सन्तोष सुवेदी
कास्की, मङ्सिर ३ गते । करिब तीन सय वर्ष पुरानो बार्दलीसहितको ‘शताब्दी घर’ । इँटा र काठको वास्तुकला मात्र नभएर पहाडी जीवनशैली, इतिहास र अध्यात्मको सौन्दर्य बनेको छ । काँधमा मादल, हातमा झुर्मा बोकेर यही घरमा हरेक शनिबार साँझ युवाको भेला हुने गर्छ । पुरानो परम्परालाई जोगाइराख्न र नयाँ पुस्तामा पनि यसको प्रभाव कायम होस् भन्दै पर्वतका युवाको समूहले हरेक शनिबार ‘भजनकीर्तन साँझ’ को अभियान सुरु गरेको छ ।
‘भजन’ लाई जोगाइराख्न तथा पछिल्लो पुस्तामा भजन कला हस्तान्तरण गर्नका लागि कुस्मा बजारमा रहेको ऐतिहासिक ‘शताब्दी घर’ मा हरेक हप्ताको शनिबार भजनमय बन्दै गएको छ । यसको उद्देश्य यो अभ्यासलाई हरेक गाउँसम्म लगेर पाको पुस्ताबाट पछिल्लो पुस्तामा ‘भजन’ सिप हस्तान्तरण गर्नु रहेको छ ।
भजन कार्यक्रमका संयोजक आरके अदिप्त गिरीले मौलिक कलाको जगेर्ना र संस्कृति नयाँ पुस्तामा पनि बचाइराख्नका लागि हरेक हप्ता भजन साँझ सुरु गरिएको बताउनुभयो । “भजन साँझ सुरु भएको तीन हप्ता भएको छ । पाका पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण होस् र भेटघाट गर्ने वातावरण पनि सिर्जना भइरहोस् भन्ने उद्देश्यले पनि अभियान थालनी गरिएको हो,” उहाँले भन्नुभयो । भजनले रमाइलो मात्र नगरी विभिन्न धार्मिक र ज्ञानका कुरा पनि नयाँ पुस्तामा सार्न सकिने उहाँको भनाइ छ । नेपालको मौलिक कला, गला र बाजाको सहभागितामा गाइने भजन साँझमा आकर्षण बढ्दो क्रममा रहेको उहाँले सुनाउनुभयो । “यो अभियान चलिरहन्छ । भजन अभियानपछि सद्भाव यात्रा गरेर धार्मिक स्थलमा जाने सांस्कृतिक चेतना फैलाउने काम पनि गर्ने सोच छ,” उहाँले भन्नुभयो ।
पर्वत युवा सञ्जाल भजन समूह तथा ‘भजन मण्डली’ संयोजक वसन्त बाँस्तोलाले पुराना कला संस्कृतिको संरक्षण र पुनर्जीवन गर्ने जिम्मेवारी युवाकै भएकाले पनि शताब्दी घरलाई जमघटको थलो बनाएर भजन थालनी गरिएको बताउनुभयो । उहाँले हरेक शनिबार साँझ ५ देखि ७ बजेसम्म भजनकीर्तनमा रमाउँदै ज्ञानगुनका कुरा सिक्न सकिने बताउनुभयो । पाँच/सात जनाबाट सुरुवात गरिएको भजनकीर्तन साँझमा अहिले युवाको बाक्लो उपस्थिति रहेको उहाँले सुनाउनुभयो ।
‘कला र संस्कृतिबिनाको सहर आत्माबिनाको शरीर’ जस्तै हुने भन्दै वैदिक परम्परासँग गाँसिएको भजन संस्कृति नेपालीको मौलिक पहिचान भएको उहाँले बताउनुभयो ।