• १६ भदौ २०८१, आइतबार

रामायण तथा बुद्ध परिपथ निर्माण र प्रवर्द्धन गर्ने सहमति कार्यान्वयनमा : प्रधानमन्त्री

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नको जवाफ दिनुहुँदै । तस्बिर : केशब गुरुङ

काठमाडौँ, असार ६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतका धार्मिकस्थललाई समेटेर रामायण तथा बुद्ध परिपथ निर्माण र प्रवर्द्धन गर्ने सहमति कार्यान्वयन गम्भीरतासाथ अघि बढाएको बताउनुभएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नहरूको जवाफ दिनुहुँदै प्रधानमन्त्रीले रामायण सर्किटलगायत शिव, बुद्ध र किरात सर्किटहरूको विकास गर्न यस वर्ष बजेट सुनिश्चित गरिएको जानकारी दिनुभयो ।

“नेपाल र भारतबिच १५ वटा धार्मिकस्थललाई समेटेर रामायण तथा बुद्ध परिपथ निर्माण र प्रवर्द्धन गर्ने सम्बन्धमा भएको द्विपक्षीय सहमति कार्यान्वयन गर्न सरकार गम्भीर छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “रामायण सर्किट लगायतका शिव, बुद्ध र किरात सर्किटहरूको विकास गर्न यस वर्ष बजेट सुनिश्चित गरिएको छ ।”

उहाँले जनकपुर क्षेत्रको पर्यटकीय विकासका लागि हाल ९८ वर्ष पुरानो गोपाल धर्मशाला रहेको स्थानमा नयाँ परियोजना कार्यान्वयन गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन तयार कार्यान्वयनको प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले देशका विभिन्न भागमा रहेका गुठी जग्गालगायत सबै प्रकारका जग्गासम्बन्धी समस्या सम्बोधन गर्न सरकार संवेदनशील रहेको स्पष्ट पार्नुभयो ।