• १८ असार २०८१, मङ्गलबार

कुतियाकबरमा ‘सेफ हाउस’ निर्माण

blog

फाइल तस्बिर

वेदकोट (कञ्चनपुर), असार १६ गते । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० स्थित कुतियाकबरमा सुरक्षित आवास (सेफ हाउस) निर्माण भएको छ । महाकाली र जोगबूढा नदीले घेरेको बाढीको उच्च जोखिममा रहेको बस्ती कुतियाकबरका स्थानीय बर्सेनि बाढीको समस्या झेल्दै आएका छन् । 

बाढी आएका बेला बस्न मिल्ने गरी कुतियाकबरका स्थानीयका लागि दुई वटा सेफ हाउस निर्माण गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोरकुमार लिम्बुले बताउनुभयो । नगरपालिका, नेपाली सेना र विभिन्न सङ्घसंस्थाको लगानीमा उक्त आवास निर्माण भएपछि स्थानीय खुसी भएका छन् । नगरप्रमुख लिम्बुका अनुसार नगरपालिकाको पाँच लाखसहित विभिन्न सङ्घसंस्थाको गरी कूल २७ लाखमा एउटा र सेनाको २० लाख र नगरपालिकाको पाँच लाखको लगानीमा अर्को सेफ हाउस निर्माण भएको हो । 

“बाढीले बर्सेनि खाद्यान्न, लत्ताकपडा बगाएर लैजान्छ । ज्यान जोगाउनै मुस्किल पर्छ”, स्थानीय टेकबहादुर सुनारले भन्नुभयो, “एक किलोमिटर टाढा गएर आश्रय लिएर बस्नु पर्थ्यो । सेफ हाउस निर्माण भएपछि त्यो बाध्यता हट्ने छ ।” कुतियाकबरका स्थानीय बाढी आएका बेला घर छोडेर दोधारा चाँदनी-७ स्थित अम्बिका माध्यमिक विद्यालयमा आश्रय लिएर बस्दै आएका थिए । “बर्सात लाग्ने बित्तिकै डर त्रास हुन्थ्यो । सेफ हाउस भएपछि केही हदसम्म डर हटेको छ । ज्यान जोगिने आशा जागेको छ”, स्थानीय मायादेवी सुनारले भन्नुभयो, “खाद्यान्न, लुगाफाटो त बचाउन सकिँदैन । सेफ हाउसले ज्यान जोगिनेमा ढुक्क छौँ ।”

सीमामा नेपाली भूमिको रक्षक बनेर बसेका कुतियाकबरका स्थानीयले सरकारसँग वर्षातमा बस्न सुरक्षित स्थानमा आवास उपलब्ध गराउनुपर्ने माग गर्दै आएका थिए । महाकाली नदीमा पक्की तटबन्ध नहुँदा कुतियाकबरमा कटान भएर उर्वराभूमि बगरमा परिणत हुँदै गएको छ । हाल महाकाली नदीमा जैविक तटबन्ध निर्माण गर्ने कामसमेत भइरहेको नगरप्रमुख लिम्बुले जानकारी दिनुभयो । 

उहाँका अनुसार महाकालीको तटीय क्षेत्रका स्थानीयलाई पानीको बहावबारे सूचना दिन पक्की पुलमा उपकरण जडान गरिएको छ । “जोगबूढा नदीमा पनि उपकरण जोड्ने तयारी गरेका छौँ । महाकालीमा जडित उपकरणले पानीको बहाव सतर्कता तह पार गरेको मापन गरेपछि साइरन बजाएर वा म्यासेजमार्फत जानकारी गराइन्छ”, उहाँले भन्नुभयो । रासस