• ४ जेठ २०८१, शुक्रबार

नेपालीको समुद्रयात्रा

blog

यमबहादुर दुरा

कतै पनि समुद्र नजोडिएको भूपरिवेष्टित देश नेपालका नागरिकले कहिलेदेखि समुद्रयात्रा गर्न सुरु गरे ?, समुद्रयात्रा गर्ने पहिलो नेपाली को थिए ?, तत्कालीन समयमा धेरै नेपालीजनका लागि अपरिचित समुद्रयात्राबारे अग्रजका अनुभव कस्ता थिए ?, यस्ता जिज्ञासा जनस्तरदेखि दिग्गज बौद्धिक जगत्सम्म उठ्ने गर्छन् । 

यिनै प्रश्नको सेरोफेरोमा रहेर इतिहासकार सूर्यविक्रम ज्ञवालीले ‘नेपाली तथा समुद्रयात्रा’ शीर्षकमा लेख लेखे । पुरातत्त्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’ मा आजभन्दा लगभग ५० वर्षअघि अर्थात् २०२९ सालमा प्रकाशित त्यस लेखमा नेपालीजनको समुद्रयात्राबारे केही रोचक तथ्य अघि सारिएका छन् । 

ज्ञवालीका अनुसार तत्कालीन हिन्दु समाजमा समुद्रयात्रा गर्नु अधार्मिक कार्य मानिन्थ्यो । समुद्रयात्रा गर्दा जात जान्थ्यो । त्यसैले समुद्रयात्राका लागि कोही पनि अघि सर्दैनथे । समुद्रयात्राको त के कुरा, भारतमा स्थलगत तीर्थयात्रा गरेर फर्कनेहरू नचोखिएसम्म समाजमा घुलमिल हुँदैनथे । चोखिन वा यात्राको दोष मेटाउनका लागि तीर्थभोज गराउनुपथ्र्याे भन्ने प्रसङ्ग लेखमा उल्लिखित छ । 

सत्रौँ शताब्दीमा नेपाली व्यापारी तथा तीर्थयात्रीले भारतको विभिन्न भागमा भ्रमण गरेका भए पनि उनीहरू समुद्र तटसम्म पनि नपुगेको ज्ञवालीको बुझाइ छ । यस्तो अवस्थामा त्यस समयमा नेपालीजनले समुद्रयात्रा गर्ने कुनै सम्भावना नै थिएन ।

समयले लामो फेरो मारेपछि मात्र नेपालीजनले समुद्रयात्रा गरेको पाइन्छ । वि.सं. १९०६ मा प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुरले आफूसहित २५ जनाको टोलीसँगै भारतको कोलकाता हुँदै बेलायत प्रस्थान गरेको वर्णन इतिहासका पानामा यत्रतत्र भेटिन्छन् । उनको टोली वि.सं. १९०७ जेठ १५ गते लन्डन र भदौ ७ गते पेरिस पुगेको थियो । 

जङ्गबहादुरको टोली नेपालबाट इस्ट इन्डिया कम्पनीको कोलकाता, श्रीलङ्का, इजिप्ट हुँदै लगभग छ महिनाको यात्रापछि बेलायत पुगेको थियो । इजिप्टमा रहँदा जङ्गबहादुरले काइरो र अलेक्जेन्ड्रियाको भ्रमण गरेको अभिलेख पाइन्छ । बेलायत भ्रमणका क्रममा जङ्गबहादुर स्कटल्यान्ड पुगेको तथा उनले त्यहाँका विभिन्न गढी र उद्योगको अवलोकन–भ्रमण गरेको चर्चा सुनिन्छ ।

मानवजातिको बसाइ सर्ने प्रवृत्तिबारे अन्वेषणात्मक सामग्री पस्कने वेबसाइट ‘माइग्रेसन म्युजियम’ ले नेपालीजनको समुद्रयात्राबारे केही रोचक तथ्य पस्किएको छ । त्यस वेबसाइटमा ‘अ नेपाली इन भिक्टोरियन इङ्ल्यान्ड’ शीर्षकमा प्रकाशित लेखमा जङ्गबहादुरको बेलायत भ्रमणको प्रसङ्ग उल्लिखित छ । 

लेखका अनुसार ‘द इकोनोस्टि’ म्यागजिनको जुन १, सन् १८५० को अङ्कमा जङ्गबहादुरलाई बेलायती रानीसमक्ष प्रस्तुत गरिएका उच्च जातिका पहिलो हिन्दु भनेर चित्रण गरेको छ । तत्कालीन समयमा बेलायतका प्रेसले जङ्गबहादुरको बेलायत भ्रमणलाई उच्च स्थान दिएको पाइन्छ ।

जङ्गबहादुरको बेलायतयात्रा बहुचर्चित हुँदाहुँदै पनि उनी समुद्रयात्रा गर्ने पहिलो नेपाली चाहिँ होइनन् । जङ्गबहादुरभन्दा अघि नै एक जना नेपाली समुद्रयात्रा गरी बेलायत पुगेका थिए । उनी हुन् भक्तपुरका मोतीलाल सिंह । 

सिंह पढालेखा र अङ्ग्रेजी बोल्न तथा लेख्न जान्ने व्यक्ति देखिन्छन् । उनले ‘न्यु मन्थ्ली म्यागजिन एन्ड ह्युमरिस्ट’ मा सन् १८५० को जुलाई अङ्कमा ‘सम अकाउन्टस् अफ नेपलिज इन लन्डन’ मा १८ पृष्ठ लामो लेखसमेत छपाएका रहेछन् । 

त्यही लेखलाई आधार मानेर ‘माइग्रेसन म्युजियम’ वेबसाइटमा उनीबारे ‘मोतीलाल सिंह ः सोल्जर, क्रसिङ स्विपर एन्ड क्रोनिक्लर’ शीर्षकमा सानो तर रोचक वृत्तान्त छापिएको छ । ऐतिहासिक महìवको त्यस वृत्तान्तको सार यस्तो छ ः

भक्तपुरका मोतीलाल सिंहले नेपाल–अङ्ग्रेज युद्ध लडेका थिए । त्यसबेला उनको उमेर १९ वर्ष थियो । उनी युद्धमा घाइते भए र उनलाई समातेर युद्धबन्दी बनाइयो । अङ्ग्रेजले सन् १८१५ मा गोर्खा बटालियन खडा ग¥यो । मोतीलाल सिंह फस्र्ट गोर्खा बटालियनमा भर्ती भए । उनले अङ्ग्रेजी सिके । उनले कोलकाताकी एक महिलासँग विवाह गरे । उनका छोराछोरी पनि भए  (तर उनका कति छोराछोरी भए भन्ने खुल्दैन) । उनी आफ्ना परिवारसँग खुसीसाथ जीवन बिताइरहेका थिए । 

यस्तैमा पानीजहाजका एक जना अङ्ग्रेज क्याप्टेनले बेलायत जाऔँ भनेर उनीसमक्ष प्रस्ताव राखे । ती क्याप्टेनले बेलायतबाट धेरै सुन लिएर घर फर्कन पाइने सपना देखाइदिए । उनी झुटो आश्वासनमा मजैसँग बहकिएर बेलायत पुगे । तर बेलायत पुग्दा परिस्थिति उसले सोचेको भन्दा ठीक उल्टो भइदियो । 

उनले आफ्नो साथमा लगेको पैसा चोरी भयो । उनी बेखर्ची हुन पुगे । बिरानो मुलुकमा कसैको साथ नपाएर उनी बेसहारा बने । लन्डनमा भोकभोकै बसे । पछि स्थानीय सेन्ट पल चर्च बढार्ने काम पाए । त्यसबापत केही रकम पाउँथे । त्यतिले उनको गुजारा चल्दैनथ्यो । उनी बटुवासँग पैसा मागेर पेट पाल्थे । 

यस्तैमा उनको भाग्यले नयाँ मोड लियो । आफूजस्तै समुद्रयात्रा गर्दै बेलायत पुगेका जङ्गबहादुरसँग सन् १८५० मे २७ मा उनको भेट भयो । जङ्गबहादुरले उनको उद्धार गरिदिए । यसपछि मोतीलाल सिंह जङ्गबहादुरकै टोलीमा सम्मिलित भए । उसले अनौपचारिक रूपमा दोभाषेको काम गरे । 

डा. विश्व पौडेलले मोतीलाल सिंहबारे ‘हिमाल’ पत्रिकामा ‘बिर्सिएका मोतीलाल’ शीर्षकमा लेख लेखेका थिए । लेखमा जङ्गबहादुरसँग मोतीलाल सिंहको भएको भेट र जङ्गबहादुरले बेलायतमा बिताएका रङ्गीन क्षणहरूबारे वर्णन गरिएको थियो ।

आफूलाई उद्धार गरिएको सन्दर्भमा सिंहको भनाइलाई यसरी प्रस्तुत गरिएको छ, “मेरा लागि कपडा, रातो टोपी र टलक्क टल्कने बुटको प्रबन्ध भयो । सँगसँगै जङ्गको साथमा हिँड्ने व्यवस्था पनि ।”

जङ्गबहादुरभन्दा अघि नै मोतीलाल सिंह बेलायत पुगेको निश्चित भए पनि उनी कुन सालमा बेलायत पुगे भन्ने जानकारी ‘माइग्रेसन म्युजियम’ र ‘हिमाल’ दुवैमा प्रकाशित सामग्रीमा भेटिँदैन । यद्यपि सुनिल उलकले आफ्नो एक लेखमा उनी वि.सं. १९०० तिर बेलायत पुगेको उल्लेख गरेका छन् । 

यस हिसाबले जङ्गबहादुरभन्दा मोतीलाल सिंह छ वर्षअघि नै बेलायत पुगेको देखिन्छ । जङ्गबहादुरको टोली नेपाल फर्कंदा उनी स्वदेश फर्के वा फर्केनन्, त्यसबारे ‘माइग्रेसन य र ‘हिमाल’ कुनै चर्चा भेटिँदैन । सुनिलले उनी स्वदेश फर्कन नमानेको उल्लेख गरेका छन् । 

मोतीलाल सिंह जङ्गबहादुरभन्दा अघि बेलायत पुग्ने नेपाली भए पनि उनी ठूला व्यक्तित्वको छायाँमा परे । उनका बारेमा धेरै कुरा खुल्न बाँकी नै छ । आज पनि उनको भन्दा जङ्गबहादुरकै चर्चा बढी छ तर पनि पछिल्लो समयमा मोतीलाल सिंह पनि धेरथोर चर्चामै छन् । 

बेलायतमा बसेर अनुसन्धानरत् डा. कृष्णप्रसाद अधिकारीले मोतीलाल सिंहको रहस्यमय जीवन वृत्तान्तलाई समेटेर सन् २०१३ मा नेपाली भाषा पुस्तक लेखेको र त्यसको अङ्ग्रेजी संस्करण निकाल्ने योजना रहेको ‘माइग्रेसन म्युजियम’ वेबसाइटमा उल्लिखित छ ।

यति मात्र होइन डा. अधिकारीले ‘युरोपियन बुलेटिन अफ हिमालयन रिसर्च’ मा ‘द फस्र्ट नेपाली इन इङ्ल्यान्ड ः मोतीलाल सिंह एन्ड पीएम जङ्गबहादुर राणा’ शीर्षकमा लेख लेखेका छन् ।

जङ्गबहादुर र मोतीलाल सिंहभन्दा अघि पनि कुनै नेपालीले समुद्रयात्रा गरेको वा गर्ने प्रयास गरेका थिए त ? अब प्रश्नको उत्तर खोज्ने प्रयास गरौँ । यी दुई व्यक्तिभन्दा अघि पनि नेपालीले समुद्रयात्रा गर्ने प्रयास गरेको प्रमाण भेटिन्छ ।

तोत्रराज पाण्डेय र नयराज पन्तले आफ्नो पुस्तक ‘नेपालको सङ्क्षिप्त इतिहास’ मा माथवरसिंह थापाले वि.सं. १८९२ मा कोलकाता हुँदै राजदूतको हैसियतमा बेलायत पुगेर युरोपको अवस्था बुझ्न चाहेको तर राजदूतका रूपमा त्यहाँ जाँदा राम्रो स्वागत नहुने बुझी कोलकाताबट फर्किएको भन्ने उल्लेख गरेका छन् ।

त्यसपछिका दिनमा बहुधा समुद्रयात्रा गर्नेमा गोर्खा सैनिकहरू नै देखिन्छन् । आमजानकारीकै विषय हो लाहुरेहरूले प्रथम तथा दोस्रो विश्वयुद्धमा काफी मात्रामा समुद्रको यात्रा गरे । तत्कालीन इस्ट इन्डिया कम्पनीकातर्पmबाट लडाइँमा होमिँदा नेपालीले समुद्रयात्रा गरेका थिए ।

पानीजहाजमा यात्रा गर्दा कतिपय सिपाही ‘मोसन सिकनेस’ का कारण लेध्रै हुन पुगेका, पानीमा लम्बेतान यात्रा, समुद्रमा सूर्य उदाएको र समुद्रमै सूर्य अस्ताएको एक प्रकारले अनौठो दृश्य देखेको लगायतका रोमाञ्चक वर्णन लाहुरेहरूबाट सुनिन्थ्यो ।

स्मरणीय छ प्रथम तथा दोस्रो विश्वयुद्धअघि नै केही नेपालीले समुद्रयात्रा गरेको पाइन्छ । वि.सं. १९५९ वैशाख १७ गते नेपाली विद्यार्थीहरू जापानका लागि प्रस्थान गरेका इतिहास भेटिन्छ ।

उनीहरू कोलम्बो, सिङ्गापुर, रङ्गुन, हङकङ हुँदै ४६ दिनको समुद्रयात्रापछि जापानको योकोहमा सहरमा पुगेको विवरण नेपालस्थित जापानी राजदूतावासको वेबसाइटमा उल्लिखित छ । ती विद्यार्थीलाई चन्द्रशमशेरले पढ्न पठाएका थिए ।

ब्रिटिस शासनकालमा भारतीय सेनाका सुबेदार मेजर शेरसिंह राना र उनका साथीसङ्गीले वि.सं. १९६८ मा बेलायतका राजा जर्ज पञ्चमको राज्याभिषेकका अवसरमा पल्टनको सरदारका हैसियतले भारतको बकौली छाउनीबाट समुद्रयात्रा गरी लन्डन पुग्ने अवसर पाएका थिए ।

शेरसिंह रानाले त्यही यात्रानुभूतिलाई लिपिबद्ध गरी वि.सं. १९७० मा मेरो ‘लन्दन राजतिलक यात्रा’ शीर्षकमा यात्रा संस्मरण प्रकाशनमा ल्याए । सहज र सरल भाषामा लेखिएको त्यो यात्रा संस्मरण बेजोड र रोचक छ । 

बम्बईबाट सुरु भएको आफ्नो समुद्रयात्राका क्रममा भ्रमण गरिएका जिब्राल्टर, माल्टा, सइद तथा अदनको भूगोल, जलवायु र जीवनशैलीबारे रानाले मीठो शैलीमा जीवन्त वर्णन गरेका छन् । त्यसमाथि लन्डन सहरको वर्णन इन्द्रधनुषी रङजत्तिकै सुन्दर र चित्ताकर्षक छ । 

प्रथम तथा दोस्रो विश्वयुद्धमा लाहुरेहरूले आमरूपमा समुद्रयात्रा गर्दा–नगर्दै अरू तप्काका नेपालीले अन्य किमिसले समुद्रयात्रा गर्न थालेका प्रमाण भेटिन्छन् । सूर्यविक्रम ज्ञवालीका अनुसार अङ्ग्रेज–अधीनस्थ मरिसस, फिजीजस्ता टापुमा काम पाइने भएकाले नेपाली त्यता जान थालेका थिए ।

यद्यपि समुद्रयात्रा गर्दा जात जाने डर उनीहरूमा कायमै थियो । त्यसैले उनीहरू त्यस्ता ठाउँमा सुटुक्क जान्थे भन्ने ज्ञवालीको कथन छ । फिजी पुगेर धनार्जन गरी तराईमा जग्गा जमिन खरिद गरेर बसोबास गरेको एउटा ब्राह्मण परिवारलाई आफूले भेटेको प्रसङ्ग पूर्व उल्लिखित लेखमा कोट्याएको छ ।

आज समयले लामो फेरो मारिसकेको छ । कतिपय नेपालीले समुद्रमै दिनरात बिताउन थालिसकेका छन् । कतिपय नेपालीजनले त पानीजहाजमा सात समुद्र सयर गर्ने कार्यलाई जीविकोपार्जनको नयाँ माध्यम बनाउन थालेका छन् । यसबारे अङ्ग्रेजी अखबार ‘नेपाली टाइम्स’ मा विस्तृत विवरण प्रकाशित गरिएको छ ।

हिजो समुद्रयात्रा गर्दा जात जाने डरले त्रस्त हुने नेपालीजन आज निर्धक्कसँग समुद्र्रयात्रामा रमाएका मात्र छैनन्, समुद्रमै घुमफिर गरेर धन कमाउन पनि थालेका छन् । समयले ल्याएको क्रान्तिकारी परिवर्तनसँगै समुद्रयात्राबारे आएको सांस्कृतिक तथा मनोवैज्ञानिक उथलपुथल कम रोचक छैन । 