नसक्नु दुःखद कुरा हो । शर्माले नाटकमार्फत व्यक्त गर्नुभएको आवाज कता दबेको छ, अब हामीले चनाखो भएर खोज्नुपर्ने भएको छ । त्यसबेला मनोरञ्जनको साधनको कमी थियो, मारुनी र सोरठीको जमानामा रेडियोमार्फत बज्ने नाटक पहिलो रोजाइ हुने गर्दथ्यो । अहिले मनोरञ्जनको साधनको कमी छैन, तापनि नाटकप्रतिको मोह बढ्दै गएको छ । भीमनिधि तिवारी साहित्य समितिद्वारा प्रकाशित यस कृतिले नेपाली नाटकप्रेमीहरूका खुल्दुली मेटाउँछ नै । 

‘केवल एउटा कोठा’ नाटकमार्फत छोराहरू केवल बाबुको सम्पत्तिलाई माया गर्ने गरेको यथार्थता देखाइएको छ र छोरीहरू अर्काको घर जाने मात्र हुन्, माइतीघरमा उनीहरूको अधिकार वञ्चित गरिएप्रति कटाक्ष गरिएको छ । अर्को कुरा बाबुआमालाई छोरीहरूले नै निस्वार्थ माया गर्छन् भन्ने कुरा नाटकको मूल सन्देश रहेको छ । बौद्धिक रूपमा मान्छेको सोचाइ नराम्रो हुन्छ भने, त्यो मानसिक अपाङ्ता नै हो र एउटी नारी चुलोचौकोबाट बाहिर निस्कनुपर्छ, पुरुषबिना पनि सामथ्र्यवान बन्नसक्नु पर्छ भन्ने मूल कुरा नाटकमार्फत प्रस्तुत भएको छ । ‘प्रेममा लिप्तता वा भनौँ तृष्णा बढी हुनुहुँदैन । प्रेमले संसारलाई फलाउँछ, फुलाउँछ र कहिलेकाहीँ चाहिँ यही प्रेमले गाड्छ पनि ।’ नाटकको पात्र आरतीको यो भनाइले एउटा महिलालाई आफू मजबुत बन्नुुपर्छ भन्ने यस्ता सन्देशहरू नाटकमार्फत प्रस्तुत भएका छन् । ‘सपनाभित्रको छाया’मार्फत युद्धमैदानमा गएको आफ्नो सैनिक श्रीमान्को बारेमा सपनामा चित्कारका दृश्यहरू देखिरहेकी एउटी महिलाको आवाज बुलन्द रूपमा आएको छ । युद्ध कसलाई पो प्यारो लाग्ला र ? तर मान्छेमा अहम्ताको पारो चुलिएपछि कसको के लाग्छ । आज पनि युद्ध भइरहेका छन् । ती अवला नारी बालबच्चा बूढाबूढीको आवाज दबिरहेको छ । कसले सुन्ने ती आवाज ? कथित युद्धका आला घाउले दिएको चोट कसरी बिर्सन सकिन्छ र ? नाटक विधामार्फत ती समयलाई कैद गरेर समयको दस्तावेज तयार गर्नुभएको हो डा.बेन्जु शर्माले ‘केवल एउटा कोठा’मार्फत । 

सर्जक तथा वर्तमान पुस्ताकै अत्यन्त शसक्त नारी हस्ताक्षर ज्ञानु अधिकारीको शब्द सापटी लिएर हेरौँ–‘लैङ्गिक समानता, युद्धप्रति वितृष्णा र शान्तिको कामना, नारी अस्तित्व चेतना, मानवीय संवेदनामा आएको ह्रास तथा स्वार्थी र अवसरवादी मानवीय चरित्रलाई उजागर गरिएको छ । छोटा आयाम, सटिक र मिठो संवाद, द्वन्द्व र कौतूहल सिर्जना गराउन सक्ने, सामथ्र्यका कारण यस सङ्ग्रहका एकाङ्कीहरू गहन र रोचक छन् ।’ 

हामी एक्काइसौँ शताब्दीका कुरा गर्छौं, विश्व कहाँबाट कहाँ पुग्यो भनेर भाषण सुन्छौँ तर हामीकहाँ ‘काम कुरो एकातिर कुम्लो बोकी कतातिर’ भनेजस्तै छ । महिला अधिकार, उनीहरूको सुरक्षाका बारेमा अनेकौँ सङ्घसंस्था छन्, राज्यले पनि धेरै खर्च गरेको होला ? तर समस्या जस्ताको तस्तै छ । अझै कहिलेसम्म यस्तै हुने हो निक्र्योल छैन । त्यसकारण यस्ता आवाजलाई दबाउने होइन, अझै बुलन्द रूपमा उठाउनु पर्छ । किताबका पानाभन्दा बाहिर यी आवाजलाई ल्याउनु पर्छ, सडक, टोल, गाउँबस्ती सबैठाउँमा । मान्छेले चाहेमा गर्न नसक्ने केही छैन । मान्छेले नै बनाएका कानुन न हुन्, यी आवाजले परिवर्तन गराउनुपर्छ भन्ने मान्यता ‘केवल एउटा कोठा’का एकाङ्कीहरूले बोलेका छन् । हरेक नारीले आफ्नो शरीरको अधिकार आफँैले गर्न पाउनुपर्छ भन्ने मूल धारणा एकाङ्कीमार्फत सार्वजनिक भएका छन् । समय सन्दर्भ जति नै पुरानो भए पनि मान्छेका दुःखका स्वरहरू अहिले पनि उस्तै छन् । अझै नारीका दुःखको पहाड घट्नुको साटो बढिरहेको छ । यी र यस्तै साहित्यिक सन्दर्भहरूले नै जागरण ल्याउने हो, त्यसकारण पनि यी एकाङ्कीहरूको महŒव धेरै हुन्छ । डा.बेन्जु शर्माका २०५३ पछिका सन्दर्भमा लेखिएका एकाङ्की नाटकहरू पनि छिट्टै पढ्न पाइयोस् । शुभकामना !