• १२ असार २०८१, बुधबार

ट्रक चालक हत्यामा शिक्षिकासहित विद्यार्थी पक्राउ

blog

हत्या गरी खोलामा फालिएका ट्रक चालककाे शव निकाल्दै बैतडी प्रहरी । तस्बिर सौजन्य: नेपाल प्रहरी

गोकर्ण दयाल
बैतडी, असार ४ गते  । ट्रक चालकको हत्या गरेको आरोपमा बैतडी प्रहरीले एक शिक्षिकासहित दुई जना विद्यार्थीलाई पक्राउ गरेको छ । घटनामा संलग्न अर्का अटोरिक्सा चालकको खोजी भइरहेको छ । 
प्रहरीका अनुसार शनिवार रातिदेखि बेपत्ता भएका ट्रक चालक बैतडीको पाटन नगरपालिका –६ का ५१ वर्षीय वीरभान विष्टको हत्या गरेको आरोपमा सोही ठाउँकी ३६ वर्षीय शिक्षिका भागरथी विष्ट, पाटन नगरपालिका–१,का  दुई जना विद्यार्थी राजेन्द्र भट्टराई र किशोर भट्टराई पक्राउ परेका छन् । पक्राउ परेका दुई जना विद्यार्थीलाई शिक्षिकाले मोटरसाइकलमा शव लैजान २० हजार रुपियाँ दिएको खुलेको छ । शिक्षिकासँगै हत्यामा संलग्न पाटन नगरपालिका–६,का अटोरिक्सा चालकको खोजी भइरहेको प्रहरीले बताएको छ ।  
रहस्यमय मानिएको हत्याको घटना बैतडी प्रहरीले सात घण्टा नबित्दै प्रमाणसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो । 
उहाँका अनुसार ट्रक चालक वीरभान असार १ गतेदेखि हराएका थिए । विष्टको हत्या महिलाको घरमा भएको खुलेको छ । हत्या हुनुअघि ट्रक चालक वीरभान विष्ट शनिवार राति महिलाको घरमा पुगेको देखिन्छ । केही समयपछि अटोरिक्सा चलाउने युवा पनि महिलाको घरमा गएको खुल्न आएको प्रहरीले जानकारी दिएको छ । दुई जना पुरुष र महिलाबिच भनाभन हुँदा वीरभान विष्टको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।  
हत्यापछि वीरभान विष्टको शव मोटरसाइकलमा राखेर पाटन पञ्चेश्वर सडक खण्डको घागा खोलामा फालिएको अवस्थामा सोमबार फेला परेको छ । महिलाले दिएको बयान अनुसार शव ओसार्ने काममा पाटनमा डेरा गरी पढ्दै आएका दुई जना विद्यार्थीको प्रयोग भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो । 
आरोपित शिक्षिकालाई प्रहरीले सोमबार बिहान ९ बजे घरबाटै पक्राउ गरेको हो भने घटनापछि बैतडीबाट फरार भएका दुई जना युवा राजेन्द्र भट्टराई र किशोर भट्टराईला डोटीको गैराबाट पक्राउ गरेको छ । घटनामा संलग्न अर्का युवा पाटन नगरपालिका–६,का अटो रिक्सा चालक आशिष पहरीको खोजी भइरहेको प्रहरीले बताएको  छ । 
सात घण्टामै अनुसन्धान 
बैतडी प्रहरीलाई सोमबार बिहान ७ः३० बजे पाटन नगरपालिका–६,का खडक विष्टले आफ्नो दाजु वीरभान विष्ट शनिवारदेखि घर नआएको मौखिक जानकारी गराउनुभयो । विष्टले आफ्ना दाजु प्रायः एकल महिलासमेत रहेकी शिक्षिका भागरथी विष्टको घरमा आउने जाने गरेको सूचना दिएका थिए ।  
सूचना प्राप्त हुनासाथ प्रहरीले विशेष टोली परिचालन गरेको बैतडी प्रहरी प्रमुख दीपक गिरीले बताउनुभयो । मृतकका आफन्तले दिएको सूचना अध्ययन गर्दा मृतकको मोबाइल फोन बन्द थियो । मोबाइल फोनको अन्तिम लोकेसन पत्ता लगाउने क्रममा महिलाको घरमा भेटिएको प्रहरीले जनाएको छ । 
प्रहरीको प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकी शिक्षिका एकल महिला भएको खुलेको छ । महिलाका श्रीमान् केही वर्ष अघि बितेको खुलेको छ । ओरोपी महिलाका घरमा एक बालक अपाङ्ग छन् भने अर्का ८ कक्षामा पढ्दै आएका बालक छन् । आरोपित महिला स्थानीय सहस्रलिङ्ग आधारभूत विद्यालयमा राहत शिक्षिका रहेको खुलेको छ । 
यसरी भयो घटना
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार शनिवार राति ट्रक चालक वीरभान विष्ट महिलाको घरमा पुगेको देखिन्छ सोही समयमा अटोरिक्सा चालक पनि एकल महिला (शिक्षिका)को कोठामा पुगेको रहस्य खुलेको छ । अटोरिक्सावाला युवा पुग्दा झगडा र झडप सुरु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 
ट्रक चालक वीरभान विष्टले महिलालाई गाली गर्दै अटोरिक्सा चालकसँग झडपको अवस्था सिर्जना भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । अटोरिक्सा चालक र महिलाले वीरभान विष्टको हत्या गरेर शनिवार राति घरभित्र शव लुकाएको खुलेको छ । 
आइतबार दिनभरि महिलाले घरभित्र सरसफाइ गरेको भेटिएको छ । शव भने आइतबार राति प्लास्टिकमा बेरेर फालिएको प्रहरीले आशङ्का गरेको छ । सोमबार बिहान स्थानीयले खेतको आलीमा रगतका टाटासहित घिसारेको जस्तो देखेका थिए । खेतको आलीमा घिसारिएको सङ्केतका आधारमा परिवारले सोमबार बिहान मात्रै प्रहरीमा मौखिक उजुरी दिएका थिए ।