धर्बेन्द्र झा
जनकपुरधाम, असार ११ गते । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले राज्यका सबै अङ्ग र एकाइ समावेशी हुनुपर्ने बताउनुभएको छ ।
आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजनामा बुधबारदेखि धनुषाको मिथिलाबिहारी नगरपालिको मतलेश्वरमा सुरु भएको मधेश प्रदेशमा दर्ता भएका अनलाइनका सम्पादकसँगको अभिमुखीकरण कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले अहिलेसम्म राज्यको सबै निकाय समावेशी हुन नसकेको भन्दै त्यसमा राज्यको ध्यान जानुपर्नेमा जोड दिनुभयो । उहाँले सङ्घीयता र समावेशीताको निमित्त सञ्चारकर्मीको जिम्मेवारी अझ बढेको भन्दैै संघीयताको सफल कार्यान्वयनका निमित्त सञ्चारकर्मीको कलम चल्नुपर्ने बताउनुभयो ।
उहाँले समाज रुपान्तरणका लागि राजनीतिकर्मीको साथै सञ्चारजगत पनि व्यवस्थित, अनुशासित र मर्यादित हुनुपर्नेमा जोड दिनुभयो । मधेश प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री लेखीले भन्नुभयो, “लोकतन्त्रमा जनता नै सबैभन्दा अधिकार सम्पन्न हुन्छन् । त्यसैले जनतालाई केन्द्रबिन्दुमा राखेर सरकारका निकायहरुले आफ्ना सेवा प्रवाह गर्नुपर्छ ।”
उहाँले पहिलाभन्दा अहिले आएर सञ्चारकर्मीहरु पनि मिहिनेत गर्ने कार्यमा कमी आएकै कारण कपीपेष्ट पत्रकारिता फस्टाएको भन्दै यसलाई रोक्ने काममा पनि हामी सबैको भूमिका हुनुपर्नेमा उहाँले जोड दिनुभयो । मन्त्री लेखीले भौतिक संरचना निर्माण गरेर देशको समृद्धि हुन नसक्ने भन्दै भौतिकको साथै शिक्षा, स्वास्थय र मानव कल्याणका विषयलाई पनि ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश झाले दर्ता नभई कानुन विपरीत सञ्चालन भएका सञ्चारमाध्यमलाई नियन्त्रण गर्न जरुरी रहेको भन्दै त्यसमा पत्रकार महासङ्घसहित सञ्चारकर्मीको साथ सहयोग आवश्यक भएको बताउनुभयो ।
आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा भएको सो कार्यक्रममा चलचित्र तथा लोकसञ्चार प्रवर्धन बोर्ड मधेश प्रदेशका अध्यक्ष किशोरकुमार लेखी, मिडिया काउन्सिल मधेश प्रदेशका सदस्य सुरेशकुमार यादव, आमसञ्चार प्राधिकरण मधेश प्रदेशका कार्यालय प्रमुख प्रसन्नराज कर्णसहितले बोल्नुभएको थियो ।
तीन दिवसीय सो अभिमुखीकरण कार्यक्रममा मधेश प्रदेशको आठ वटै जिल्लामा सञ्चालित अनलाइनका सम्पादकको सहभागिता थियो ।