साबित्री गिरी
कोहलपुर, असार ११ गते । बाँकेको राप्तिसोनारी गाउँपालिका –७, प्रिपहवाकी फूलमती आर्या वर्षा सुरु भएपछि रातभरि असजिलो महसुस गर्नुहुन्थ्यो । बाढीले घर बगाउने डरले उहाँको निन्द्रा हराउँथ्यो । दुई वर्षअघि गाउँपालिकाले स्थापना गरेको साइरन प्रणालीले अब उहाँ ढुक्कसाथ सुत्न पाउनुभएको छ ।
साइरन बजेपछि तत्काल सुरक्षित स्थानमा जानेगरेको उहाँले बताउनुभयो । प्रिपहवाकै अनारकला धोबीले पनि सम्भावित बाढीको चेतावनीका लागि तयारी अवस्थामा एउटा झोला राख्नुभएको छ, जसमा नागरिकता, शैक्षिक प्रमाणपत्र, र लालपूर्जाजस्ता महत्वपूर्ण कागजात छन् । साइरनको सूचना पाएपछि उहाँ त्यो झोला बोकेर अग्लो स्थानमा दौडिनुहुन्छ ।
स्थानीय अगुवा फारुक अलीका अनुसार साइरन प्रणालीले समयमै सूचना दिँदा जोखिम न्यून गर्न सजिलो भएको छ । ‘हामीले चेतावनी पाएपछि अग्लो ठाउँमा जान पाउँछौं, यसले राहत मिलेको छ’ उहाँले भन्नुभयो ।
वडा अध्यक्ष रामलखन चौधरीले साइरन प्रणाली जडान भएपछि डुवानको असर कम हुँदैगएको बताउनुभयो । उहाँका अनुसार पूर्वसूचना प्रणालीले वडाबासीलाई सम्भावित क्षतिबाट जोगिन प्रभावकारी भूमिका खेलेको छ ।