• १६ असार २०८१, आइतबार

यमनका हुथी र इराकी सैनिकको इजरायलविरुद्ध संयुक्त आक्रमण

blog

यमनको हुथी समूह

साना, असार १३ गते । यमनको हुथी समूहले बुधबार इराकी लडाकुसँगको सहकार्यमा इजरायली बन्दरगाह हाइफामा राखिएको इजरायली जहाजमा संयुक्त ड्रोन आक्रमण गरेको जनाएको छ ।

“इस्लामिक सैनिकसँगको सहकार्यमा इजरायली स्वामित्वको मालवाहक जहाज ‘एमएससी मान्जानिलो’लाई निशाना बनाएर ड्रोन आक्रमण गरिएको छ,” हुथी सैन्य प्रवक्ता याह्या सारियाले अल–मसिराह टेलिभिजनमार्फत जानकारी गराउनुभयो ।

उहाँले आक्रमणले पूर्ण सफलता हासिल गरेको जानकारी गराउनुभयो ।

“हामी प्यालेस्टिनी जनताको समर्थनमा इराकी इस्लामिक प्रतिरोधसँग यो संयुक्त सैन्य कारबाही जारी राख्नेछौँ,’’ सारियाले यस आक्रमणलाई इजरायल–प्यालेस्टाइन सङ्घर्षसँग जोड्दै भन्नुभयो ।

उहाँले प्यालेस्टाइनमा इजरायली आक्रमणको अन्त्य र गाजामा नाकाबन्दी हटाउन माग गर्नुभएको हो । इजरायली अधिकारीहरूले अहिलेसम्म कथित हुथी आक्रमणको बारेमा टिप्पणी गरेका छैनन् ।

साथै संयुक्त राज्य सामुद्रिक व्यापार अपरेसनले बुधवार यमनको बन्दरगाह सहर एडेनको दक्षिणमा एउटा व्यापारी जहाज नजिकै पनि मिसाइल विस्फोट भएको जानकारी दिएको छ । रिपोर्टले चालक दललाई कुनै चोटपटक नलागेको र जहाजले आफ्नो यात्रा जारी राखेको सङ्केत गरेको छ ।

नोभेम्बर २०२३ देखि हुथीहरूले गाजा द्वन्द्वमा प्यालेस्टिनी समर्थनको दाबी गर्दै ढुवानी जहाजहरूमा ड्रोन र मिसाइल आक्रमण गर्दै आएका छन् । रासस/सिन्ह्वा