• १८ असार २०८१, मङ्गलबार

तालमेल मिलेपछि उम्मेदवारी फिर्ता

blog

नगर प्रमुख पदको उम्मेदवारी फिर्ता गरेर मुख्य निर्वाचन कार्यालयबाट निस्कदै बीरबल केसी । तस्बिरः राजु

राजु लामिछाने
रुकुम पश्चिम, वैशाख १६ गते।
रुकुम पश्चिममा विभिन्न दलबाट र स्वतन्त्ररुपमा उम्मेदवारी दिएकाले कुराकानी मिलेको भन्दै उम्मेदवारी फिर्ता लिएका छन्।  

उम्मेदवारी फिर्ता लिनेमा जिल्लाको मुसिकोट नगरपालिकाको प्रमुखका लागि उम्मेदवारी दिएका चार जना छन्। शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर चार जना नगर प्रमुख उम्मेदवारसहित १८ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो। 

उहाँका अनुसार स्वतन्त्र उम्मेदवारी दर्ता गराएका बीरबल केसी, एमालेका तर्फबाट नगर प्रमुखका उम्मेदवार अञ्जना चन्द, राप्रपाबाट उम्मेदवारी दिएका नवीन मल्ल र जनता समाजवादी पार्टीका उम्मेदवार प्रेम बोहराले उम्मेदवारी फिर्ता लिनुभएको बताउनुभयो। त्यस्तै कांग्रेसबाट उपप्रमुखका उम्मेदवार निर्मला गिरीले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ।

मुसीकोटमा माओवादी, एकीकृत समाजवादी र जसपाबीच चुनावी तालमेलमा कुरा मिलेपछि उम्मेदवारी फिर्ता लिइएको हो। त्यसैगरी, नेपाली काँग्रेस र नेकपा (एमाले) ले पनि एक अर्कालाई सघाउने गरेर उम्मेदवारी फिर्ता लिएको जनाइएको छ। 

त्यसैगरी, चौरजहारीमा नेकपा (एमाले) बाट नगर प्रमुख पदमा उम्मेदवारी दिनुभएका डण्डी कार्की, नेपाली काँग्रेसबाट उपप्रमुखमा उम्मेदवारी दिनुभएका दीपा डाँगी खड्का, नेकपा समाजवादीबाट नगर प्रमुख र उपप्रमुखको उम्मेदवारी दिनुभएका पुस्तक चन्द र सुशीला गिरीले उम्मेदवारी फिर्त लिनुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

  सानीभेरीमा नेपाली काँग्रेस, एमाले र समाजवादीको गठबन्धन 

जिल्लाको सानीभेरी गाउँपालिका अन्तर्गतका विभिन्न पदमा उम्मेदवारी दिएका २१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। शुक्रबार ५ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिनेको संख्या २१ जना रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार, नेकपा (एकीकृत समाजवादी) ले आफ्ना सबै पदका उम्मेदवारी फिर्ता लिएको छ। जसमा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार सन्तोष खड्का, उपाध्यक्ष पदका उम्मेदवार कविता खड्का ओलीलगायत १५ जना रहेका छन्। 

एकीकृत समाजवादीले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै नेपाली काँग्रेसलाई समर्थन गर्ने निर्णय भएको अध्यक्ष पदका उम्मेदवार सन्तोष खड्काले जाकारी दिनुभयो। त्यस्तै, नेकपा एमालेबाट दुई जनाले, जनता समाजवादी पार्टीबाट तीन जनाले र स्वतन्त्र एक जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। 

जिल्लाको त्रिवेणी गाउँपालिकामा ११ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार एक गाउँपालिका उपाध्यक्ष र पाँच जना वडा अध्यक्षका उम्मेदवार र पाँच जना महिला सदस्यले उम्मेदवारी  फिर्ता लिएका हुन्।

गाउँपालिका उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिनुभएका डिल्लीबहादुर ओलीसहित वडा अध्यक्ष र सदस्यले उम्मेदवारी फिर्ता लिनुभएको निर्वाचन अधिकृत कृतिबहादुर बस्नेतले जानकारी दिनुभयो। त्रिवेणीमा १२८ जना उम्मेदवारको नामावली प्रकाशन भएको छ।