• १२ साउन २०८१, शनिबार

नगर विकास समितिको जग्गामा भएको अतिक्रमण हटाउँदै उपमहानगर

blog

अतिक्रमण गरी बनाइएको संरचना भत्काउँदै उपमहानगर।

अविनाश चौधरी

धनगढी, असार ९ गते। धनगढी उपमहानगरपालिकाले नगर विकास समितिको जग्गामा भएको अतिक्रमण हटाउन सुरु गरेको छ। 

सो पालिकाले नगर विकास समितिको नाममा दर्ता स्रेस्ता रहेको साबिकको तारानगर–४ (क) कित्ता नम्बर ३००३ क्षेत्रफल १२–१८–१४.५ को जग्गा (साबिक विमानस्थल रहेको) जग्गामा भएको अतिक्रमण खाली गराउन थालिएको हो। जग्गा अतिक्रमण गरी घर, टहरा बनाइएको थियो। धनगढी उपमहानगरपालिकाले नगर प्रहरी परिचालन गरेर संरचना भत्काउन थालेको छ।

हाल पुनः नाप नक्सा भई कायम भएको धनगढी उपमहानगरपालिका–१ नक्सा सिट नम्बर ०२७–०७६९–०१ को कित्ता नम्बर ४, ३५ र ३९ तथा सिट नम्बर ०२७–०७६९–०२ को कित्ता नम्बर ४, १४, २० र १७२ को जग्गा विभिन्न व्यक्तिले अतिक्रमण गरी घर टहरा निर्माण गरेको धनगढी उपमहानगरपालिकाले जनाएको छ। सरकारी जग्गा अतिक्रमण गरेर संरचना निर्माण गरिएकाले २०८० भदौ २६ मा बसेको बैठकले त्यस्ता संरचना हटाउने निर्णय गरेको थियो। 

अतिक्रमण खाली गर्नका लागि पटक पटक सार्वजनिक सूचना टाँस गर्दासमेत अटेर गरेपछि संरचना भत्काउन बाध्य भएको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताउनुभयो।