• १९ असार २०८१, बुधबार

सहकारी ठगी प्रकरण

लालीगुराँसको सात अर्बभन्दा बढी अपचलन

blog

काठमाडौँ, असार १७ गते । सात अर्ब १७ करोड दुई लाख ७५ हजार ९८४ रुपियाँ अपचलन गरी फरार श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चार हजार ५२८ बचतकर्तालाई बिचल्ली बनाएर विद्यालयदेखि कृषिसम्म स्वैच्छिक लगानी गरेर फरार रहेको ललितपुरको पुल्चोकस्थित लालीगुराँस सहकारी अध्यक्ष, कार्यकारी अधिकृतसहित चार जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०८० फागुन २९ गते समस्याग्रस्त घोषणा गरेको सहकारीका अध्यक्ष काठमाडौँ चुनदेवीका अमरदास श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत गोरखा सिरानचौरका सुरेन्द्र भण्डारी, कोषाध्यक्ष काठमाडौँ लाजिम्पाटका अमृतकुमार अर्याल र सहकारीका सदस्य काठमाडौँ चाबहिलका कदमबाबा जोशी प्रधानलाई प्रहरीले पक्राउ गरेको हो । 

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चारै जनालाई शुक्रबार राति पक्राउ गरेको हो । प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईका अनुसार ललितपुरको पुल्चोकमा मुख्य कार्यालय तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका २२ जिल्लामा २६ वटा शाखा विस्तार गरी प्रत्यक्ष चार हजार ५२८ सहित २२ हजारभन्दा बढी सर्वसाधारणको साढे छ अर्ब रुपियाँ अपचलन गरेको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन् । 

सर्वसाधारणलाई आकर्षक ब्याज तथा आवश्यक परेका बेला सबै रकम र ऋणसमेत दिने प्रलोभनमा पारेर बचत गर्न लगाएको बचत रकम अनियमितता गरेर सहकारी सञ्चालक एक वर्षदेखि सम्पर्कविहीन थिए । प्रहरीले सिइओ भण्डारी शुक्रबार राति बालुवाटरस्थित एक विदेशीले सञ्चालन गर्ने होटलमा रहेको सूचना पाएपछि प्रहरीले पिछा गर्ने क्रममा अन्य चार जनालाई पनि पक्राउ गरेको जनाएको छ । अन्य पाँच जना फरार रहेकाले खोजी भइरहेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा बचतकर्ताको रकम हिनामिना गरी सिइओ भण्डारीसहित सहकारीका पदाधिकारीले घरजग्गा, पशुपालन तथा दुग्ध प्रशोधन कम्पनीमा लगानी गरेको पाइएको छ । पीडितको उजुरीपछि प्रहरीले २०८० चैत ३० ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो ।

नागरिकको बचत, लगानी व्यक्तिगत अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार सहकारीको रकम हिनामिना गरी अध्यक्ष श्रेष्ठ र सिइओ भण्डारी काठमाडौँका विभिन्न होटलमा लुकिछिपी बस्दै आएका थिए । 

सहकारीको अधिकांश रकम सिइओ भण्डारीको नेतृत्वमा अपचलन गरेको पाइएको छ । प्रहरीसँगको बयानमा भण्डारीले रकम पशुपालन तथा दुग्ध प्रशोधन कम्पनीमा लगानी गरेको दाबी गरेका छन् । भण्डारीले हिनामिना गरेको रकमबाट दुई अर्ब रुपियाँको निजी सम्पत्ति जोडेको खुलेको छ । 

२०५६ मा उक्त सहकारीमा प्रबन्धकको भूमिकामा प्रवेश गरेका भण्डारी हाल सहकारीको सिइओ तथा सचिवको रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ । २०६६ र २०७६ सालमा दुई पटक सहकारी राष्ट्रिय विकास बोर्डको सञ्चालक तथा २०७२ देखि २०७७ सालसम्म राष्ट्रिय सहकारी महासङ्घमा वरिष्ठ सञ्चालकमा नियुक्त भएका भण्डारीले हिनामिनाको रकमबाट महँगो गाडी र विलासी जीवन बिताइरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

भण्डारीको स्वामित्वमा चितवनको खैरेनीमा झन्डै २० बिघा जमिनमा लालीगुराँस डेरी फार्म तथा रिसर्च सेन्टर स्थापना गरी ५५० वटा गाईपालनमार्फत दुग्ध उत्पादन भइरहेको पनि प्रहरीले जनाएको छ ।  चितवनमा उत्पादन भएको दुध प्रशोधन गरी वितरण गर्न ललितपुरको गोदावरीमा दुग्ध प्रशोधन केन्द्रसमेत स्थापना गरेको खुलेको छ । 

सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ ३१ वर्ष काम गरेर नेपाल बैङ्क लिमिटेडको मुख्य कार्यालय न्युरोडमा प्रमुख प्रबन्धकबाट अवकाशपछि सहकारीमा जोडिएको खुलेको छ । प्रहरीले २०६१ मा सहकारीको सचिव र २०६४ मा उपाध्यक्ष बनेका श्रेष्ठ २०७४ देखि अध्यक्षको जिम्मेवारीमा रहेको जनाएको छ ।