• १८ असार २०८१, मङ्गलबार

प्रचारप्रसार संयमित र मैत्रीपूर्ण बनाऔं : महामन्त्री शर्मा

blog

ललितपुर, वैशाख १६ गते। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनलाई लोकतान्त्रिक संस्कृति अनुरुप बनाउन सात प्रस्ताव अगाडि सार्नुभएको छ।

उहाँले चुनावमा प्रचारप्रसारलाई संयमित र मैत्रीपूर्ण बनाउनुपर्ने, विगतमा गरिएका गल्ती र कमजोरीका बारेमा जनतासँग माफी माग्नुपर्ने, आलोचना सुन्ने संस्कारको विकास गर्नुपर्ने बताउनुभएको छ। महामन्त्री शर्माले जनतालाई असम्भव सपना देखाउन नहुने, आचारसंहिता र संवैधानिक अधिकारको पालना हुनुपर्ने, अपारदर्शी र फजुल खर्च रोक्नुपर्ने र निर्वाचनको परिणामलाई स्वभाविक रुपमा स्वीकार्ने परम्पराको थालनी गर्नुपर्छ बताउनुभयो। 

नेपाल सांस्कृतिक संघद्वारा नेपाली कांग्रेसको चुनावी गीत सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै शर्माले यस्तो भनाइ राख्नुभएको हो। उहाँले दाइजो प्रथाको अन्त्य, जातीय भेदभाव र छुवाछुतको अन्त्य र स्वदेशमा रोजगारीको सवाल निकै संवेदनशील रहेको बताउनुभयो।

कांग्रेसका नेता गुरु घिमिरेले कांग्रेस लोकतन्त्रवादी दल भएको तर अन्य दलमा लोकतन्त्र र लोकतान्त्रिक आचरणको कमी भएकाले नेपालमा लोकतान्त्रिक संस्कार बसाउन कठिन भएको उल्लेख गर्नुभयो।

कार्यक्रममा नेपाल सांस्कृतिक संघका बुद्धिबहादुर राना, नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व उपकूलपति विष्णुविभू घिमिरे, गायिका राधिका हमाल, नेपाल सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाले निर्वाचनमा गीत सङ्गीतले पार्ने प्रभावबारे चर्चा गर्नुभयो। 

“कांग्रेसलाई जिताऔं” बोलको सो गीत वरिष्ठ गीतकार कृष्णहरि बरालको शब्द, वरिष्ठ संगीतकार शम्भुजित बाँस्काटाको संगीत, राधिका हमाल, सुजाता के.सी., शशीविक्रम थापा र आलिन खानको स्वर तथा मनोज के.सी.को निर्देशनमा तयार भएको हो।