• १४ असार २०८१, शुक्रबार

उखु र मकै बालीमा क्षति

blog

लामो खडेरीका कारण सुुकेका उखुका बोट । तस्बिर :रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती
बर्दीबास, असार ८ गते ।
 महोत्तरीमा लामो समयदेखि वर्षा नहुँदा उखु र मकै खेती सुक्न थालेका छन् । मौसम विभागले देशभर मनसुन सक्रिय भएको जनाए पनि महोत्तरीमा एक पटक मात्र पानी परेको छ । पर्याप्त वर्ष नहुँदा जिल्लामा खडेरीको अवस्था छ । चिस्यान अभावमा हजारौँ बिगाहामा लगाइएको बाली सुकेका छन् ।

खडेरीको बढी प्रभाव उखु बालीमा देखिएको छ । रामनगरस्थित एभरेस्ट चिनी मिलका पकेट क्षेत्रमा क्रसिङ सिजन २०८१/८२ का लागि ११ हजार निगाहमा उखु बाली लगाइएको छ । त्यसमध्ये २० प्रतिशत अर्थात् दुई हजार दुई सय बिगाहाको उखु सुकेर गएको एभरेस्ट चिनी मिलका उखु महाप्रबन्धक विनोद यादवले बताउनुभयो । खडेरीका कारण बोट नै सुकेपछि उखु उत्पादनमा चार लाख क्विन्टल कमी आउने एभरेस्टको प्रक्षेपण छ ।

यो वर्ष ११ हजार बिगाहाबाट २२ लाख क्विन्टल उखु उत्पादन हुने आङ्कलन गरिएको थियो । यादवले भन्नुभयो, ‘‘२० प्रतिशत उखु बोटमै सुकेकाले चिनी उत्पादनमा ३६ हजार क्विन्टल कमी आउने देखिएको छ ।’’

बोट सुक्दा हात्तीलेट, रामनगर, भरतपुर, किसाननगर, बेलागाछी, विजलपुरालगाउत दर्जन गाउँका उखु किसान चिन्तित भएका छन् । बर्दिबास ८ हात्तीलेट क्षेत्रमा सय बिगाहा जति उखु सुकेको खड्गबहादुर जर्घाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘यो दुई लाख रुपियाँभन्दा बढीको उखु हो । अब लागतसमेत नउठ्ने भयो ।’’

यसैगरी, अर्का किसान हर्कबहादुर किङरिङकका सात कठ्ठामा लगाइएका उखुका पनि सुकेका छन् । उहाँका छोरा रामकुमारले वर्षा पनि नभएको र सिँचाइ सुविधा समेत नहुँदा सबै उखु मरेको बताउनुभयो ।

खडेरीले उखु मात्र सुकाएको छैन । उत्तरी भेगका मकै बालीमा पनि व्यापक क्षति पुर्‍याएको छ । चिस्यान अभावले धानका वेर्नासमेत पिल्सिएकाले किसान दोहोरो मारमा छन् ।

बर्दिबास ५ का वडाध्यक्ष कहारमान स्याङतानले टुटेश्वर, चेरु, गढन्ता, ढुङग्रे लगायतका गाउँमा एक सय बिगाहाका मकै सुकेपछि अवस्था समस्याग्रस्त भएको बताउनुभयो । 

मकै त सुकेर गए अधिकांश किसानले छरेका धानको बिउ पनि चिस्यान अभावले उम्रन सकेका छैनन् । कसै कसैका उम्रे पनि वर्षा नहुँदा सुक्ने अवस्थामा पुगेकाले उत्तरी भेगमा खाद्यान्न समस्या गहिरिँदै गएको बताउनुभयो ।

वडाध्यक्ष स्याङतानले भन्नुभयो, ‘‘कुनै कुनै किसानले पानी बोकेर छर्केरका कारण धानका बेर्ना बचेका छन् । खडेरीले दुर्गम वस्तिको जनजीविका जटिल बन्दै गएको छ । खोलाका मुहान र कुलोमा पानीको साटो धुलो उडेको छ ।’’