• १७ असार २०८१, सोमबार

मुरलीकान्तको कथा ‘चन्दु च्याम्पियन’

blog

काठमाडौँ, असार १५ गते । मानिसको जीवन सधैँ एकैनास हुँदैन । मानिसलाई एकपछि अर्को परिस्थितिले सधैँ सताइरहेको हुन्छ । त्यसो हुँदाहुँदै पनि मानिस सधैँ जीवनसँग लडिरहन्छ । यिनै कुराको माझ मान्छेले आफ्नो जिद्दीपना र सङ्घर्षलाई कसरी पार गर्छ भन्ने कुरा चलचित्र ‘चन्दु च्याम्पियन’ को कथाले देखाउँछ । पहिलो पारालम्पिक स्वर्ण पदक विजेता मुरलीकान्त पाटेकरको जीवनीमा आधारित चलचित्रबाट अभिनेता कार्तिक आर्यनले आफ्नो प्रेमिल छवि छाडेर आफ्नो जीवनमा नयाँ अध्याय लेख्ने कोसिस गरेका छन् । कार्तिक बायोपिक स्पोर्ट्स ड्रामा ‘चन्दु च्याम्पियन’ मा पूर्ण रूपमा नयाँ अवतारमा प्रस्तुत भएका छन्, जहाँ उनी जोश र उत्साहले भरिएको मुरलीकान्त पाटेकरको भूमिकामा बिल्कुलै भिन्न देखिएका छन् । 

चलचित्र ६० को दशकमा महाराष्ट्रको एउटा गाउँको कथा हो; जहाँ मुरलीकान्तको बाल्यकाल देखाइएको छ । विद्यालयमा उनको उमेरका केटाकेटीले उनलाई चन्दु भनेर जिस्क्याउने गर्छन् तर वयस्कका रूपमा मुरलीलाई कुस्तीमा यति रुचाइन्छ कि उनले आफ्नो गाउँका सबैभन्दा भयङ्कर कुस्तीबाजलाई पराजित गरिदिन्छन् । यसपछि उनले आफ्ना साथीभाइलाई  ‘म चन्दु होइन, म च्याम्पियन हुँ’ भन्ने देखाउन सफल भएको महसुस गर्छन् । उनलाई उनको परिवारबाट उक्त खेलका लागि खासै सहयोग हुँदैन । उनी घर छोडेर कुस्तीलाई आफ्नो पेसा बनाउन बाध्य हुन्छन् । यहाँबाट उनको सेनामा प्रवेश भएको कथा सुरु हुन्छ र त्यसपछि कसैसँग केही कुरामा पनि नडराउने निडर मुरलीको यात्रा सुरु हुन्छ । चलचित्र हेर्दा ‘मुरलीको कथा’ ले आगामी पुस्तालाई बहादुरी, निडरता, जोश, जाँगर र देशभक्तिले अवश्य प्रेरित बनाउँछ । 

चलचित्रमा कार्तिकको अभिनय उत्कृष्ट छ । मुरलीकान्त निर्दोषिता, निडरता र कार्यको अभिव्यक्ति कति उत्कृष्ट रूपमा प्रदर्शन गरिएको छ भने यो चरित्र उनका लागि नै लेखिएको हो । सधैँ एक्सनकट रुचाउने निर्देशक कबिर खानले चलचित्रको कथाको नाटकीय पक्षमा धेरै काम गरेको देखिन्छ । उनले चलचित्रको कथालाई पर्दामा उत्कृष्ट ढङ्गले प्रस्तुत गरेका छन् र कुनै पनि दृश्य अनावश्यक देखिँदैन । चलचित्रको कथा आफैँमा यति बलियो छ कि दर्शक एक दृश्य पनि छुटाउन चाहँदैनन् । चलचित्रको अर्को बलियो पक्ष यसको सङ्गीत हो, जसमा पृष्ठभूमि सङ्गीत पहिलो आउँछ, जुन कथाको उतारचढावसँगै गजबको सुनिन्छ । चलचित्रमा प्रीतमले सङ्गीत दिएका छन् । ‘सत्यनाश’, ‘सिरफिरा’, ‘तु है’, ‘च्याम्पियन’ जस्ता गीतले निकै चर्चा बटुलेको छ । पूर्ण पारिवारिक चलचित्रमा दर्शक मुरलीको चरित्रबाट गहिरो रूपमा जोडिने छन् र उनको अभिनयबाट अवश्य प्रेरित हुने छन् ।