• ११ असार २०८२, बुधबार

नगदसहित किसान सम्मानित

blog

राइनास नगरपालिकाका सम्मानित उत्कृष्ट किसानहरू । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, असार ११ गते । लमजुङको राइनास नगरपालिकाका –६ जना किसानहरू नगद पुरस्कारसहित सम्मानित हुनुभएको छ । व्यावसायिक रूपमा पशुपालन तथा कृषि व्यवसाय गर्दै आउनुभएका उहाँहरु ‘नगरप्रमुख उत्कृष्ट कृषक पुरस्कार’ बाट सम्मानित हुनुभएको हो ।

नगरपालिकाले एक जना किसानलाई सर्वोत्कृष्ट र पाँच जनालाई उत्कृष्ट किसानको रुपमा छनाेट गरी सम्मान गरेको छ । जसमध्ये राइनास नगरपालिका –१ का टेकबहादुर गुरुङ सर्वोत्कृष्ट किसानको रुपमा सम्मानित हुनुभएको छ । अकबरे खुर्सानी, अदुवा खेती र तरकारी खेती गर्दै आउनुभएका गुरुङलाई नगद २५ हजार रूपियाँसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको छ ।

यसैगरी, उत्कृष्ट किसानको रुपमा तरकारी तथा फलफूल खेती गर्दै आउनुभएका वडा  ५ तिनपिप्लेका लक्ष्मी कृषि फर्म सञ्चालक लक्ष्मीप्रसाद भट्ट, गाईपालन व्यवसाय गर्दै आउनुभएका वडा ६ का अमलराज बिसुराल, माछापालन व्यवसाय गर्नुभएका वडा नं. ७ का टुकबहादुर घले, राइनास–९ मा बाख्रापालन व्यवसाय गर्दै आउनुभएकी लक्ष्मी थापा र मसलाबाली टिमुर खेतीसँगै मौरीपालन व्यवसाय गर्नुभएका राइनास –१० का बाबुराम न्यौपानेलाई उत्कृष्ट कृषकको रुपमा नगद १५ हजार रुपियाँसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको छ । 

नगरप्रमुख खड्गबहादुर गुरुङ, उपप्रमुख पुष्पराज खनाल, प्रमुख प्रशासकीय अधिकृत धनेश्वर पौडेलले संयुक्त रुपमा कृषकलाई नगद पुरस्कारसहित सम्मान गर्नुभयो । कृषि तथा पशुपालन क्षेत्रमा गर्नुभएको योगदानको उच्च कदर गर्दै आगामी दिनमा पनि कृषिक्षेत्रमा काम गर्न थप प्रोत्साहन गर्ने उद्देश्यले किसानलाई सम्मान गरिएको नगरप्रमुख खड्गबहादुर गुरुङले बताउनुभयो । 

कृषक सम्मानले व्यवसायलाई निरन्तरता दिन र गैह्र कृषकलाई पनि कृषि व्यवसायमा जोड्न प्रोत्साहित गर्ने अपेक्षा लिइएको नगर उपप्रमुख पुष्पराज खनालले बताउनुभयो । उपप्रमुख खनालका अनुसार पालिका कम दुग्ध उत्पादक र रैथानेबाली उत्पादक किसानलाई उत्पादनमा आधारित अनुदान उपलब्ध गराउँदै आएको छ ।