• ८ पुस २०८१, सोमबार

अलेक्जेन्डरको रहस्यमय मृत्यु

blog

अलेक्जेन्डर ग्रेटको जब इसापूर्व ३२३ मा मृत्यु भयो । छ दिनसम्म उनको शरीर सड्न लागेको कुनै सङ्केत देखिएन । ऐतिहासिक तथ्यहरूका अनुसार यसै कारणले अलेक्जेन्डरको मृत्युको कारण अझैसम्म रहस्यमै छ । 

प्राचीन ग्रिसका बासिन्दाका लागि यस घटनाले के कुरा पुष्टि गरिदियो भने उनीहरू सबैले युवा मेसिडोनियन राजाका बारेमा जे सोच्दथे तथा अलेक्जेन्डर स्वयंले आफूलाई के मान्दथे– त्यो थियो उनी साधारण मानव थिएनन्, एक देवता थिए । 

मात्र ३२ वर्षको उमेरमा उनले संसारमा एक विशाल साम्राज्य निर्माण गरिसकेका थिए । जुन साम्राज्य बाल्कनदेखि विस्तारित भएर आधुनिक पाकिस्तानसम्म फैलिएको थियो । साम्राज्य विस्तारका क्रममा अर्को युद्धको तयारी गरिरँदा उनी अचानक बिरामी परे र कष्टपूर्वक १२ दिन बिताएर उनले देहत्याग गरे । 

त्यतिबेलादेखि उनको मृत्यु रहस्यको घेरामा छ । अनेक अड्कल गरिन्छ तर कसैले विश्वस्त पार्न सकेका छैनन् । कोही इतिहासकार उनको मृत्युको कारण विष खुवाइनुलाई मान्दछन् त कसैले औलो, टाइफाइड वा कुनै शत्रुले अल्कोहल विषाक्तीकरण गरेको ठान्दछन् ।  

के उनी प्राकृतिक मृत्युको सिकार भएका हुन् ?, कुनै खास ज्वरोले पीडित भएका हुन् वा उनको निरङ्कुशताबाट आक्रोशित भएर कुनै सहकर्मीले षडयन्त्र गरेका हुन् ?, पोस्टमार्टमबाट यो उत्तर पाउन सकिन्थ्यो तर त्यो त्यतिबेला सम्भव थिएन । 

 अलेक्जेन्डरको मृत्युपछिको अवस्था पनि सामान्य थिएन । जसले उनलाई मृत्युशøयामा देखेका थिए उनीहरू आफ्नो संस्मरण व्यक्त गर्न सक्ने अवस्थामा थिएनन् । अलेक्जेन्डरको अन्त्यलाई स्पष्ट पार्न नानाथरीका विवादास्पद भनाइको सहारा नलिएर अन्य व्यक्तिसँग उनको अन्तक्रियालाई आधार बनाइनुपर्ने देखिन्छ । ती को पुरुष र महिला थिए जोसँग उनी परिचित थिए ?, उनका को शत्रु र को मित्र थिए ?, उनीहरू अलेक्जेन्डरका बारेमा के सोच्दथे र स्वयं अलेक्जेन्डरले उनीहरूका बारेमा कस्ता विचार राख्ने गरेका थिए, कसले इमानदारी देखाउँथे तथा आत्महित कत्तिको जरुरी थियो ?

इसापूर्व ३२३ मा अलेक्जेन्डरले मेसोपोटामियाको महानगर बेबिलोनमा अतिकाल बिदाको आनन्द लिए । पर्सियन साम्राज्यका सहरहरूमा बेबिलोन एक शानदार सहर थियो । शातब्दीयौँदेखि  अतिक्रमणकारीसँग अभ्यस्त भइसकेको यस सहरमा अलेक्जेन्डर र उनका सैनिकलाई केही हप्ताको मस्त आरामको आवश्यकता थियो । 

युवा उमेरका मेसिडोनियाली सम्राटले पर्सियन साम्राज्यबाट भारतीय लडाइँको मैदानसम्म अविरल १० वर्षसम्म युद्ध गर्दै ठूला राजालाई हराएर सत्तामा आफ्नो कब्जा गरे । पन्जाब र सिन्धु नदी वरिपरिको क्षेत्रमा युद्ध जितेपछि अलेक्जेन्डरले कष्टकर मरुभूमि भएर आफ्नो समाजतिर फर्कन लाग्दा मेसोपोटामिया पुग्नु पहिले नै पानीको कमीले आफ्ना हजारौँ सैनिक गुमाए । 

राजा फिलिप द्वितीय र रानी ओलम्पियाजको सन्तानका रूपमा मेसिडोनियामा जन्मिएका अलेक्जेन्डरले प्रसिद्ध दार्शनिक एरिस्टोटलबाट शिक्षादीक्षा पाए र उनले आफ्ना पिताबाट सैन्य शिक्षा ग्रहण गरेका थिए । १६ वर्षको उमेरमै अलेक्जेन्डर पहिलो पटक सैन्य टुकडीको नेतृत्व गर्दै लडाइँमा गए । दुई वर्षपछि चेरोनेको युद्धमा आफ्नो पिताको सैन्य दलमा सहभागी भएर उनले युद्ध जिते तथा ग्रिसलाई मेसिडोनियाको मातहत ल्याए । इसापूर्व ३३६ मा फिलिप द्वितीयको हत्या भयो र अलेक्जेन्डरले राजकाज सम्हाले । 

आफ्नो पिताको इच्छाबमोजिम एसिया माइनर अर्थात् एनातोलियालाई जितेर पर्सियामा कब्जा गर्न ठूलो सङ्ख्यामा अलेक्जेन्डरले सैनिक दलको नेतृत्व गर्दै शत्रुमाथि जाइलागे । शक्तिशाली पर्सियाली फौजका अगाडि अलेक्जेन्डरको दल सानो थियो तर उनले असाधारण सैन्य रणनीति देखाए । उनले एक पटक पनि पराजय बेहोरेनन् र इसापूर्व ३३० मा पर्सियाका सबै तथा एसिया माइनरले उनको अगाडि घुँडा टेके । 

विश्वको ठूलो क्षेत्रफलमा आफ्नो कब्जा जमाएपछि अलेक्जेन्डर पर्सिया फर्केका अलेक्जेन्डरले चाँडै नै पूर्व क्षेत्रमा समेत राज्य विस्तार गर्ने अभियान चलाए । इसापूर्व ३२७ मा उनले अफगानिस्तान, मध्य एसिया र उत्तरी भारतमाथि कब्जा गरे । आठ वर्षसम्म निरन्तर लडाइँ गरेका कारण उनका सैनिक थकित भइसकेका थिए र उनीहरूले थप क्षेत्रमा लड्न अस्वीकार गरे । त्यसपछि अलेक्जेन्डरले आफ्ना सैनिकलाई कठिन यात्रामा लगे र उनीहरू अत्यन्त विषम मक्रान मरुभूमि हुँदै घर फर्कन थाले ।  

बेबिलोन फर्केपछि केही समय अलेक्जेन्डरले आराम गरे तर उनले सैन्य दलसहित इजिप्ट फर्कनका लागि समुद्री यात्राको प्रबन्ध मिलाउने आदेश दिए । इसापूर्व ३२३ मा पानीजहाजहरूको निर्माण सम्पन्न हुनै लागेका बेला अचानक अलेक्जेन्डर बिरामी परे र उनको मृत्यु भयो । 

आफूलाई देवता सम्झने भएकाले हुन सक्छ अलेक्जेन्डरले आफ्नो उत्तराधिकारी चयन गरेका थिएनन् । अलेक्जेन्डरको मृत्युको एक वर्षभित्र उनका सैनिक र साम्राज्य कैयौँ अंशमा विभाजित हुन पुगे । पछि उनको शवलाई अलेक्जेन्ड्रिया फिर्ता लगियो र सुनौलो कफिनमा राखेर समाधिस्त गर्ने काम भयो । 

अलेक्जेन्डरको मृत्यु अझै पनि रहस्यमै छ । हालसालै गरिएको एक अनुसन्धानबाट उनको मृत्युको कारण गुलियनबारे सिन्ड्रोमलाई मानिएको छ । अलेक्जेन्डर स्नायु रोग गुलियनबारे सिन्ड्रोमबाट पीडित भएको र त्यसैका कारण उनको मृत्यु भएको दाबी न्युजिल्यान्डको ओटागो विश्वविद्यालय मातहतको डुनेडन स्कुल अफ मेडिसिनमा सिनियर लेक्चरर डा. क्याथरिन हलको छ । 

गुलियनबारे सिन्ड्रोम हुँदा शरीरको प्रतिरक्षा प्रणालीले स्नायु प्रणालीका स्वस्थ कोषहरूमाथि आक्रमण गरी क्षति पु¥याउँछन् । त्यस समयमा व्यापक पाइने ब्याक्टेरिया क्याम्पाइलोब्याक्टर पाइलोरीको सङ्क्रमणले अलेक्जेन्डरमा गुलियन बारे सिन्ड्रोम सिर्जना भएको हुन सक्ने भनाइ छ क्याथरिनको ।  

यस सिन्ड्रोमका कारण अलेक्जेन्डरलाई पक्षाघात हुन सुरु भएको र सँगसँगै शरीरमा अक्सिजनको कमी समेत भएर उनको प्राण गएको हुन सक्ने अनुसन्धानले उल्लेख गरेको छ । यस अनुसन्धानले अलेक्जेन्डरको मृत्युका बारेमा औँल्याएको यो नितान्त नौलो तर्क हो । यसअघि उनलाई औँलो लागेको वा कसैले मन्द विष खुवाएको जस्ता तर्क राख्ने गरिएका थिए । 

–युवामञ्च