• ५ जेठ २०८१, शनिबार

नागबेली बनेका एक मूर्तिकार

blog

 शिवराज योगी

सुलुलु सर्प हिँडेको बाटो वा पहाड, खोँच र कन्दरा हुँदै बगेको नागबेली नदी । अझ हिँड्नु भएको छ भने घुम्ती नै घुम्तीले सुन्दराकृति देखिने बर्दिबासको सडक । हो यस्तै घुमाउरो तर सुन्दर लाग्छ मूर्तिकार ताराप्रसाद ओझाको जीवन पनि । 

भोग्नका लागि कति सहज भयो वा कति कठिन छ ? यसको उत्तर उनीभित्रै होला तर देख्नेका लागि ताराप्रसादको जीवन घुम्ती हुँदै बगेको सुन्दर नदी वा पहाडको चुचुरोसम्म पुग्न बनाइएको नागबेली सडकजस्तै लाग्छ । 

१७ वर्षको उमेरमा एक विद्यार्थी बनेर जुन लयमा पढ्थे आज पनि त्यो लय फेरिएको छैन । १० वर्षको हुँदा नहुँदै जुन ‘बकु ध्यान’ले नागका चित्र, गणेश चौथीमा गणेशको तस्बिर बनाउथे आज पनि त्यो गाम्भीर्यता भङ्ग भएको छैन । बरु साधनामा भेटिन्छन् उनी । 

सुदूरपश्चिमको विकट जिल्ला डोटीको पनि विकट आदर्श गाउँपालिकाको मौवामा एक ज्योतिष परिवारमा जन्मिएका ताराप्रसाद त्यसै चम्किएका होइनन् । उनले तमामौँ ढुङ्गामा छिना, हथौडा, हम्मर र कुचो चलाएका छन् । जसरी एक मूर्ति चम्काउन उनले कैयौँ चोट प्रहार गर्नुपर्छ त्यसैगरी उनी यहाँसम्म आइपुग्दा अनेकौँ गोरेटो हिँडेका छन् । तमामौँ सपना भुलेर अनकौँ सकस भोगेका छन् ।

गाउँमा सामान्य अध्ययनपछि २०४२ सालमा कैलालीको धनगढीस्थित त्रिनगर माविबाट एसएलसी पास गरेका उनले २०४८ सालमा बीकम (स्नातक) उत्तीर्ण गरे । जीवनको गर्जो टार्न शिक्षक बने पनि उनले कलाप्रतिको मोह कहिल्यै मर्न दिएनन् । सानै उमेरमा बुबा यज्ञराज ओझाले घरमा हातैले बनाएको नागको चित्र, गणेश भगवान्को तस्बिर, गोबरको गणेश देखेर उनको बाल मस्तिष्कमा कलाप्रतिको मोह जागिसकेको थियो ।


“बुबा ज्योतिष विद्यामा मात्र मोइन, कला, संस्कृति, सङ्गीत र काव्यका क्षेत्रमा पनि उत्तिकै जानकार हुनुहुन्थ्यो,” मूर्तिकार ताराप्रसादले भने, “उहाँले बनाएका चित्र, बजाएको सङ्गीत, गाएको भजन मेरो बाल मानसपटलमा रुवामा पानीजस्तै भिजेको थियो ।”

त्यही कला रूपी चिस्यान विस्तारै ताराप्रसादको हातबाट रसाउन थाल्यो । जीविकाका लागि धनगढीकै जेसिस एभरेस्ट स्कुललगायत विभिन्न विद्यालय र उच्च माविमा पढाए पनि उनी भित्रको कलाको भोक भने जाग्दै गयो । उनले स–साना ढुङ्गादेखि बडेमानका ढुङ्गा, काठका साना टुक्रादेखि अजङ्गका जरामुढामा  मूर्तिकला खोप्न थाले । हृदयको अन्तरमा रहेको चित्र ती निर्जीव वस्तुमा सजीव बनाएर उतार्न थाले । जसको चर्चा स्थानीय स्तर हुँदै राष्ट्रिय रूपमा हुन थाल्यो । 

अध्ययनलाई अगाडि बढाउन भने उनले छोडेनन् । “पढ्न त ललितकला नै पढ्न मन थियो,” उनले सुनाए, “त्यसबेला सुदूरपश्चिममा त्यो अवसर थिएन । काठमाडौँमा ललितकला क्याम्पस थियो, त्यो मेरो ल्याकतले भ्याएन ।”

२०२१ सालमा जन्मिएका ओझा २०६१ मा सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगरबाट राजनीतिशास्त्रमा एमए सकेर मास्टर इन फाइन आर्ट पढ्न ललितकला केन्द्रीय विभागमा २०६६ सालमा भर्ना भए । जीवनको उत्तरार्धमा लागेका बुबा र आमा मनकुमारीलाई सकेको सुख दिने बेला पनि उनी आफैँ विद्यार्थी जीवनमै हेलिइरहेका छन् । 

अझै विद्यार्थी 

आज उनी त्रिभुवन विश्वविद्यालयमा ललितकला विभागमा मूर्ति कला अनुशासन मात्रै पढाइरहेका छैनन् । ललितकला क्याम्पस भोटाहिटीमा पनि मूर्तिकला अनुशासनका शिक्षक हुन् । सन् २०१२ देखिए एकातिर अध्यापनको यात्रा जारी छ भने तीन वर्षदेखि उनी फेरि १७–१८ वर्षे किशोरजस्तै आफैँ ललितकला केन्द्रीय विभागको पहिलो ब्याची पीएचडी स्कलर हुन् । मूर्तिकार ओझा ‘मूर्तिकलामा मेटामोर्फोसिस फेनोमेनोलजी’ विषयमा विद्यावारिधि गरिरहेका छन् ।

आधुनिक समसामयिक विधामा मूर्ति कुँद्ने उनी कलालाई ‘महासागर’ का रूपमा अथ्र्याउन चाहन्छन् । “यो जति जाने पनि पूर्ण नजानिने, जति पढे पनि नसकिने, जति मोडलिङ र कार्बिङ गरे पनि नअघाइने क्षेत्र हो,” उनले भने । 

मूर्ति कुँद्ने विशेषगरी दुई विधि हुने बताउँदै उनले अथ्र्याए– माटो र मैनको मूर्ति मोडलिङ गरेर निर्माण गरिन्छ । काठ, ढुङ्गा र स्टोनबाट कार्बिङ गरेर मूर्ति निर्माण हुन्छ । 

बचपनामा बुबा, बाजेले गरे/अह्राएको देखेर मूर्ति बनाएका ताराप्रसादलाई त्यो अपूर्ण थियो भन्ने तब लाग्यो जब उनले यसबारे अध्ययन गरे । कला जसरी महासागर हो, मूर्ति बनाउने पेसा निकै कठिन छ । ठूला ढुङ्गा, बलिया काट, गह्रौँ हथौडा, छिना, घन, सब्बल चलाउनु आफैँमा कठोर कार्य हो । चीनलगायत विदेशमा आधुनिक मेसिन र प्रविधिको विकास भए पनि नेपालमा अझै पुरातन शैलीबाटै मूर्ति र वास्तुकला चलिरहेको छ तर त्योभन्दा जटिल उनले कला, सिर्जनाका लागि चाहिने ज्ञान, अन्तर प्रज्ञा, तìव ज्ञान, दर्शन, बुझाइ, मनोविज्ञान, मनोवृत्ति र चाहिने अन्तरदृष्टि त्याभन्दा जटिल र गहन हुने उनी बताउँछन् ।

एक मूर्तिकारको दिमागमा तयार भएको चित्रलाई कुनै आकारलाई कसरी निराकार वस्तु प्रयोग गरेर मूर्तिका रूपमा सजीव रूपान्तरण गरिन्छ ? यो ज्ञानको खोजीमा आज पनि मूर्तिकार ओझा यत्नरत छन् । त्यसैले त जीवनको ५८औँ वसन्तमा पनि उनी उसैगरी पढिरहेका छन्, जसरी किशोरावयमा पढ्थे ।

“सोध्नेले पनि भन्छन् १७, १८ वर्षमा पनि पढिरहेकै भन्थ्यौ, राम्रो मूर्ति कसरी बनाउने भन्ने चिन्तामै थियौ । आज पनि त्यही पढाइ, त्यही चिन्ता,” उनले आफ्नै जीवनबारे भने, “हो मेरो जीवन साँच्चै निकै घुमाउरो बनेर बग्यो । म विद्यार्थी भएँ, जागिरे भएँ, कमर्स पढेँ, सङ्गीततिर लागेँ फेरि फर्किएर उही कलाकै यात्रामा छु । उस्तै विद्यार्थी नै छु, उस्तै अभाव र अवसरमै छु ।”

कलामा गहन दर्शन

सानो छँदा जुन शैली र सोचाइले ताराप्रसाद ओझा मूर्ति बनाउथे त्यो अपूर्ण थियो भन्ने आज ज्ञान भएको छ । 

“कला त समयको विम्ब मात्र होइन । कलाकारको परिस्थिति, मनस्थिति, ज्ञानको दायरा, दर्शन, भोगाइ तथा परिवेश, तìवबोध, मनोदशा र मनोवृत्तिको प्रतिविम्ब पनि हो,” उनले कलाको दर्शनबारे भने “दोस्रो विश्वयुद्धताका बनेका सबै मूर्तिमा त्यसबेलाको भग्नावशेष कतै न कतै झल्कन्छ । नेपालमा २०३६ सालदेखि माओवादी युद्धकालसम्म कुँदिएका, बनाइएका वा रचिएका सिर्जनामा त्यो परिवर्तनको आवाज महसुस हुन्छ ।”

आज कुनै मूतिकारले मूर्ति बनाइरहँदा कतै न कतै युक्रेन र रुसको युद्धको भाव प्रकट हुने उनी बताउँछन् ।  

अहिलेको आधुनिक युगमा मान्छे केही होइन वस्तु मात्र हो भन्ने रूपमा लिइन थालेको बताउँदै मूतिकार ताराप्रसाद ओझाले अथ्र्याए, त्यही तरिकाले सरलीकरण गरियो, न रूप, न आँखा, न हृदय त्यसैले मानिसलाई अस्थिपञ्जरको विम्बका रूपमा देखाउन थालियो ।

कला निर्देशित होइन स्वतःस्फूर्त हुने बताउँदै उनले भने, “स्वतःस्फूर्त प्रकट हुने कला हो । जहाँ चिन्तन, परिवेश, मनोविज्ञान, दर्शन, ज्ञान र प्रज्ञानको प्रतिविम्ब पाउन सकिन्छ ।” निर्देशित रूपमा निर्माण हुने कला सिर्जना योजनाबद्ध निर्माण मात्रै हुने उनको भनाइ छ ।  

यसरी योजनाबद्ध बनाएका उनका मूर्ति हेटौँडा, पोखराका पार्कदेखि काठमाडौँ, डोटी, धनगढीका विभिन्न स्थान, संस्थामा छन् । जसको उनले लेखाजोखा नै राखेनन् । 

“तर स्वतःस्फूर्त सिर्जना भएका कला सयको हाराहारीमा होलान् ।” मूतिकार ओझाले भने, “तीमध्ये कतिपय राखेको छु, कोभिड सर्वमहामारीले रोकिएको दोस्रो साल प्रदर्शन गर्ने तयारीमा छु ।”

उनले पछिल्लो समय मोबाइल फोनमा मान्छेको बढ्दो क्रेजलाई विम्ब बनाएर एउटा कला सिर्जना  गरेका छन् । उडानको आफ्नै पोटे«ट सिर्जना गरेका छन् । वातावरणमा परेको प्रतिकूल प्रभावलाई लिएर ‘नीलकण्ठ’ कला निर्माण गरेका छन् । मान्छेले भौतिकतालाई महìव दिँदा ग्लोबल वार्मिङले परेको असरलाई लिएर कला सिर्जना गरेका छन् । 

पानीको एक थोपाबाट कसरी जीवनको सिर्जना हुन्छ भन्ने बोध गराउने कला उनीबाट सिर्जना भएको छ । 

युवा अवस्थामा वैज्ञानिक अनुसन्धानमा रुचि राख्ने उनी वास्पीकरणबारे खोज गर्थे । प्लेन कसरी उडाउन सकिन्छ भन्ने अनुसन्धानमा समय बिताउँथे । पछि वातावरणबारे निकै घोत्लिए । यी सबै यात्रामा पूर्णविराम लगाउँदै ओझा मूर्तिकलामा निपुण हुने यात्रामा छन् । जसको कदरस्वरूप उनले २०६५ सालमा सरकारबाट क्षेत्रीय प्रतिभा पुरस्कार पाएका थिए । भद्राकुमारी घले ललितकला पुरस्कार, समकालीन कलामा तेस्रो पुरस्कार ‘राष्ट्रिय गौरव युवा प्रतिभा सम्मान’लगायत दर्जनौँ सम्मान र पुरस्कार प्राप्त गरेका छन् उनले । 

उनले कैलालीमा २०६३ मा आयोजना भएको सुदूरपश्चिम महोत्वसमा चित्रकला प्रदर्शनदेखि इनसाइट अन्तर्राष्ट्रिय मूर्तिकला प्रदर्शन, कोरिया–नेपाल कला प्रदर्शनी, अन्तर्राष्ट्रिय वुड कल्चर सोसाइटी र वन मन्त्रालयले आयोजना गरेको कार्यशालामा सहभागिता जनाइसकेका छन् । उनले इटालीका राजदूत सेगियो ग्रिमाल्डीलाई सम्राटको प्रतिमा, लिङ्कन स्कुललाई अमेरिकी राजदूतमार्फत अब्राहम लिङ्कनको मूर्तिलगायत तमामौँ मूर्ति प्रदान गरेका छन् । जसबापत उनले उच्च प्रशंसा पाएका थिए । 

उनी प्रशंसा, पुरस्कार, अर्थोपार्जनभन्दा पनि अब आफ्नो यात्रा साधना भएको भन्न रुचाउँछन् । “मैले जानेर वा नजानेर कलाको महासागरमा डुबुल्की लगाइहालेँ,” उनले भने, “यहाँबाट पौडिएर निस्कन सक्यो भने त्यो मेरो मात्र होइन यो क्षेत्रकै लागि ठूलो उपलब्धि हुनेछ ।”

उनी भन्न रुचाउँछन्, “हिजो सुरुवाती दिनमा लाग्थ्यो ढुङ्गा खोपेर आकार दिन सक्यो भने मूर्ति बन्छ तर आज मैले बुझेँ त्यहाँ भाव, भविष्य, आजको परिवेश, दर्शन, ज्ञान, महाज्ञान र मनोविज्ञान मिश्रित हुँदो रहेछ ।”

तर यो सबै बुझ्न र प्रस्फुटन हुन कठोर साधना चाहिने उनले अनुभूत गरेका छन् । 

“त्यसैले त यो उमेरमा पनि म किताबका ठेली लिएर बसेको छु । घरपरिवारदेखि टाढा विद्यार्थी जीवन बिताइरहेको छु ।” उनले भने “घरपरिवारसँगै मैले यो यात्रा थाल्ने हो भने कलामा दर्शन खोज्ने कि परिवारलाई साँझ बिहान साग, सब्जी, गोलभेँडा किन्न हिँड्ने ?”