गोरखापत्र अनलाइन
काठमाडौँ, असार २१ गते । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकुलता खोजेर अघि बढ्न जरुरी रहेको बताउनुभएको छ । शनिबार काठमाडौँमा सुनेको शासनः भोगेको प्रशासनको लोकार्पण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
मुलुकमा कुनै काम गर्नलाई जताततै प्रतिकुलता, असहजता, बिघ्नवाधा देखिने गरेको भन्दै उहाँले प्रतिकुलता, असहजता, बिघ्नवाधामा अनुकुलता खोज्न जरुरी रहेको बताउनुभयो । उहाँले प्रबुद्ध वर्गहरूले नियतबारे सधैँ हेक्का राख्नुपर्ने बताउनुभयो । उहाँले अवसरहरू वरपर नै घुमिरहेको तर त्यसलाई चिन्न सक्नुपर्ने बताउनुभयो ।
अवसर गुम्यो भने देश र जनताको बेहाल हुने उहाँले जिकिर गर्नुभयो । त्यसैले आफ्नो वरपर रहेका अवसरलाई सुक्ष्म दृष्टिले नियाल्न जरुरी रहेको उहाँले चर्चा गर्नुभयो । अब पनि अवसरहरू नियाल्न ढिलो गरे मुलुकले ठुलो मूल्य चुकाउनुपर्ने उहाँको भनाइ छ । शासन र प्रशासन भन्ने दुई वटा शब्दबाट सुशासन बन्ने उहाँले बताउनुभयो ।
प्रधानन्यायाधीश राउतले भन्नुभयो, ‘प्रबुद्ध वर्गहरूले हेक्का राख्नुपर्ने कुरा के छ भने तपाईंहरूले नियतको परख गर्नैपर्छ । यो बहुत ठुलो कुरा हो । मान्छेको अस्मितासँग जोडिएको कुरा हो । प्रधानन्यायाधीशको प्रश्न उठ्दा मैले जिम्मा लिन्छु भनेकै हो । म लिन्छु, कुनै पनि हिसाबले मैले मुकर गर्दिन । जुडिसियरीको एउटा पपुलियर क्यारेक्टर हुन्छ । त्यहाँ न्यायाधीश न्यायधीशबिचमा बसेर न्यायिक निरुपण गर्नुपर्दा त्यहाँ डिक्टेट गर्न पाइँदैन । मुलुकमा कुनै काम गर्नलाई जताततै के अनुभुति हुन्छ भने प्रतिकुलता, असहजता, बिघ्नवाधा देखिन्छ ।’
अवसरहरू हाम्रा वरिपरी नाचिरहेको भए पनि हाम्रो अकर्मण्यताले, उदासिनताले, असक्षमताले चिन्न नसकिएको उहाँले बताउनुभयो । हाम्रा वरपर रहेका अवसरहरूलाई हाम्रा सुक्ष्म दृष्टिले, चेतनाका प्रतिबिम्वहरूले नियाल्न अब ढिलो भयो भने मुलुकले मूल्य चुकाउनुपर्ने उहाँको भनाइ छ । प्रधान न्यायाधीश राउतले मोती बाहिरबाट चम्किने तर पुस्तक अन्तःस्करणबाट चम्किने बताउनुभयो ।