• १७ असार २०८१, सोमबार

इरानको राष्ट्रपतीय मतगणनामा पेजेस्कियन र जलिलीको प्रतिस्पर्धा

blog

तेहरान (इरान), असार १५ गते । इरानका सुधारवादी उम्मेदवार मसूद पेजेस्कियन र अति परम्परावादी समूहका सईद जलिलीले राष्ट्रपतीय निर्वाचनको मत गणनामा अग्रता कायम गरेको शनिबार आन्तरिक मन्त्रालयद्वारा जारी प्रारम्भिक परिणामले देखाएको छ ।

पछिल्लो परिणामअनुसार पेजेस्कियनले ८३ लाखभन्दा बढी मत प्राप्त गर्नु भएको छ भने पूर्व आणविक वार्ताकार जलिलीले ७१ लाखभन्दा बढी मत प्राप्त गर्नुभएको छ ।

हालको प्रवृत्ति जारी रहेको अवस्थामा दुवै उम्मेदवार जुलाई ५ हुने दोस्रो निर्वाचनमा प्रतिस्पर्धा गनुपर्नेछ । इरानी संविधान अनुसार यदि कुनै उम्मेद्वारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेनन् भने दोस्रो चरणको चुनाव गर्नु पर्ने प्रावधान रहेको छ ।

सन् १९७९ मा भएको इस्लामिक क्रान्तिपछि इरानमा भएको १३ वटा राष्ट्रपतीय चुनावमध्ये सन् २००५ मा भएको एउटा मात्र निर्वाचनमा दोस्रो चरणको मतदानबाट राष्ट्रपतिको चयन गरिएको थियो ।

आन्तरिक मन्त्रालयका अनुसार अहिलेसम्म एक करोड ९० लाखभन्दा बढी मत गणना भइसकेको छ ।

प्रारम्भिक परिणाममा कन्जरभेटर संसद्का अध्यक्ष मोहम्मद बाघेर घालीबाफ लगभग २६ लाख मतसहित तेस्रो स्थानमा हुनुहुन्छ । यसैगरी चौथो स्थानमा परम्परावादी धर्मगुरु मुस्तफा पौरमोहम्मदीले १५ लाखभन्दा बढी मत प्राप्त गर्नुभएको छ ।

नियमित तालिका अनुसार सन् २०२५ मा हुनुपर्ने निर्वाचनका लागि करिब छ करोड १० लाख इरानी मतदान गर्न योग्य थिए ।

इस्लामिक गणतन्त्रमा चुनावी उम्मेदवारहरूको जाँच गर्ने गार्जियन काउन्सिलले सुरुमा छ जना उम्मेदवारलाई अनुमोदन गरेको थियो तर चुनावको एक दिन अगाडि दुई उम्मेदवारहरू अलिरेजा जाकानी र अमिर–हुसेन गाजीजादेह हाशेमी दौडबाट बाहिरिएका थिए । रासस/एएफपी