• १२ साउन २०८१, शनिबार

खतरनाक सेन्टेनेलिज

blog

हिन्द महासागरमा अवस्थित सेन्टिनल द्वीपमा भ्रमणका लागि पुगेका एक अमेरिकी पर्यटकको हत्याले त्यहाँ पृथक् रहेर बस्ने गरेका एकान्तवासीप्रति विश्वको ध्यान आकर्षित भएको थियो । दुनियाँको सम्पर्कमा रहेका केही जातीय समूहमध्ये पर्छन् सेन्टेनेलिज । यसको एक कारण हुन सक्छ तिनीहरू बसोबास गर्ने भूगोल । उत्तरी सेन्टिनल एक सानो द्वीप हो र यो पानीजहाजको नियमित मार्गबाट पर कम गहिराइको क्षेत्रमा अवस्थित छ । यहाँ कुनै प्राकृतिक बन्दरगाह पनि छैन । भारतको सरकारले यस टापुलाई संरक्षित क्षेत्र घोषणा गरी त्यहाँ बाहिरी संसारका मानिसलाई जान रोक लगाएको छ । सेन्टेनेलिजहरू स्वयंको सुरक्षा व्यवस्थासमेत अभेद छ । कोही अन्जान मानिस त्यहाँ गयो कि उसलाई तिनीहरूले मारिदिन्छन् । तैपनि पछिल्लो दुई सय वर्षमा उनीहरू नितान्त सम्पर्करहित चाहिँ  छैनन् ।

सन् २०११ को जनगणना अनुसार तथा मानवशास्त्रीको अनुमानको आधारमा उत्तरी सेन्टिनल द्वीपमा ८० देखि १५० मानिसको बसोबास रहेको छ । तथापि यो सङ्ख्या बढीमा पाँच सय र घटीमा १५ हुन सक्छ । बङ्गालको खाडीमा रहेको अन्दमान द्वीप समूहका अन्य आदिवासी समुदायसँग सेन्टेनेलिजहरू मिल्दाजुल्दा छन् तर त्यहाँका अन्य समुदाय अङ्गे र जरावाविपरीत सेन्टेनेलिजहरू लामो समयदेखि बाहिरी संसारको सम्पर्कमा छैनन् । यिनीहरूको भाषासमेत बुझ्न सकिएको छैन ।

एक पटक सन् १९६७ मा गरिएको भ्रमणका आधारमा हामी भन्न सक्छौँ उनीहरू साना छाप्रोमा बस्छन्, छाप्रोहरू एकअर्कातिर ढोका हुने गरी समूहमा निर्माण गरिन्छ र हरेक घरको बाहिर सावधानीपूर्वक आगो बालिएको हुन्छ । सेन्टेनेलिजहरूले साना र साँघुरा डुङ्गा बनाउने गर्छन् । उनीहरूले तुलनात्मक रूपमा कम गहिरो, शान्त र चट्टानी समुद्रमा लामो डन्डीका सहायताले डुङ्गा खियाउँछन् । ती डुङ्गामा चढेर उनीहरू माछा र गँगटा समात्छन् । अझै पनि सेन्टेनेलिजहरू सिकारी जीवनमा छन् । यस अतिरिक्त उनीहरूले जङ्गली फल, कन्दमूल, चरा र कछुवाका अण्डासमेत खाने गरेको विश्वास गरिन्छ ।

सेन्टेनेलिजहरू धनुवाणका साथै चक्कु र भाला आफूसँग राख्छन् । उनीहरूलाई बाह्य संसारको आगन्तुक कतै मन पर्दैन ।

सन् १७७१ मा इस्ट इन्डिया कम्पनीको एक पानीजहाज एक रात सेन्टिल द्वीप नजिक भएर जाँदा तटीय क्षेत्रमा प्रकाश चम्किरहेको देखियो तर सो जहाज ‘हाइड्रोग्राफिक सर्भे’ का लागि निस्किएको थियो र त्यहाँ रोकिएन । यसै कारण पहिलो पटक बाहिरी संसारको नजरमा परे पनि सेन्टेनेलिजहरू करिब एक शताब्दी एकान्तमै रहे ।

धेरै वर्षपछि एक भारतीय व्यापारिक जहाज निनवे समुद्रको चट्टानमा फस्न पुग्यो । त्यस जहाजमा ८६ यात्रु र चालकदलका २० सदस्य जसोतसो पौडेर सेन्टिनल द्वीपको तटमा पुगे । सेन्टेनेलिजहरूले धनुषवाणको निशानामा राखेर उनीहरूलाई तीन दिन त्यहाँ बस्न दिए । के कति कारणले सेन्टेनेलिजहरूले उनीहरूलाई तीन दिन बस्न दिए भन्ने बारेमा इतिहास मौन रहेको छ तर त्यहाँ दुवै पक्षबीच भिडन्त भएको पश्चिमा इतिहासवेत्ताहरूको तर्क छ ।


निनवे जहाजका यात्रु र चालकदलका सदस्यले सेन्टेनेलिजहरूको वाण र भालाको जवाफ लट्ठी र ढुङ्गाले दिएको तथा दुवै पक्षबीच त्यतिबेलासम्म असहज परिस्थिति बनिरह्यो जबसम्म पानीजहाज दुर्घटनामा परेर बाँचेकाको उद्धारका रागि रोयल नेवीको पानीजहाज आइपुगेन ।

छिमेकमै भएकाले बेलायतीहरूले सेन्टिनल द्वीपलाई बेलायतको उपनिवेश बनाउने निर्णय लिए । यस निर्णयले सन् १८८० सम्म बेलायतका लागि मात्र महìव राख्यो । रोयल नेवीका युवा अधिकारी माउरिस भिडाल पोर्टम्यानले अन्दमान एन्ड निकोबार उपनिवेशको जिम्मेवारी लिएपछि जलसेनाको ठूलो दलबल लिएर उत्तरी सेन्टिनल द्वीपमा गए । त्यहाँ उनीहरूले हतारहतारमा छोडिएका गाउँ मात्र देखे । यस्तो लाग्थ्यो घुसपैठियाहरू आउन लागेको देखेर सेन्टेनेलिजहरू गाउँ छाडेर द्वीपको भित्री अनकन्टार क्षेत्रमा भागे तर त्यहाँ छुटेका एक वृद्ध दम्पती र चार बालबालिका पोर्टम्यानको खोजी टोलीको नजरमा परे । तिनलाई बन्धक बनाएर पोर्टम्यानको टोली अन्डमानको उपनिवेश राजधानी पोर्ट ब्लेयर लिएर आयो । चाँडै नै ती छ जना बन्धक नराम्रोसँग बिरामी परे । वृद्ध दम्पतीको पोर्ट ब्लेयरमै मृत्यु भयो । त्यसपछि पोर्टम्यानले बिरामी परेका चारै बालबालिकालाई सानो उपहारसहित उत्तरी सेन्टिनल द्वीपको तटमा छोडिदिने निर्णय गरे र त्यही अनुसार उनीहरूलाई छाडियो पनि । ती बालबालिकाले आफूलाई लागेको रोग त्यहाँ अन्य सेन्टेनेलिजलाई सारे कि सारेनन् थाहा भएको छैन ।

यस अनुभवले सेन्टेनेलिजहरू बाहिरी संसारका मानिसप्रति झनै कठोर भए । सन् १८९६ मा अन्डमान उपनिवेशको जेलबाट एक कैदी आफूले बनाएको डुङ्गाबाट भागेछन् तर उनको दुर्भाग्य समुद्रमा पौँठेजोरी खेल्दै ती कैदी उत्तरी सेन्टिनल द्वीपमा पुगे । बेलायती सुरक्षाकर्मीले खोजी गर्दा केही दिनपछि घाँटी छिनालिएको र शरीरभरि वाणको घाउ भएको उनको मृत शरीर फेला पारे । त्यसपछि बेलायतीहरूले सेन्टेनेलिजहरूलाई जे जस्तो अवस्थामा छ त्यस्तै बाँच्न दिने निर्णय लिएका थिए ।

सय वर्षपछि भारत सरकारका लागि काम गर्न मानवशास्त्री त्रिनक नाथ पण्डितको टोलीले उत्तरी सेन्टिनल द्वीपमा पाइला टेक्यो । पोर्टम्यान जाँदाको जसरी नै यस पटक पनि सेन्टेनेलिजहरू हतारहतारमा घर छाडेर भागिसकेका थिए । अध्ययन गरेर पण्डितको टोलीले त्यहाँ लुगाफाटो, चकलेट, प्लास्टिकका भाँडा छाडेर फर्कियो । पण्डितसँगै गएका केही व्यक्तिले सेन्टेनेलिजहरूका धनुषवाण, भाँडा र अन्य सामान खुसुक्क लिएर आए ।


सन् १९४७ मा भारत स्वतन्त्र भएपछि पनि उत्तरी सेन्टिनल द्वीपमा कानुनी समस्या थियो । सन् १९७० मा भारतले यस सानो द्वीपलाई आफ्नो अभिन्न भाग भएको दाबी ग¥यो र त्यसका लागि त्यहाँको सर्वेक्षणसमेत गरायो । सन् १९९६ देखि भारत सरकारले मानवशास्त्रीलाई उत्तरी सेन्टिनलमा जान प्रतिबन्ध लगाएको छ । हाल भारतका सुरक्षाकर्मीले उत्तरी सेन्टिनल द्वीपको ५.६ किलोमिटर नजिक कसैलाई पनि जान दिँदैनन् ।

सन् १९७४ मा नेसनल जियोग्राफिकको टोली छायाङ्कन गर्न उत्तरी सेन्टिनल द्वीपमा पुग्दा निर्देशकको तिघ्रामा सेन्टेनेलिजले हानेको वाण लागेको थियो । 

बेल्जियमका निर्वासित राजा लियोपोल्ड तृतीय सन् १९७५ मा डुङ्गामा सवार भएर यस द्वीप नजिकबाट जाँदा सेन्टेनेलिजहरूले वाण हानेर उनलाई चेतावनी दिए । यस्तै सन् १९८१ मा एक मालवाहक पानीजहाज प्रिमरोज त्यहाँको चट्टानी समुद्रमा फस्यो र चालकदलका २८ सदस्य अलपत्र परे । सेन्टेनेलिजहरूको डरले हेलिकोप्टरबाट उनीहरूको उद्धार गर्नु परेको थियो । 

–युवामञ्च