• १७ असार २०८१, सोमबार

रुससँगको युद्ध अन्त्य गर्न ‘व्यापक योजना’ को मस्यौदा तयार पार्दै युक्रेनी राष्ट्रपति

blog

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की

किएभ (युक्रेन), असार १५ गते । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्न विश्वको बहुमतले समर्थन गर्ने ‘व्यापक योजना’ तयार गरिरहेको अल जजिराले शनिबार जनाएको छ ।

“विश्वको बहुमतले समर्थन गर्ने युद्ध अन्त्य गर्ने योजना देखाउनु आफ्नो लागि धेरै महत्त्वपूर्ण छ,” युक्रेनी राष्ट्रपतिले स्लोभेनियाका राष्ट्रपति नतासा पिरक मुसारसँग शुक्रबार किएभमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो । उहाँले यो कूटनीतिक मार्ग भएको र यसमा आफूहरूले काम गरिरहेको बताउँदै युक्रेन र रुसबिच हाल कुनै वार्ता भने नभएको उहाँको स्पष्टोक्ति रहेको छ ।

युक्रेन र रुसबिच हालसम्म कुनै वार्ता नभएकाले  जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सार्वजनिक बयानका आधारमा सम्भावित शान्ति सम्झौताका सर्तहरूको कुरा गर्दा दुई पक्ष पहिलेभन्दा धेरै टाढा देखिन्छन् ।

शान्ति वार्ता सुरु हुनअघि युक्रेनले बारम्बार क्रिमियाको प्रायद्वीपसहित आफ्नो अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्षेत्रबाट रुसले आफ्नो सेना फिर्ता लिनुपर्ने बताउँदै आएको छ ।

यद्यपि २०२२ फेब्रुअरीमा युक्रेनमा पूर्ण आक्रमण सुरु गरेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई रुसको कब्जामा रहेको आफ्नो पूर्व र दक्षिणको थप क्षेत्र खाली गरेर प्रभावकारी रूपमा आत्मसमर्पण गर्न माग गर्नुभएको छ । 

चालु महिनाको सुरुमा युक्रेनी राष्ट्रपतिले स्विजरल्याण्डमा एउटा अन्तर्राष्ट्रिय शिखर सम्मेलनको आयोजना गर्नु भएको थियो । सम्मेलनमा युक्रेनको स्थितिका लागि समर्थन जुटाउन रुसलाई आमन्त्रित गरिएको थिएन ।

स्विजरल्याण्डमा भएको दुई दिने शिखर सम्मेलनमा ९० भन्दा बढी देशहरूले नेता र वरिष्ठ अधिकारीहरू पठाएको र अधिकांशले युक्रेनको ‘क्षेत्रीय अखण्डतालाई  सम्झौतामा सम्मान गर्नुपर्ने कुरामा जोड दिने अन्तिम विज्ञप्ति जारी गर्न सहमत भएको अल जजिराले जनाएको छ ।

यसबाहेक, रुसी सेना युक्रेनको क्षेत्रमा बिस्तारै अघि बढिरहेका छन् भने शुक्रबार अर्को अग्रपङ्तीमा रहेको सानो गाउँ कब्जा गरेको दाबी रुसले गरेको छ ।

मस्कोले हाल युक्रेनको लगभग २५ प्रतिशत स्थान ओगटेको र सन् २०२२ मा चारवटा क्षेत्रहरू कब्जा गरेको दाबी गरेको छ ।

यसअघि बिहीबार ब्रसेल्समा भएको ईयू काउन्सिल शिखर सम्मेलनमा जेलेन्स्कीले युद्ध अन्त्य गर्न केही महिनाभित्र ‘विस्तृत योजना’ अगाडि राख्ने बताउनुभएको थियो । जेलेन्स्कीले सैनिक र नागरिकबिचको उच्च हताहतको कहालीलाग्दो दरलाई औँल्याउँदै द्वन्द्व अन्त्यका लागि आफूहरूसँग धेरै समय नभएको बताउनुभएको छ । रासस/एएनआई